धारचुलामा काग्रेस किल्ला भत्कियो

2782

दार्चुला, मंसिर ८ गते ।
उत्तराखण्ड राज्यमा भएको स्थानीय निकायको निर्वाचनअन्तर्गत धारचुला नगरपालिकामा काग्रेसको किल्ला भत्किएको छ । विगतदेखि काग्रेसको गढ मानिदैआएको धारचुलामा भारतिय जनता पार्टीले सहज जित हासिल गरेको छ ।
आइतवार मतदान भई मंगलवार सार्वजनिक गरेको मतपरिणामले काग्रेसलाई नराम्रो धक्का दिएको छ । काग्रेस नेता, कार्यकर्ताले मिहनेत गरे पनि आफ्नो विरासत बचाउन नसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उत्तराखण्डका निवर्तमान मुख्यमन्त्री हरिश रावतको विधानसभा क्षेत्रसमेत रहेको धारचुलालाई काग्रेसको पकड क्षेत्र मानिन्छ । धारचुला–मुनस्यारी विधानसभा क्षेत्रबाट काग्रेस नेता हरिश धामी लगातार दुई पटक निर्वाचित भइसकेका छन् । यद्यपि नगरपालिका निर्वाचनमा भने काग्रेसको पक्षमा जनमत देखिएको छैन ।
धारचुला नगरपालिकामा यसअघि काग्रेसकै नेतृत्व रहेको थियो । काग्रेसको वर्चश्व ठानिएको धारचुलामा सहज जितको आकलन गरिए पनि चुनावी परिणामले काग्रेसलाई धक्का पुगेको छ ।
धारचुला नगरपालिका निर्वाचनमा काग्रेसको पक्षमा राज्यसभा सांसद प्रदीप टमटा, विधायक हरिश धामीलगायत नेताले प्रचारप्रसारमा खटिएका थिए । काग्रेस धारचुला ब्लक अध्यक्ष डुंगरसिह दानु, वरिष्ठ नेता जयसिह दानु, पूर्व दर्जा राज्यमन्त्री कैलाश रावत, पूर्व ब्लक प्रमुख नेत्रसिह कुवरलगायतले चुनावी प्रचारमा मिहनेत गरेका थिए ।
काग्रेसको प्रतिस्पर्धी विजेपीमा भने वरिष्ठ नेता महेन्द्र बुदियाल, पूर्व अध्यक्ष अशोक नबियाल, धारचुला व्यापार मण्डलका अध्यक्ष भूपेन्द्र थापा, लीला बनंग्याल, धनसिह धामी लगायतका नेता चुनावी प्रचारप्रसारमा खटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !