धार्मिक दृष्टिकोणले दार्चुला महत्वपूर्णः जगतगुरु बालसन्त मोहनशरण देवाचार्य 

0
498

दार्चुला, फागुन २४ गते । 

नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगतगुरु अन्नत श्री विभूषित बाल सन्त श्री मोहनशरण देवाचार्य महाराजले दार्चुला जिल्ला धार्मिक दृष्टिकोणले महत्वपूर्ण भएको बताएका छन् । मंगलबार दार्चुला सदरमुकाम खलंगामा पत्रकारहरु सँग कुराकानी गर्दै उहाँले दार्चुलामा भगवान शिवका दुईवटा ज्योर्तिलिङ्ग भएको तथा यहाँकै पावन भूमि व्यासमा व्यास ऋर्षिले पूर्वीय दर्शनका महत्वपूर्ण ग्रन्थहरु रचना गरेको बताउनुभयो ।

स्कन्दपुराणमा सुदूरपश्चिम प्रदेशलाई मानसखण्ड क्षेत्र भनिएको र यहाँ भगवान शिवका ६ वटा ज्योर्तिलिङ्ग रहेका छन् । जसमध्ये दुई वटा ज्योर्तिलिङ्ग दार्चुलामै रहेको जगतगुरुले बताउनुभयो । स्कन्द पुराणमा चौलानी र महाकाली नदीको बिचमा शैल्यशिखर पर्वतको काखमा भगवान शिवको ज्योर्तिलिङ्ग भएको बताइएको छ । 

स्कन्दपुराणमा लिम्पियाधुरा देखि नौगाड गाउँपालिका सम्मको क्षेत्र दारुक बन नामाकरण गरिएको छ । दारु शब्दको अर्थ हिमालयको सल्लो र जसलाई स्थानीय स्तरमा देवदार  भन्ने गरिन्छ । दारुक बनमा नागेश्वर बन भएको बर्णन गरिएको उहाँले बताउनुभयो । नौगाड गाउँपालिकाको नागुमा भगवान शिवको अर्काे ज्योर्तिलिङ्ग भएको उहाँले बताउनुभएको छ ।
भगवान व्रह्माजीले नागु भन्ने ठाउँ नागहरुलाई दानमा दिएको र नागहरुले भगवान शिवको तपस्या गरि ज्योर्तिलिङ्ग प्राप्त गरेको स्कन्दपुरणमा लेखिएको जगतगुरुले बताउनुभयो ।

व्यासको महत्व सबैलाई बुझाऔँ

जगतगुरु अन्नत श्री विभूषित बाल सन्त श्री मोहनशरण देवाचार्य महाराजले व्यास क्षेत्रको छुट्टै महिमा रहेको बताउनुभएको छ । ऋर्षि व्यासले व्यास गुफामा बसेर पूर्वीय दर्शनका महत्वपूर्ण ग्रन्थहरु १८ वटा महापुराण, महाभारत, श्रीमदभागवत् गीता जस्ता महत्वपूर्ण ग्रन्थहरूको रचना गरेको जगतगुरुले जानकारी दिनुभयो । धार्मिक महत्व बोकेको व्यासमा व्यास ऋर्षिको सालिक तथा उहाँले रचना गरेका ग्रन्थहरू राखे विश्वका हिन्दुहरूले पूर्वीय दर्शनको जानकारी पाउने भएकाले त्यसतर्फ सरकार र नागरिकहरुको ध्यान जानुपर्ने उहाँको भनाई छ । 

यति धार्मिक महत्व बोकको दार्चुलालाई माथि उठाउनुपर्छ । व्यासमा व्यास ऋर्षिको विशाल मुर्ती तथा उहाँले रचना गरेका ग्रन्थहरु राखेमा विश्वका हिन्दुहरुले पूर्वीय दर्शनको बारेमा जानकारी पाउने जगतगुरुको भनाई छ ।
यो कुरा आजसम्म कुनै नेताले गर्न सकेका छैनन् । अब गर्नुपर्छ उहाँले भन्नुभयो । मैले त बाटो देखाइदिने हो । मैले यस क्षेत्रका धार्मिक स्थलहरुको महत्व बुझेर सबैलाई बुझाउँदै छु । शास्त्रीय आधारमा म छु । प्रचार प्रसारका लागि यस क्षेत्रका नागरिकहरुले लाग्नुपर्छ ।