धार्चुला बजारमा नेपाली मुद्राको बिनिमय दर अनुसार कारोबार हुनुपर्छः अध्यक्ष ठगुन्ना

0
1423
नेपाल र भारतका ब्यापारीको बैठकमा उद्योग बाणिज्य संघ दार्चुलाका अध्यक्ष मंगल सिह ठगुन्ना ( विचमा )

दार्चुला, मंसिर २७ गते ।  मुद्राको विनिमय दर अनुसार भारतको धार्चुला बजारमा नेपाली मुद्राको कारोबार हुनुपर्ने उद्योग बाणिज्य संघ दार्चुलाका अध्यक्ष मंगल सिह ठगुन्नाको भनाई रहेको छ । शनिबार भारतको धार्चुलामा बसेको ब्यापार मण्डल संघ धार्चुला र उद्योग बाणिज्य संघ दार्चुलाको संयुक्त बैठकमा अध्यक्ष ठगुन्नाले उक्त माग भारतीय ब्यापारीहरु संग राखेका छन् ।  नेपाल र भारतको मुद्रा विनिमय दर अनुसार एक हजार नेपाली रुपैयाँ भारतीय ६ सय २५ रुपैयाँमा सटही हुनुपर्ने भएपनि भारतीय बजार धार्चुलामा एक हजार नेपाली रुपैयाँलाई ब्यापारीहरुले ६ सय भारतीय रुपैयाँमा कारोबार गरिरहेको प्रति उहाँले अपत्ति जनाएका थिए । विगतमा नेपालको राष्ट्रिय बाणिज्य बैंक दार्चुलाबाट नेपाली रुपैयाँलाई भारतीय रुपैयाँमा साट्न सकिने ब्यवस्था रहेको भएपनि हाल नेपाली बैंकमा सटहीको सेवा नहुदाँ नेपाली मुद्रा ६ सयमा कारोबार भइरहेको ब्यापार मण्डल संघ धार्चुलाका अध्यक्ष भुपेन्द्र थापाको भनाई छ । धार्चुलाका ब्यापारीहरुले नेपाली रुपैयाँलाई भारतीय रुपैयाँ संग साट्दा ठूला ब्यापारीबाट घाटा भइरहेकाले विनिमय दर अनुसार कारोबार हुन नसकेको उहाँको भनाई छ । नेपाली बजारमा नेपाली रुपैयाँलाई भारतीय रुपैयाँ संग सटहीको ब्यवस्था भएमा विनिमय दर अनुसार आफुहरु कारोबार गर्न तयार रहेको धार्चुलाका ब्यापारीहरुको भनाई छ । आगमी दिनहरुमा बस्ने बैठकमा यस विषयमा गम्भीर छलफल गरि उक्त विषय टुङ्गो लगाउने विषयमा दुबै देशका ब्यापारीहरु सहमत रहेका छन् ।
हाल भारतसँग नेपालको मुद्रा विनिमयदर १.६० रुपैयाँ छ । अर्थात् १ रुपैयाँ भारु किन्न १.६ रुपैयाँ नेपाली रुपैयाँ तिर्नुपर्छ अथवा हजार रुपैयाँ नेपाली बराबर ६ सय पच्चीस भारतीय रुपैयाँ हुन्छ । सन् १९९३ मा नेपाल र भारत विच भएको उक्त मुद्रा विनिमयदर हाल सम्म स्थिर छ । तर भारतीय बजार धार्चुलामा भने एक हजार नेपाली रुपैयाँलाई ६ सय भारतीय रुपैयाँमा मात्रै कारोबार हुदै आइरहेको छ ।