दुहुँ गाउँपालिकामा १० कक्षासम्मको शिक्षा निशुल्क

0
326

दार्चुला, चैत्र ९ गते ।
दुहुँ गाउँपालिकाले १० कक्षासम्मको शिक्षा निशुल्क गरेको छ । स्थानीय तहमा नयाँ जनप्रतिनिधि आएपछि कक्षा १० सम्म कुनै पनि प्रकारको शुल्क लिन नपाइने निर्णय गरी कार्यान्वयनमा ल्याइएको हो ।
शिक्षाक्षेत्रलाई पहिलो प्राथमिकता दिएर १० कक्षासम्मको शिक्षा पूर्णरुपमा निशुल्क बनाइएको गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह बडालले बताउनुभयो । ‘कक्षा १० सम्मको शिक्षामा कुनै पनि प्रकारको शुल्क उठाउन निषेध गरेका छौ’ उहाँले भन्नुभयो ।
गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको पहिलो कार्यपालिका बैठकबाट निशुल्क शिक्षाको निर्णय गरिएको गाउँपालिका प्रवक्ता देववहादुर बमले बताउनुभयो । ‘गत जेठ १७ गते बसेको पहिलो बैठकबाट कक्षा १० सम्मको विद्यालय शिक्षामा कुनै पनि प्रकारको शुल्क उठाउन नपाइने निर्णय गरिएको’ उहाँले बताउनुभयो ।
दुहुँ गाउँपालिकामा हाल १९ वटा सामुदायिक विद्यालयहरु सञ्चालनमा छन् । हिकिला र बारबाजमा कक्षा १२ सम्म तथा धारी, पिपलचौरी र सिमलीमा कक्षा १० सम्मको पठनपाठन हुँदैआाएको छ । वडा नम्बर ५ को सुत्खोला र वडा नम्बर २ को कम्दामा कक्षा ८ सम्मको आधारभूत विद्यालय रहेको छ ।
दुहुँ गाउँपालिकाभरीमा कक्षा ५ सम्म सञ्चालित १४ वटा आधारभूत विद्यालयहरु रहेको गाउँपालिकाको शिक्षा तथा खेलकुद शाखाकाे तथ्यांक छ । कक्षा ६ देखि १० सम्मका विद्यालयमा विद्यार्थीबाट शुल्क उठाइने गरेकोमा चालू शैक्षिकसत्रदेखि शुल्क उठाउन रोक लगाइएको गाउँपालिका प्रवक्ता बमले बताउनुभयो ।
गाउँ कार्यपालिकाको निर्णयअनुसार कक्षा १० सम्मको विद्यालय शिक्षालाई पूर्णरुपमा निशुल्क बनाइएको शिक्षा तथा खेलकुद शाखा संयोजक लोकेन्द्रवहादुर बमले बताउनुभयो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममै निशुल्क शिक्षाको सुनिश्चितता गरिने उल्लेख गरिएको उहाँले जानकारी दिनुभयो ।
दुहुँ गाउँपालिकामा शिक्षा क्षेत्रका लागि चालु वर्षमा १ करोड ५२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । विनियोजित बजेटको सबैजसो हिस्सा निशुल्क शिक्षाको नीति र निर्णय कार्यान्वयनका लागि खर्च भइरहेको शिक्षा तथा खेलकुद शाखा संयोजक लोकेन्द्रवहादुर बमले बताउनुभयो । विनियोजित बजेटमध्ये १ करोड ३० लाख रुपैयाँ सहजकर्ता शिक्षक, कार्यालय सहयोगी, वालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलबभत्तामा खर्च हुने उहाँले बताउनुभयो ।
गाउँपालिकाभरी विगतदेखि २० जना सहजकर्ता शिक्षकको व्यवस्थापन हुँदैआएकोमा यो वर्ष थप ११ जना सहजकर्ता शिक्षकको व्यवस्थापन गाउँपालिकाबाट गरिएको शिक्षा शाखाले जनाएको छ । शिक्षक–विद्यार्थी अनुपात र विषयगत शिक्षकको आवश्यकताका आधारमा सहजकर्ता शिक्षकको व्यवस्थापन गरिएको शिक्षा शाखा संयोजक बमले बताउनुभयो ।
गाउँपालिकाबाट प्राथमिक तहका सहजकर्ता शिक्षकलाई मासिक १४ हजार, निमावि तहका सहजकर्ता शिक्षकलाई १७ हजार र माध्यमिक तहका सहजकर्ता शिक्षकलाई २२ हजार रुपैयाँ मासिक तलब उपलब्ध गराइदैआएको छ । गाउँपालिकाको निर्णयअनुसार गत माघ १ देखि निमावि र माध्यमिक तहमा गणित, अंग्रेजी र विज्ञान विषयका शिक्षकलाई थप ८ हजार भत्ता दिन सुरु गरिएको शिक्षा शाखा संयोजक बमले जानकारी दिनुभयो ।
गाउँपालिकाले विद्यालयहरुमा कार्यरत कार्यालय सहयोगीहरुको मासिक तलबमा ९ हजार रुपैयाँ पारिश्रमिक थपेको छ । कार्यालय सहयोगीले संघीय सरकारबाट मासिक ८ हजार रुपैयाँ पारिश्रमिक पाउँछन् ।
दुहुँ गाउँपालिकाले वाल विकास सहजकर्ताको पारिश्रमिक पनि दोब्बर गरेको छ । संघीय सरकारबाट मासिक १० हजार रुपैयाँ पारिश्रमिक दिइदैआएकोमा गाउँपालिकाबाट पनि वालविकास सहजकर्ताहरुलाई १० हजार रुपैयाँ पारिश्रमिक थप गरिएको शिक्षा शाखाले जनाएको छ । दुहुँ गाउँपालिकाभरीमा हाल २० जना वालवालिका सहजकर्ता र १९ जना विद्यालयमा कार्यरत कार्यालय सहयोगी छन् ।
विद्यालय कर्मचारीहरुको तलबमा पनि गाउँपालिकाले मासिक ४ हजार ५ सय रुपैयाँ थप गरेको छ । संघीय सरकारबाट मासिक १३ हजार ५ सय रुपैयाँ प्राप्त भइरहेकोमा गाउँपालिकाले साढे ४ हजार रुपैयाँ थपेपछि विद्यालय कर्मचारीको तलब सुविका मासिक १८ हजार रुपैयाँ पुगेको छ ।
गाउँपालिकाभित्रका सबै विद्यालयहरुमा कक्षा १० सम्मको शिक्षामा कुनै प्रकारको शुल्क वा सहयोग संकलन नगर्न गत जेठमै पत्राचार गरिएको गाउँपालिकाको शिक्षा तथा खेलकुद शाखाले जनाएको छ । कुनै पनि विद्यालयमा विद्यार्थी वा अभिभावकबाट शुल्क वा सहयोग नउठाइएको र यसबारे नियमित अनुगमन गर्ने काम पनि भइरहेको गाउँपालिका प्रवक्ता देववहादुर बमले बताउनुभयो ।
देशको संविधान र कानुनले माध्यमिक शिक्षा निशुल्क हुने व्यवस्था गरेकोले कक्षा १० सम्मको विद्यालय शिक्षा निशुल्क गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह बडालले बताउनुभयो । अभिभावकहरुको आर्थिक अवस्थालाई समेत ध्यानमा राखेर निशुल्क शिक्षाको निर्णय गरिएको उहाँले बताउनुभयो ।