दुर्गादल गुल्मको १८औं वार्षिकोत्सव

2019

दार्चुला, माघ १२ गते ।
दार्चुला सदरमुकामस्थित नेपाली सेनाको दुर्गादल गुल्मले आइतवार १८औं वार्षिकोत्सव मनाएको छ । खलंगा व्यारेक परिसरमा कार्यक्रम गरी गुल्मले वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सवको कार्यक्रममा महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्ट, प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, जिल्लास्थित सुरक्षा निकाय र कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो । वार्षिकोत्सवको अवसरमा सांस्कृतिक तथा खेलकुदका कार्यक्रम समेत सञ्चालन गरिएको गुल्मले जनाएको छ ।
दुर्गादल गुल्मका गुल्मपति सेनानी श्यामराज विक्रम थापाले जिल्लाको शान्तिसुरक्षाका साथै विपद् व्यवस्थापन र सामाजिक क्षेत्रमा समेत सेनाले काम गरेको बताउनुभयो । प्रधान सेनापति पूर्णचन्द्र थापाको लिखित शुभकामना सन्देश समेत वार्षिकोत्सव कार्यक्रममा सुनाइएको छ । प्रधान सेनापति थापाले ‘सुरक्षा लगायत सामाजिक क्षेत्रमा दुर्गादल गुल्मले महत्वपूर्ण योगदान पुर्याएको’ स्मरण गरेका छन् ।
वार्षिकोत्सवको अवसरमा मन्तव्य राख्दै गुल्मपति श्यामराज विक्रम थापाले ‘गौरवशाली इतिहास र उज्ज्वल भविष्य भएको नेपाली सेना व्यावसायिक रुपमा सक्रिय रहेको’ बताउनुभयो । वार्षिकोत्सवको अवसरमा विभिन्न खेलकुद प्रतियोगितामा विजयी सैनिक दर्जालाई पुरस्कृत गरिएको छ ।
तत्कालिन राजा रणवहादुर शाहको कार्यकालमा विक्रम सम्वत १८४७ मा स्थापना गरिएको दुर्गादल गुल्म नेपाल एकीकरणको अभियानपछि विघठन गरिएको थियो । २०५८ माघ १२ गते तत्कालिन मन्त्रिपरिषद्ले दुर्गादल गुल्म पुनस्र्थापना गरेको गुल्मपति थापाले जानकारी दिनुभयो ।
नेपाली सेनाको दुर्गादल गुल्म २०६५ देखि २०६९ सालसम्म मुस्ताङ जिल्लामा र २०६९ देखि २०७३ सालसम्म बारा जिल्लास्थित पर्सा वन्जयन्तु आरक्षमा खटिएको इतिहास छ । दार्चुलामा २०७३ सालदेखि दुर्गादल गुल्म सञ्चालनमा रहेको गुल्मपति थापाको भनाई छ । दुर्गादल गुल्मको आदर्श वाक्य ‘जय दुर्गे’ रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !