दुहुँका बाढीपहिरो पिडितलाई बमंद्धारा साढे २२ आना जमिन र २४ लाख नगद सहयोग

0
485

दार्चुला, मंसिर ३ गते ।

गत भाद्रमा आएको बाढी पहिरोका कारण दुहुँ गाउँ पालिका विचल्लिमा परेका परिवारलाई स्थानिय दौले बंमका छोराले साढे २२ आना जमिन र २४ लाख २० हजार रुपैयाँ सहयोग गरेका छन् । दुहुँ गाउँपालिका वडा नं २ हिकिला चनाखोली लस्या स्थायी घरभई हाल महेन्द्रनगरमा बस्ने र कामकाजको सिलसिलामा भारतको बैङलुरुमा रहेको स्टोक्राफट कम्पनीमा कार्यरत उत्तम बहादुर बमंले उक्त सहयोग गरेका हुन् । बाढी पहिरोबाट सम्पुर्ण घर जमिन गुमाएका पिडित ९ परिवारलाई साढे २२ आना जमिन किनेर प्रत्येकलाई साढे दुई आनाका दरले जमिन दिएका छन् ।

बाढी पहिरो पिडित रनजित साहुँ, जमन साहुँ, कल्यान साहुँ, डम्बर साहुँ, अम्मर साहुँ, लालसिह साहुँ, धनसिह साहुँ, नरेन्द्र सिह साहुँ र दिलिप सिह साहुँको परिवारलाई दुहुँ गाउँपालिका २ हिकिला क्षेत्रमा जमिन प्रदान गरिएको छ ।

त्यसैगरि बमंले बाढी पहिरोबाट पिडित ९ परिवारलाई प्रतिब्यक्ति ५० हजार देखि डेढ लाख सम्म सहयोग गरेका छन् । स्थानिय दान बमं, टेक बमं, डबल बमं, पदम बमं, कृष्ण बमं, जंगबहादुर बमं, तेजबहादुर बमं, खडक डडाल र गोपाल डडाललाई नगद रकम सहयोग गरिएको छ ।

उत्तम बहादु बमं बैङलुरुको स्टोक्राफट कम्पनीमा विगत १६ बर्ष देखि कार्यरत रहेका छन् । आफ्नो गाउँघरमा बाढी पहिरोले वितण्डा मच्चाएपछि उनले स्टोक्राफ्ट कम्पनीका सञ्चालन राजेन्द्र गान्धीलाई सहयोगका लागि आग्रह गरेका थिए । गान्धीले बाढी पहिरो पिडितलाई सहयोग गर्न भनि बमंलाई २३ लाख २० हजार नेपाली रुपैयाँ दिएका थिए । साथै बमंले १ लाख रकम आफ्नो तलभ बाट बाढी पहिरो पिडित परिवारका लागि बाढी पहिरो सहयोग समितिलाई हस्तान्तरण गरेका छन् ।

दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले बमंको उक्त मनकारी कार्य प्रशंसनिय रहेको बताएका छन् । गाउँपालिकाले सहयोगका लागि उत्तम बहादुर बमं र उहाँका धर्मपत्नी विमलादेबी बमंलाई दोसल्ला ओढाई सम्मान गरि प्रशंशापत्र प्रदान गरेको छ । बाढी पहिरो पिडितले सहयोगका लागि उत्तम बहादुर बमंलाई धन्यबाद दिएको स्थानिय पत्रकार लोकेन्द्र बहादुर बमंले बताउनुभयो ।