धार्चुलामा रहेका नेपाली स्वदेश ल्याइयो

0
826

विरा दत्त भट्ट, दार्चुला ।

रोजगारीको सिलसिलामा भारतका विभिन्न ठाउँमा पुगेका नेपालीहरु लकडाउन र सिमा नाका बन्दले धार्चुलामा एक महिना देखि अलपत्र परेका थिए । विहिबार एक महिना देखि धार्चुलाका विभिन्न क्वारेन्टाइनमा बसेका नेपालीहरुलाई स्वदेश ल्याइएको छ ।
दार्चुला जिल्लाका २ वटा नाकाहरु दत्त र खलंगा बाट नेपालीहरुलाई स्वदेश ल्याइएको हो । खलंगा पुलघाँटबाट आएकाहरुको महेन्द्र नमुना मावि खलंगा र खुलामञ्चमा स्वास्थ्य चेकजाँच गरि आजै सम्बन्धित स्थानीय तहमा पठाउने तयारी भइरहेको छ। दिल्ली सरकार र संघिय सरकारको सहमतीमा नेपालीहरुलाई स्वदेश भित्र्याइएको दार्चुला जिल्लाका साहयक प्रमुख जिल्ला अधिकारी टेक सिह कुवरको भनाई छ ।
धार्चुलामा एक महिना देखी अड्कीएका कञ्चनपुरको बेदकोट नगरपालिकाका करनसिह ठगुन्नाले स्वदेश आउन पाएकोमा खुसी ब्यक्त गरे ।
भारतको बागेश्वरमा काम गरिरहेका बेला लकडाउन भएपछि नेपाल आउन धार्चुला पुगेको तर सिमा नाका बन्द हुदा एक महिना अड्कीएको उनी बताउछन् ।
धार्चुलाका विभिन्न क्वारेन्टाइमा राखीएका नेपालीहरु मध्ये बैतडी र बझाङका नागरिकहरुलाई दत्तु नाकाबाट ल्याइएको छ भने दार्चुला लगायत अन्य जिल्लाका नागरिकहरु खलंगा नाकाबाट नेपाल भित्र्याइएको छ ।
ज्यालामजदुरी गर्न नेपालका ११ जिल्लाबाट पिथौरागडका विभिन्न क्षेत्रमा गएका नेपालीहरुमध्ये सबैभन्दा बढी बैतडीका छन् । बैतडीका ३ सय १४ छन् भने बझाङका २ सय २८ जना रहेका छन् । दार्चुलाका १ सय ५२, कैलालीका ६८, डडेल्धुराका २२, अछामका १८, सुर्खेतका १५, जाजरकोटका ३, दैलेखका २ र डोटीका १ जना रहेका छन् । उनीहरुलाई सिमापारी धारचुलाको बरम, बालुवाकोट, निगलपानी र धारचुलाको स्टेडिममा राखिएको थियो । बैतडीको झुलाघाँटबाट पनि नेपालीहरुलाई स्वदेश ल्याउन सुरु गरिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिँह नेगीले जानकारी दिनुभयो । झुलाघाँट नाकाबाट करिब ६ सयको हाराहारीमा नेपालीहरु नेपाल प्रबेश गर्नेछन् ।