धारचुला विधानसभा क्षेत्रमा ५ दर्जन मोबाइल टावर राख्न माग

0
504

दार्चुला, पुष २० गते ।
भारतको धारचुला विधानसभा क्षेत्रमा ५ दर्जन नयाँ मोबाइल टावर राख्न विधायक हरिश धामीले माग गरेका छन् । जनवरी ३० मा पिथौरागढ जिल्लाका डिएममार्फत विधायक धामीले सरकारसंग मोबाइल टावरको लिखित माग गरेका हुन् ।
आफ्नो विधानसभा क्षेत्रका धेरै गाउँमा सञ्चारको सुविधा नपुगेको भन्दै विधायक धामीले तत्काल टावर स्थापना गर्न माग गरेका छन् । प्राकृतिक विपदको समय जरुरी सुचना प्रवाह गर्नसमेत समस्या भइरहेकोले तत्काल मोबाइल टावर राख्न माग गरिएको छ । तत्काल सुचना र जानकारी प्रवाहका लागि स्थानीयवासीलाई मोबाइल सेवा पुर्याउनुपर्ने विधायक धामीले बताएका छन् ।
अन्तर्राष्ट्रिय सीमाक्षेत्र समेत रहेको धारचुला विधानसभा क्षेत्रमा सुरक्षाकर्मी सुविधा र विकास निर्माणका लागि समेत मोबाइल सेवा उपलब्धता गराउनु जरुरी रहेको माग पत्रमा भनिएको छ । ‘दुर्गम गाउँमा तैनाथ अद्र्ध सैनिक वल, सीमा सडक संगठन र गाउँका स्थानीय वासिन्दा आधुनिक युगमा पनि नेपालको फोन टावरको भरमा सुचना आदानप्रदान गर्न बाध्य छन्’ विधायक हरिश धामीको मागपत्रमा लेखिएको छ ।
आफुले सडकदेखि सदनसम्म मोबाइल टावर राख्न माग गर्दैआएकोमा विगतमा स्वीकृत भएका टावरसमेत स्थापना नगरिएकोमा विधायक धामीले गुनासो गरेका छन् । तत्काल टावर स्थापना नगरिए स्थानीय वासिन्दाले आन्दोलन थाल्ने चेतावनी समेत दिइएको छ ।
पिथौरागढ जिल्लाको धारचुला विधानसभा क्षेत्रअन्तर्गतको धारचुला क्षेत्रका ३० गाउँ, मुनस्यारी क्षेत्रका १६ गाउँ र बंगापानी क्षेत्रका १३ गाउँमा मोबाइल टावर राख्न माग गरिएको छ । सरकारलाई दिइएको मागपत्रमा टावर राख्नुपर्ने गाउँहरुको विवरण समेत उल्लेख गरिएको छ । धारचुला तहसिलअन्तर्गतका राङकाङ, नपलच्यु, सिमखोला, खेला, रमतोली, किमखोला, दुग्तु, तेजम, खुमती, हिमखेला गाउँमा मोबाइल टावर राख्न माग गरिएको छ ।
यसैगरी, गालागाड, जुम्मा, गब्र्याङ, नावी, बुँदी, जयकोट, सुवा, सिर्दाङ गाउँमा पनि मोबाइल टावरको माग गरिएको छ । विधायक धामीले महाकाली नदी, धौलीगंगा नदी र गोरीगंगा नदीको उच्चक्षेत्रदेखि तटिय क्षेत्रका सबै गाउँमा मोबाइल सुविधा विस्तारको माग गरेका छन् ।
धारचुला विधानसभा क्षेत्रबाट निर्वाचित विधायक धामी काग्रेस पार्टीका नेता पनि हुन् । लगातार ३ पटक चुनाव जितेर विधायक धामीले धारचुला विधानसभा क्षेत्रबाट ह्याट्रिक समेत गरिसकेका छन् । सन् २०१२ मा पहिलो पटक निर्वाचित भएका धामीले सन् २०१३ मा काग्रेस नेता तथा तत्कालिन मुख्यमन्त्री हरिश रावतका लागि धारचुला विधानसभा क्षेत्र खाली गरेका थिए । सन् २०१७ र २०२२ मा भएको विधानसभामा निर्वाचन पनि विधायक धामी निर्वाचित भएका छन् ।
जनताको समस्यालाई उठान गरी जस्तोसुकै संघर्षमा पनि उत्रिने पहिचान बनाएका विधायक धामी विधानसभा क्षेत्रमा निकै लोकप्रिय नेता मानिन्छन् ।