दोस्रो प्राथमिकताका १७ सय भन्दा बढीले लगाए कोरोना विरुद्धको खोप

0
734

दार्चुला, फागुन १० गते ।
दार्चुलामा दोस्रो प्राथमिकतामा परेका १७ सय भन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । दोस्रो प्राथमिकतामा परेका २३ सय जनालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य रहेको भएपनि १७ सय ४६ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।

पहिलो चरण र दोस्रो प्राथमिकता अन्र्तगत दार्चुलामा फागुन २ गते देखि १० गते सम्म कोरोना विरुद्धको खोप अभियान सञ्चालनमा गरिएको थियो । खोप अभियान जिल्ला अस्पताल दार्चुला र गोकुलेश्वर अस्पतालबाट सञ्चालन गरिएको थियो । उक्त खोप अभियान सोमबार सम्पन्न भएको उहाँले बताउनुभयो ।

कुन क्षेत्रका कति जनाले लगाए खोेप ?

फागुन २ गते देखि १० गते सम्म कोरोना विरुद्धको खोप लगाउने १७ सय ४६ जना छन् । जसमध्ये ७ सय जना स्थानिय तहमा निर्वाचित जनप्रतिनिधी तथा स्थानिय तहका कर्मचारी, ६६ जना पहिलो चरणमा खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, २ सय ५७ जना निजामति सेवाका कर्मचारी, ३ सय २७ जना जनपद प्रहरी, १ सय ७५ जना सशस्त्र प्रहरी, ८७ जना बैंक तथा वित्तिय संस्थाका कर्मचारी, ८० जना प्राधिकरण तथा संस्थानमा कार्यरत कर्मचारी र ४१ जना पत्रकार रहेका छन् । अब सरकारले तेस्रो प्राथमिकतामा ५५ बर्ष भन्दा माथिका, शिक्षक कर्मचारी तथा सवारी चालकहरुलाई कोरोना विरुद्धको खोप लगाउने तयारी गरिरहेकाले दार्चुलामा पनि प्राथमिकता सूचि तयार भइरहेको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी कार्कीको भनाई छ ।