दुहुमा विद्यालय भवन निर्माण गरेको चार वर्ष सम्म कामदारले पाएन्न ज्याला

0
799

लक्ष्मण सिह धामी , दार्चुला ।
असोज १६ गते । दुहु गाउँपालिका वडानम्बर १ स्थित रहेको पिपलचौरी माध्यमिक विद्यालय विणको विद्यालय भवन निर्माणमा ज्यालादारी गरेको चार वर्षसम्म मजदुरहरुले रकम पाएका छैनन् । आर्थिक वर्ष २०७२÷७३ मा तत्कालीन जिल्ला शिक्षा कार्यालय दार्चुलाबाट चारकोठे विद्यालय भवन निर्माण गर्न बजेट विनियोजन गरी निर्माण कार्य गरेको ४ वर्ष वित्दा सम्म ५७ जना मजदुरहरुले ज्यालादारी नपाएको गुनासो गरेका छन् । हाम्रो नेपाल हामी नेपाली अभियानका जिल्ला सदस्य आनसिह महराले ज्यालादारी गरेको तर हालसम्म रकम नपाएका ५७ जनाको हस्ताक्षर गरेको पत्र वडा कार्यालयमा बुझाएपछि उक्त तथ्य खुलेको हो । हाम्रो नेपाल हामी नेपाली अभियानका जिल्ला सदस्य आनसिह महराले ज्यालादारी गरेर पनि हाल सम्म पुर्ण भुक्तानी नपाएका ५७ जनाको हस्ताक्षर सहितको पत्र वडा कार्यालयलाई बुझाएको जानकारी दिनुभएको छ ।
काम गरेको लामो समयसम्म पनि ज्याला नपाई गुनासो गरेपछि हस्ताक्षर सहितको पत्र वडा कार्यालय लाई वुझाएको अभियानका सदस्य महराले बताउनुभयो । गिट्टि संकलन तथा ढुवानी गरेका हिकिलाका १४ जना, विणका ३७ जना र अन्य दक्ष ज्यामीहरुले हालसम्म भुक्तानी नपाएको भनि गुनासो गरेपछि हस्ताक्षर गरेको हाम्रो नेपाल हामी नेपालीका जिल्ला सदस्य महराले बताएका छन् । ४ कोठे विद्यालय भवन निर्माण समितिका सदस्य एवं उक्त भवन निर्माणमा ज्यालामजुदुरी गरेका दुर्गादत्त भट्टले भने आफुले केहि रकम पाएको केहि पाउन बाँकी रहेको बताउनुभयो । धेरै दिन ज्यालादारी गरेका मजदुरहरुले आधाजति रकम पाएको र आधा पाउन बाँकी रहेको बताउनुभयो । १० दिन, हप्ता दिन काम गरेका कामदारहरुको भने भुक्तानी नपाएको उहाँको भनाई छ । सवैले नपाएको भन्दा पनि थोरै दिन काम गर्नेले नपाएको र धेरै दिन काम गर्नेले केहि रकम पाएको उपभोक्ता समिति सदस्य भट्टको भनाई रहेको छ ।
दुहु गाउँपालिका वडानम्बर १ का वडाअध्यक्ष जयबहादुर बमले भने यसबारे विचमा केहि कामदारको गुनासो आएकोले उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर कुवरलाई जानकारी गराएर भुक्तानी गर्न अनुरोध गरेको बताउनुभयो । काम गराएर हालसम्म मजदुरहरुको ज्याला भुक्तानी नगर्नु मुर्खता पुर्ण कार्य रहेको वडाअध्यक्ष बमको भनाई रहेको छ ।
हाम्रो नेपाल हामी नेपाली अभियानका सदस्यले मजदुरहरुले ज्याला नपाएको भनि हस्ताक्षर सहितको कागज वडा कार्यालयलाई बुझाएको र त्यसबारे आइतबार छलफल गरिने वडाअध्यक्ष बमले बताएका छन् । विद्यालय निर्माण समिति अध्यक्ष कर्णबहादुर कुवरलाई छलफलमा सहभागी गराउन पत्राचार गरेको र छलफलबाट सत्यतथ्य बुझिने वडाअध्यक्ष बमको भनाई छ । यसबारे उपभोक्ता समितिका अध्यक्षलाई टेलिफोन सम्र्पक गर्दा फोन उठेन ।

चार वर्ष वित्दा समेत विद्यालय भवन निर्माण हुन सकेन 

दुहु गाउँपालिका वडानम्बर १ पिपलचौरी स्थित रहेको माध्यमिक विद्यालय विणको विद्यालय भवन निर्माण सुरु गरेको चार वर्ष वित्दा समेत सम्पन्न हुन सकेको छैन । आर्थिक वर्ष २०७२।७३ मा सम्पन्न हुने गरि तत्कालीन जिल्ला शिक्षा कार्यालय दार्चुलाबाट ४ कोठे विद्यालय भवन निर्माणका ३२ लाख बजेट विनियोजन गरेको भएता पनि हालसम्म सम्पन्न नभएको पाइएको छ । २ तले ४ कोठे पक्की विद्यालय भवन निर्माणमा मजुदुरी गरेका व्यक्तिहरुले हालसम्म ज्याला नपाएको भनि गुनासो आएपछि विद्यालय भवन निर्माण सम्पन्न नभएको रहस्य खुलेको छ । उक्त ४ कोठे विद्यालय भवनको बाहिरपट्टी पलाष्टर नभएको,झ्याल,ढोका फिटिङ गर्नुपर्ने,दोस्रो तला जाने सिढीको ढलान कार्य नभएको र रङरोगन गर्न बाँकी रहेको दुहु गाउँपालिका वडानम्बर १ का वडाअध्यक्ष जयबहादुर बमले जानकारी दिनुभएको छ ।

विद्यालय भवन निर्माणमा गाउँपालिकाको समेत लगानी

पिपलचौरी माध्यमिक विद्यालय विणको ४ कोठे विद्यालय भवन निर्माण गर्न डिजाइन इष्टमेट सहित तत्कालीन जिल्ला शिक्षा कार्यालय दार्चुलाले ३२ लाख बजेट विनियोजन गरेको थियो । तर उक्त विद्यालय भवन निर्माणमै दुहु गाउँपालिकाले पनि लगानी गरेको छ । दुहु गाउँपालिकाले गत आर्थिक वर्ष २०७६।७७ मा उक्त विद्यालय भवन निर्माणका लागि ५ लाख र वडानम्बर १ ले २ लाख गरि ७ लाख बजेट विनियोजन गरेको भएता पनि हालसम्म निर्माण सम्पन्न हुन सकेको छैन । दुईतले चारकोठे विद्यालय भवन निर्माणमा तत्कालीन शिक्षा कार्यालय दार्चुलाको ३२ लाख र दुहु गाउँपालिकाको ७ लाख गरि जम्मा ३९ लाख बजेट खर्च भइसक्दा समेत भवन निर्माण सम्पन्न भएको छैन ।