धार्चुला विधानसभामा यस पटक भाजपाले बाजी मार्ला ? 

0
670
दार्चुला सदरमुकाम खलंगा र भारतीय बजार धार्चुला

बिरा दत्त भट्ट,
माघ १८ गते, दार्चुला ।

विश्वकै लोकप्रिय नेता मानिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) ले सामरिक एबं रणनीतिक महत्व बोकेको त्रिदेशीय सीमा क्षेत्र धार्चुला विधानसभामा हाल सम्म विजय हासिल गर्न सकेको छैन । १४ फेब्रुअरी २०२२ मा विधानसभा चुनाव हुँदैछ । चुनावी माहोल तातेका बेला कुन पार्टीका उम्मेदवारले बाजी मार्लान् चर्चा हुन थालेको छ । धार्चुला र मुनस्यारी तहसिल मिलेर बनेको धार्चुला विधानसभामा झण्डै चार हजार मतदाता छन्  ।

भारतको उत्तराखण्ड राज्य अन्तर्रगतको पिथौरागढ जिल्लामा हाल विधानसभाका चार सीट रहेका छन् । धार्चुला, डीडीहाट, पिथौरागढ र गंगोलीहाट गरि चार वटा विधानसभामा २८ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये धार्चुला विधानसभामा मात्रै ८ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । जसमध्ये दुई जना निर्दलीय उम्मेदवार छन् ।

धार्चुला विधानसभा क्षेत्रमा काङग्रेसबाट हरीश सिह धामी, भाजपाबाट धनसिह धामी, आम आदमी पार्टीबाट नारायण सोराडी, उक्रान्द दलबाट रमेश थलाल, बसपा बाट गोविन्द राम, सपाबाट मञ्जु देबी र कैलाश पांगती तथा जीनव सिह ठाकुरले स्वतन्त्र उम्मेद्धवारी दिएका छन् । जसमध्ये प्रमुख प्रतिस्पर्धी काङग्रेसका उम्मेदवार तथा हाल विधायक समेत रहेका हरीश सिह धामी र भाजपाबाट उम्मेद्धावारी दिएका धनसिह धामी रहेका छन् । 

सन् २००२ देखि धार्चुला विधानसभा अस्तित्वमा आएयता प्रत्येक पाँच बर्षमा हुने विधानसभा चुनावमा भाजपाले नयाँ–नयाँ उम्मेदवार चुनावी मैदानमा उतारिरहे पनि चुनाव जित्नु फलामको चिउरा चपाए सरह भएको छ । 

उत्तराखण्ड राज्य गठन भएपछि सन् २००२ मा बनेको धार्चुला विधानसभा सीट सन् २०१२ सम्म आरक्षित सीट रहेको थियो । भाजपाले सन् २००२ मा धार्चुला विधानसभा सीटमा गोर्वद्धन सिँह र सन् २००७ मा कुन्दन सिँह टोलियालाई मैदानमा उतारेको थियो । दुबै पटक निर्दलीय उम्मेदवार गगन सिहले भाजपा र भारतीय काङग्रेसलाई पछि पार्दै जित हासिल गरेका थिए । 

धार्चुला विधानसभा सिटलाई आरक्षण कोटाबाट हटाएपछि सन् २०१२ को विधानसभा निर्वाचनमा भाजपाले गांगा सिह पिपलियालाई चुनावी मैदानमा उतारेको थियो भने काङग्रेसले युवा नेता हरिश सिह धामीलाई उम्मेदवार बनाएको थियो । यस चुनावमा पहिलो पटक काङग्रेसले बाजी मार्दै काङग्रेसका उम्मेदवार हरीश सिह धामीले चुनाव जिते ।

सन् २०१७ को विधानसभा निर्वाचनमा भाजपाले फेरि नयाँ अनुहार स्वामी विरेन्द्रानन्द ( विरेन्द्र सिह पाल) लाई चुनावी मैदानमा उतारेको थियो । काङग्रेसले भने पुनः हरीश सिह धामीलाई नै चुनावी मैदानमा उतारेको थियो । यस चुनावमा पनि भाजपाले हार व्यहोर्यो भने काङग्रेसका युवा नेता हरीश सिह धामीले दोस्रो पटक धार्चुला विधानसभाको निर्वाचनमा जित हासिल गरे । 

विधानसभा निर्वाचन २०२२ का लागि धार्चुला विधानसभा चुनावमा भाजपाले नयाँ अनुहार ल्याएको छ भने काङग्रेसले उनै हरीश सिह धामीलाई चुनावी मैदानमा उतारेको छ । 

धार्चुला विधानसभाबाट यस पटक भाजपाले धार्चुला व्लक प्रमुख धनसिह धामीलाई अघि सारेको छ । धामी ठेकेदारका साथै राजनीतिमा सक्रिय छन् । दुई पटक धार्चुला विधानसभामा एकछत्र विजय हासिल गरेका काङग्रेसका बलिया उम्मेदवार हरीश सिह धामीलाई ढाल्न भाजपाले यस पटक अघि सारेको नयाँ अस्त्रले कतिको काम गर्छ त्यो भने हेर्न बाकि छ ।
(भारतीय सञ्चारमाध्यमको सहयोगमा)