दुहुँका बाढी पहिरो पीडितलाई सोसल भोलेन्टियर्स ग्रुपको राहत

493

दार्चुला, कार्तिक १७ गते ।
दुहुँ गाउँपालिकामा गत भाद्रमा आएको बाढी पहिरोका कारण समस्यामा परेका परिवारलाई सोसल भोलेन्टियर्स ग्रुप दार्चुलाले मंगलबार राहत वितरण गरेको छ । सामाजिक सञ्जाल मार्फत् विभिन्न दातृ निकाय तथा व्यक्तिहरुबाट आर्थिक सहयोग संकलन गरी दुहूँका बाढी पहिरो पीडित परिवारलाई राहत वितरण गरिएको ग्रुपका संयोजक एवं अधिवक्ता कृष्णबहादुर महराले बताउनु भयो ।

संकलन भएको रकमबाट खाद्यान्न, लुगा कपडा खरिद गरी पीडित परिवारलाई वितरण गरिएको छ । दुहूँ गाउँपालिकाका विभिन्न वडाका ४६ ओटा पूर्ण घर क्षति भएका बाढी पहिरो पीडित र १ सय ५८ ओटा आंशिक क्षति तथा उच्च जोखिम रहेका पीडित परिवारलाई ग्रुपले राहत वितरण गरेको हो । पूर्ण घर क्षति भएका दुई समूहमा र आंशिक क्षति तथा उच्च जोखिममा रहेका परिवारलाई पनि दुई समूहमा विभाजन गरी राहत उपलब्ध गराइएको महराले बताउनुभयो । जिल्लामा कोभिडको संक्रमण भएकाले बेला समेत सोसल भोलेन्टियर्स ग्रुप दार्चुलाले जिल्ला अस्पताललाई अक्सिजन सिलिण्डरहरु उपलब्ध गराएको थियो । दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले सक्रियता पूर्वक ग्रुपले भूमिका निर्वाह गरेको र आगामी दिनमा पनि यस्तै सक्रियता देखाओस् भन्ने शुभकामना व्यक्त गरेका छन् । भोलेन्टियर्स ग्रुपले बाढी पहिरो पीडितहरुको घाउमा मलम लगाउने कार्य प्रशसंनीय रहेको नेपाल रेडक्रस सोसाइटी शाखा दार्चुलाका मन्त्री दिपक प्रसाद अवस्थीले बताउनु भयो । समाज कल्याण समाज नेपाल दार्चुलाका अध्यक्ष रघुबीरसिंह ठगुन्नाले ग्रुपले बाढी पहिरो पीडितहरुलाई राहत उपलब्ध गराउने कार्य स्वागत योग्य रहेको प्रतिक्रिया दिनुभयो । साथै सानो कामका लागि समेत सरकारको मुख ताक्ने प्रबृत्ति त्याग्नुपर्ने बताउदै सरकारले केही नगरेको भन्नु व्यर्थ रहेका उहाँको भनाई छ ।
गत भाद्र १३ गतेको बाढी पहिरोले दुहूँमा बितण्डा मच्चाएपछि सोसियल भोलेन्टियर्स ग्रुपले दुहूँका बाढी पहिरो पीडितका लागि देश तथा विदेशमा रहेका नेपाली नागरिकहरुबाट राहत रकम संकलन गरेका थिए । विभिन्न संस्था तथा समूह गरी ७० जनाले राहत रकम उपलब्ध गराएको संयोजक महराले बताउनु भयो । बाढी पहिरो पीडित परिवारलाई चार समूहमा विभाजन गरि राहत वितरण गरिएको छ । पूर्ण क्षति प्रथम, पूर्ण क्षति दोस्रो, आंशिक क्षति तथा उच्च जोखिम प्रथम र आंशिक क्षति तथा उच्च जोखिम दोस्रो गरी विभाजन गरिएको छ । जम्मा २ सय ४ परिवारको सूची तयार पारि राहत वितरण गरिएको हो । पूर्ण क्षति भएको घरपरिवार छुटेको भए तीन दिनभित्र राहत वितरण गर्ने ग्रुप संयोजक तथा अधिवक्ता महराले बताउनु भयो । सोसल भोलियन्टियर्स ग्रुप दार्चुलाका संयोजक एवं अधिवक्ता कृष्ण बहादुर महराको अध्यक्षता एवं जिल्ला विपद् व्यवस्थापन समिति दार्चुला प्रमुख एवं प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीको प्रमुख आतिथ्यतामा राहत वितरण कार्यक्रम गरिएको हो । जिल्ला समन्वय समिति प्रमुख करबीर बहादुर कार्की विशिष्ट अतिथि रहेको कार्यक्रममा नेपाल प्रहरीका डिएसपी मनोहर प्रसाद भट्ट, सशस्त्र डिएसपी बीरसिंह धामी, अनुसन्धान अधिकृत, रेडक्रस दार्चुलाका मन्त्री दिपक प्रसाद अवस्थी,नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष तथा उपाध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !