धार्मिक महोत्सवमा साढे तीन लाख बचत

2357

दार्चुला, मंसिर १३ गते ।
एक महिनाअघि सम्पन्न मानसखण्ड दार्चुला धार्मिक महोत्सवमा साढे ३ लाख रुपैयाँ बचत भएको छ । कार्तिक ८ देखि १५ गतेसम्म महेन्द्र मावि खलंगामा सञ्चालित धार्मिक महोत्सवमा २४ लाख ६४ हजार ५ सय ४० रुपैयाँ कुल आम्दानी भएको आयोजकले बताएका छन् ।
महोत्सव आयोजक समितिका अनुसार महोत्सव सञ्चालनको सम्पूर्ण खर्च व्यहोरेर ३ लाख ५१ हजार ४ सय ५० रुपैयाँ बचत भएको छ । राष्ट्र शान्ति, पितृ मुक्ति र महेन्द्र मावि खलंगाको विकासका लागि सञ्चालन गरिएको महोत्सवमा १८ लाख ९ सय ५ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । २ सय २८ जना दाताहरुले ५ सय रुपैयाँदेखि १ लाख ११ हजार २ सय ५५ रुपैयाँसम्मको सहयोग गरेका छन् । महोत्सवमा सर्वाधिक सहयोग नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले गर्नुभएको छ ।
महोत्सवअन्तर्गत महायज्ञमा राखिएका कलशबाट ६ लाख ३३ हजार ६ सय रुपैयाँ आम्दानी भएको आयोजक समितिका महासचिव दामोदर जोशीले बताउनुभयो । सालिग्राम पुजनबाट ११ हजार ९५ रुपैयाँ र दान पेटिकामा संकलन भएको सहयोग रकम १८ हजार ९ सय ४० रहेको छ ।
महोत्सव सञ्चालनका लागि खटिएका व्यास, उद्घोषक, कलाकारलगायतको टीमलाई १० लाख रुपैयाँ भुक्तानी गरिएको छ । सुरुमा १२ लाख दिने सम्झौता गरिए पनि महोत्सवमा अपेक्षित आम्दानी नभएपछि सुसंस्कार समाजलाई १० लाख रुपैयाँ भुक्तानी गरिएको आयोजक समितिका सचिव महेश भट्टले बताउनुभयो ।
कलश खरिदमा ३ लाख २७ हजार ७ सय ७४ रुपैयाँ, प्रचारप्रसार छपाईमा १ लाख ११ हजार १ सय ७० रुपैयाँ र यज्ञ सामग्री खरिदमा १ लाख १७ हजार ७ सय १२ रुपैयाँ खर्च भएको छ । आवाशमा १ लाख १८ हजार ८ सय ५३ रुपैयाँ, यज्ञ निर्माणमा ५१ हजार ७५ रुपैयाँ, रामनामी फ्रेममा ८७ हजार १ सय २० रुपैयाँ र काठमाण्डौमा प्रचार सामग्री निर्माणमा ४४ हजार खर्च भएको आयोजक समितिले विवरण दिएको छ ।
प्रचारप्रसारमा ३१ हजार ७ सय ४५ रुपैयाँ, गुरुदक्षिणामा ५१ हजार, सचिवालयमा २० हजार र पत्रिका÷एफएममा ७० हजार रुपैयाँ भुक्तानी गरिएको छ । स्टेशनरीमा १२ हजार ३ सय ३० रुपैयाँ, गाडीभाडा १२ हजार र विविध खर्च ३० हजार रुपैयाँ रहेको छ ।
महोत्सवमा बचत भएको रकम विद्यालय हाताभित्र सरस्वती मन्दिर निर्माणमा खर्च गरिने प्रधानाध्यापक रामदत्त जोशीले बताउनुभयो । केही समयभित्र मन्दिर निर्माणको कार्य सुरु गरिने प्रअ जोशीको भनाई छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !