दोस्रो चरणमा दार्चुलामा ७८ खोप केन्द्रबाट कोरोना विरुद्धको खोप लगाइदै

640

बिरा दत्त भट्ट
दार्चुला, फागुन २१ गते ।
दार्चुलामा दोस्रो चरणमा ६५ बर्ष माथिका ८ हजार भन्दा बढीलाई ७८ खोप केन्द्रबाट कोरोना विरुद्धको खोप लगाउन लागिएको छ । फागुन २३ गते देखि २७ गते सम्म जिल्लाका ९ वटै पालिकाहरुमा ७८ खोप केन्द्रहरुबाट कोरोना विरुद्धको खोप लगाउने तयारि गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिनुभयो ।

शुक्रबार स्वास्थ्य कार्यालय दार्चुलाको आयोजनामा गरिएको जिल्ला स्तरिय कोभिड–१९ रोग विरुद्धको खोप अभियान अनुगमन र समन्वय तथा सञ्चारकर्मीहरु संग गरिएको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य कार्यालय दार्चुलाले सरोकारवालाहरुलाई कोरोना खोपको प्रभावकारीता तथा जिल्लामा दोस्रो चरणमा खोप लगाउने गरिएको तयारी बारे जानकारी गराएको छ ।
९ वटै पालिकाका ७८ वटा खोप केन्द्रहरुमा ८४ जना खोप दिने स्वास्थ्यकर्मी तथा २ सय ६१ जना स्वयंसेवक खटिने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
पहिलो चरणमा अस्पतालहरुबाट मात्रै लगाइएको कोरोना विरुद्धको खोप अब गाउँ–गाउँका स्वास्थ्य संस्थाहरुबाट लगाइने स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख भट्टको भनाई छ । स्वास्थ्य संस्थाबाट मात्रै खोप लगाइने भएकाले कोरोना विरुद्धको खोप लगाउनका लागि नजिकको पाइक पर्ने स्वास्थ्य संस्थामा गई लक्षित समुहले खोप लगाउन स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख भट्टले सबैमा आग्रह गरेका छन् ।

हाल जिल्लामा सात हजार डोज कोरोना विरुद्धको खोप उपलब्ध रहेको तथा खोप लगाउने लक्षित समुहलाई प्रयाप्त भएमा क्रमश ६५ भन्दा कम उमेर समुहका ब्यक्तिहरुलाई खोप लगाइने उहाको भनाई छ । दोस्रो चरणको खोप विषेश गरि ६५ बर्ष माथिको उमेर समुहका नागरिक लक्षित भएतापनि अघिल्लो चरणमा खोप लगाउन छुटेका लक्षित समुहहरु स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतले खोप लगाउन सक्ने स्वास्थ्य कार्यालय दार्चुलाका कोभिड सम्कर्प ब्यक्ति विरेन्द्र भट्टले जानकारी दिनुभयो ।

कोरोना विरुद्धको खोप लगाएको आधा घण्टा सम्म स्वास्थ्यकर्मीहरुको निगरानीमा बस्नुपर्ने र त्यसपछि सुई लगाएको ठाउँमा दुखाई हुने, जाडो महशुस हुने, ज्वरो आउने, वान्ता हुने जस्ता लक्षण देखिने भएकाले नआत्तिन स्वास्थ्यकर्मीहरुको सुझाव छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी जोत्सना भट्ट जोशीको अध्यक्षतामा गरिएको अभिमुखीकरण कार्यक्रममा जिल्ला समन्वय समिति दार्चुलाका समन्वय अधिकारी मोहन सिह धामी, सशस्त्र प्रहरी बल नेपाल ४४ नम्बर गुल्मका गुल्मपति एसपी नरेन्द्र बमं, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी मनोहर प्रसाद भट्ट, नेपाली सेनाको जिल्ला स्थित गुरु गोरख गुल्मका प्रतिनीधि, स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्ट, पत्रकार महासंघ दार्चुला शाखाका अध्यक्ष शंकर सिह धामी लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

कुन स्थानिय तहमा कति लक्षित ? कति स्वास्थ्यकर्मी खटिदै ?

तपाईको प्रतिक्रिया दिनुहोस् !