दुर्घटनाका कारणहरु

876

सम्पादकीय,

दोगडाकेदारकि भागरथीले पनि कञ्चनपुरकि निर्मलाकि जस्तो हबिगत भोग्नु परेको घटना सार्वजनिक भएको छ । बालात्कारपछि हत्या । दुबै घटनाको प्रकृति र प्रवृत्ति एउदै देखिन्छ । जबरजस्ति हवस पूरा गर्ने (बालात्कार गर्ने) र जिउँदो निसान नै मेटाउने (हत्या गर्ने) प्रवृत्ति र प्रकृति दुबै घटनाको एउटै देखिएको छ ।

दुबैको पारिवारिक अवस्था पनि उस्ताउस्तै देखिन्छ । दुबै परिवार निम्नवर्गीय परिवारसँग सम्बन्ध राख्दछन् । निम्न वर्गीय परिवारको धाउन्न नै कसरी घरपरिवार धान्ने भन्ने नै हुन्छ । यो धाउन्नमा उनीहरु आफ्नो वरपर मडारिएको खतराको पनि पूर्व संकेत थाहा पाउँदैनन् । दैनिकी मै व्यस्त हुने भएकाले उनीहरु अरुले आफ्ना बिरुद्ध गरिरहेका कामहरुका बारेमा उनीहरु बेखर रहन्छन् । त्यसमाथि बालात्कार र हत्या नै गर्ने जस्ता उद्देश्यहरु लिएर नजिकएकाहरुको षडयन्त्रबाट उनीहरु बेखबर नै रहने गर्दछन् । जीवन धान्ने मेसो मिलाउन नै समस्या भएका बेला आउन सक्ने खतराप्रति बेखबर रहनु स्वभाविक पनि हो ।
छोरीहरुलाई पढाउनु पर्दछ भन्ने चेतनाको विकास भएको भएपनि छोरीचेलीलाई हेर्ने अरुको दृष्टिकोणमा भने परिवर्तन आउन सकेको छैन । छोरीचेलीलाई शिक्षित बनाउनु पर्ने चेतनाको विकास भएपनि अरुका छोरीचेलीलाई हवस पूरा गर्ने साधनका रुपमा हेर्ने घृणित सोचमा भने परिवर्तन हुन सकेको देखिदैन । त्यसकै परिणाम स्वरुप निर्मला भागरथी जस्ता दुर्घटनाहरु दोहोरिन पुगेका छन् । एकातिर पुरुषहरुको दृष्टिकोणमा परिवर्तन आउन सकेको छैन भने अर्कातिर त्यस्ता घृणित कार्यमा संलग्नहरु कानुनको दायरामा नै नआउने भएका कारणले यस्ता दुर्घटनाहरु बढ्दै जाने गर्दछन् । पछिल्ला दुर्घटनाहरु पनि यसकै परिणाम पनि हुन् । तसर्थ आर्थिक रुपले सबल बनाउँदै लैजान सकियो भने मात्र यस्ता दृर्घटनाहरु कम हुने भएकाले यसतिर पनि समुदायले समेत सहयोग गर्नु पर्ने देखिन्छ ।
हाम्रो अनुसन्धान प्रक्रिया र त्यसको नेतृत्व गर्नेहरुका इच्छाशक्तिका कारण पनि यस्ता दुर्घटनाहरु पनि दोहोरिएका छन् । हुन त सबै यस्ता घटनाहरुमा संलग्नहरु कानुनी दायरामा नआएका होइनन्, केही घटनाका दोषि मात्रै यसरी कानुनी दायरामा आउन नसेका हुन् । तिनै घटनाहरुका दृष्टान्तमा टेकेर अपराधिहरुले अपराध लुकाएर यस्ता घटनाहरुमा संलग्न गरेका हुन्छन् । त्यसमाथि अनुसन्धानमा खटिएर जाने अधिकारीहरुको दृढइच्छाशक्तिले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । सतही रुपमा मात्रै अनुसन्धान गर्ने, घटनालाई सुक्ष्म रुपले अध्ययन गर्नेभन्दा पनि हचुवाका भरमा अनुसन्धान गर्ने तथा विधि र प्रविधिको प्रयोगलाई समेत उपलब्धी निकाल्ने गरी प्रयोग गर्ने कुरामा पनि कमबेसी गरेको दृष्टान्तहरु नदेखिएका होइनन् । यी तमाम कारणहरुले यस्ता अपराधिक घटनाहरु दोहोरिन प्रेरणा दिने भएकाले समग्र सरोकारवालाहरु सचेत भएर लाग्नु पर्ने बेला आएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !