दुम्लीङ क्षेत्रमा महाकाली तरेर ३४ जना भित्रिए

888

दार्चुला, बैसाख १३ गते ।
व्याँस गाउँपालिका वडा नम्बर २ दुम्लिङ क्षेत्रबाट ३४ जना महाकाली नदी तरेर भारतबाट आएका छन् ।
शनिवार बिहान ३४ जना नेपालीहरु भारतबाट नेपाल प्रबेश गरेको र उनीहरुलाई आज व्याँस गाउँपालिका सुन्सेराको क्वारेन्टाइनमा राखेको महाकाली नगरपालिका विपद् व्यवस्थापन शाखा प्रमुख भुवन जोशीले बताउनु भयो ।
३४ जना नेपाल प्रबेश गरेको जानकारी प्राप्त भएपछि उनीहरुलाई क्वारेन्टाइनमा राख्न व्यवस्थापन भइसकेको उहाँले बताएका छन् । ‘महाकाली तरेर नेपाल प्रबेश गरेकाहरुलाई क्वारेन्टाइमा राख्न सम्पूर्ण तयारी गरिएको छ, तर उनीहरु भोली मात्रै आउने खबर प्राप्त भएको छ’ उहाँले भन्नु भयो ।
हालसम्म महाकाली नगरपालिकामा ५४ जनासम्म राख्न सकिने क्षमता रहेको थियो । उनीहरु आउने भएपछि २० जनाका लागि थप व्यवस्थापन गरि ७४ जनाका लागि महेन्द्र नमुना मावि खलंगा क्वारेन्टाइन व्यवस्था गरिएको छ । साथै बहुमूखी क्याम्पसमा पनि २० बेडको क्वारेन्टाइन निर्माण भइरहेको विपद् व्यवस्थापन शाखा प्रमुख जोशीले जानकारी दिनुभयो ।
महाकाली नगरपालिकाको क्वारेन्टाइमा बस्नेहरुको संख्या थपिने भएपछि क्वारेन्टाइनको क्षमता बढाइएको हो । नगरपालिकामा अहिले १६ जना क्वारेन्टाइनमा बसेका छन् भने महाकाली नदी तरेर दुम्लिङ हुदै नेपाल प्रबेश गरेको ३४ जना र काठमाण्डौँबाट २४ जना आउन लागेकाले क्वारेन्टाइनको क्षमता बढाइएको हो ।
दुम्लिङबाट महाकाली तरेर नेपाल आएका ३४ जना, काठमाण्डौबाट आउन लागेका २४ जना गरि ५८ जना आइतबार दार्चुला सदरमुकाम पुग्नेछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !