दुई सय व्यापारीलाई अनुमति ।

2379

भारतको केन्द्र सरकारले चीनको ताक्लाकोटसम्म स्थलगत व्यापार गर्न दुई सय व्यापारीलाई अनुमति दिने भएको छ । यो वर्षको व्यापार सञ्चालनका लागि भारतको केन्द्र सरकारले दुई सय व्यापारीको संख्या निर्धारण गरेको हो ।
मे २८ बाट धारचुलाको ट्रेड कार्यालयबाट अनुमतिपत्र जारी गरिने भारतीय पत्रिका हिन्दुस्तान दैनिकले समाचार लेखेको छ । लिपुलेक नाका भएर भारत र चीनबीच हरेक वर्ष स्थलगत व्यापार हुँदैआएको छ । भारतीय व्यापारीहरुले धारचुलादेखि भाडाखच्चड र भरियामा सामान ढुवानी गरी गुञ्जीमा भण्डारण गर्दछन् । गुञ्जीबाट आवश्यकता अनुसार चीनको ताक्लाकोटसम्म सामान ढुवानी गरी व्यापार हुने गर्दछ ।
भारतको गृह मन्त्रालयले जारी गर्ने अनुमति पत्र धारचुलामा ट्रेड सहायक कर्मचारी प्रतापसिह कुटियालले व्यापारीलाई उपलब्ध गराउनेछन् । गत वर्ष गृह मन्त्रालयले उपलब्ध गराएका ६४ अनुमतिपत्र समेत बाँकी रहेकाले यस वर्ष बढीमा २ सय ६४ भारतीय व्यापारीले चीनको ताक्लाकोट पुगेर व्यापार गर्न सक्ने भएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !