देशभर ३९० जनप्रतिनिधि निर्विरोध, एमालेबाट सर्वाधिक १३८ जना

0
467

काठमाण्डौ, बैशाख २५ गते ।

बैशाख ३० गते तय भएको स्थानीय तह निर्वाचनको मतदानअघि नै तीन जना गाउँपालिका अध्यक्षसहित ३९० जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन आयोगले प्रकाशन गरेको एक लाख ४५ हजार १० जना उम्मेदवारको अन्तिम नामावलीमध्ये ३९० जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका हुन् ।

गएको वैशाख ११ र १२ गते दुई दिन ७५३ वटा स्थानीय तह र त्यसका ६ हजार ७४३ वडामा परेको उम्मेदवारीमध्येबाट उनीहरु निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ । आयोगका अनुसार सबैभन्दा धेरै १६४ जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । दोस्रोमा खुला वडा सदस्यतर्फ १०१ जना निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै ७१ जना महिला सदस्य र ४८ जना वडा अध्यक्ष निर्विरोध निर्वाचित भएका छन् । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा ३–३ जना निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ ।

एमालेबाट १३८ जना निर्विरोध

निर्विरोध निर्वाचित हुने सबैभन्दा धेरै नेकपा (एमाले) बाट उम्मेदवारी दिएका जनप्रतिनिधि रहेका छन् । एमालेबाट एक गाउँपालिका अध्यक्ष र २ उपाध्यक्षसहित १३८ जना निर्विरोध भएका छन् ।

निर्विरोध वडा अध्यक्षमा एमाले अग्र स्थानमा रहेको छ । उसका ३५ प्रतिशत अर्थात १७ जना वडा अध्यक्ष निर्विरोध भएका हुन् ।
दोस्रोमा नेपाली कांग्रेसबाट एक गाउँपालिका उपाध्यक्षसहित ११५ जना निर्विरोध भएका छन् । उसले एमालेभन्दा एकजनामात्रै कम १६ जना वडा अध्यक्ष निर्विरोध जितेको छ ।

तेस्रोमा नेकपा (माओवादी केन्द्र) बाट ६० जना निर्विरोध भएका छन् । उसका ३ जना वडा अध्यक्षमात्रै निर्विरोध भए ।

एकीकृत समाजवादीबाट २ अध्यक्षसहित ३५ जना निर्विरोध

दलबाट निर्विरोध हुनेमा पछाडि रहेको नेकपा (एकीकृत समाजवादी) बाट २ जना गाउँपालिका अध्यक्ष र एक जना उपाध्यक्ष निर्विरोध भएका छन् । ३४ जना निर्विरोध भएको एकीकृत समाजवादीका ६ जनामात्रै वडा अध्यक्ष निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै ३६ जना स्वतन्त्र उम्मेदवार पनि निर्विरोध निर्वाचित भएका छन् । वडा अध्यक्षमा एकीकृत समाजवादी बराबर ६ जना स्वतन्त्र उम्मेदवार निर्विरोध भएका छन् ।

आयोगका अनुसार सबैभन्दा कम राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुई जना खुला सदस्य निर्विरोध भएका छन् । जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबाट एकएक जना दलित महिला सदस्य निर्विरोध भएका छन् । राष्ट्रिय जनमुक्ति पार्टीबाट एक जना महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

डोल्पाका दुई गाउँपालिकाका सबै निर्विरोध

डोल्पाका दुई गाउँपालिकामा उम्मेदवारी दिएका सबै जना निर्विरोध निर्वाचित भएका छन् । एकीकृत समाजवादी, कांग्रेस र एमाले तथा स्वतन्त्रबाट उम्मेदवारी दिएका सबै जनप्रतिनिधि निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ ।

यो पनिः दार्चुलामा एमालेका सदस्य पदका दुई उम्मेदवार निर्विरोध निर्वाचित

आयोगका अनुसार डोल्पाको काइके गाउँपालिकामा उम्मेदवारी दिएका ३५ जना नै निर्विरोध निर्वाचित भएका छन् । गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, वडा, अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य तथा खुला सदस्य गरेर ३७ जना निर्वाचित हुने भए पनि दुई वडामा दलित महिला सदस्यको उम्मेदवारी नै नपरेको आयोगले जनाएको छ ।

यहाँ नेकपा एसबाट गाउँपालिका अध्यक्षमा अंगतकुमार रानासहित दुई वडा अध्यक्ष र ६ वडा सदस्य निर्विरोध भए । गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसकी नीमा बुढासहित तीन वडा अध्यक्ष र १० जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

एमालेबाट भने तीन वडा अध्यक्ष र नौ जना वडा सदस्य निर्विरोध भएको आयोगले जनाएको छ । यहाँ स्वतन्त्रबाट वडा नम्बर २ को वडा सदस्यमा तेजेन्द्रबहादुर बुढा निर्विरोध निर्वाचित भएका छन् । वडा नम्बर २ र ३ मा दलित महिला सदस्यमा उम्मेदवारी नै परेन ।

डोल्पाकै छार्का साङतोङ गाउँपालिकामा पनि अध्यक्षसहित उम्मेदवारी दिने २६ जना निर्विरोध भएका छन् । यहाँको गाउँपालिका अध्यक्षमा पनि नेकपा एसले बाजी मारेको छ । नेकपा एसका सेनाङ गुरुङ गाउँपालिका अध्यक्षसहित दुई जना वडा अध्यक्ष र ६ जना महिला तथा खुला सदस्य निर्विरोध भएका छन् ।

गाउँपालिका उपाध्यक्षमा एमालेबाट कर्मढुण्डुप गुरुङसहित दुई वडा अध्यक्ष र ६ जना महिला तथा खुला सदस्य निर्विरोध भएका छन् ।
कांग्रेसबाट दुई वडा अध्यक्षसहित ६ जना महिला र खुला सदस्य निर्विरोध निर्वाचित भएका छन् । गाउँपालिकाको ६ वटै वडाको दलित महिला सदस्यमा उम्मेदवारी नपरेको आयोगले जनाएको छ ।

से–फोकसुण्डोमा नेकपा (एमाले)को तर्फबाट अध्यक्षसहित ३० जना निर्विरोध निर्वाचित
डोल्पाकै से–फोकसुण्डो गाउँपालिकामा नेकपा (एमाले)को तर्फबाट अध्यक्षसहित ३० जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । सबै गरेर ५३ जनाले उम्मेदवारी दिएकोमा गाउँपालिका अध्यक्षमा धावासम्डुक गुरुङसहित सात जना वडा अध्यक्ष तथा २२ जना विभिन्न क्षेत्रबाट वडा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

डोल्पो बुद्धमा उपाध्यक्षसहित २२ जना निर्विरोध

डोल्पाकै डोल्पो बुद्ध गाउँपालिकामा उपाध्यक्ष र चार जना वडा अध्यक्षसहित २२ जना जनप्रतिनिधि निर्विरोध भए । गाउँपालिका अध्यक्षसहित ३४ जनाले उम्मेदवारी दिएकोका थिए ।

यहाँको गाउँपालिका उपाध्यक्षमा नेकपा एसकी पेम्माधोर्चे गुरुङ निर्विरोध भएकी हुने । उसका दुई वडा अध्यक्ष र सात जना वडा सदस्यसमेत निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै कांग्रेसबाट दुई वडा अध्यक्ष र ६ जना वडा सदस्य निर्विरोध भए । माओवादी केन्द्रबाट चार जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

डोल्पो बुद्धमा एमालेका कुनै पनि उम्मेदवार निर्विरोध हुन सकेनन् । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र र स्वतन्त्र गरी दुई जनाको उम्मेदवारी परेको छ ।

नेपाल प्रेस