दुई दर्जन कार्यालयमा छड्के, ४० कर्मचारी अनुपस्थित

2363

दार्चुला, भदाै १ गते ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले सदरमुकामस्थित दुई दर्जन सरकारी कार्यालयमा आइतवार छड्के अनुगमन गरेकाे छ । प्रमुख जिल्ला अधिकारी शंकरवहादुर विष्ट, सहायक प्रमुख जिल्ला अधिकारी टेकसिह कुवर र नायव सुब्बा पदमराज भट्ट नेतृत्वको छुट्टाछुट्टै टाेलीले अनुगमन गरेकाे हाे ।

आइतवार विहान कार्यालय खुल्ने समयमा एकसाथ अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । छड्के अनुगमनमा केही कार्यालय प्रमुखसहित १० जना अधिकृतस्तर र ३० जना सहायकस्तरका कर्मचारीकाे अनुपस्थिति पाइएकाे छ ।

काज, विदा जस्ता कारण नजनाएर कार्यालयमा अनुपस्थित हुने कर्मचारीलाई कारवाहीकाे प्रक्रिया थालिएको प्रमुख जिल्ला अधिकारी विष्टले जानकारी दिनुभयाे । आइतवारकाे छड्के अनुगमनमा १० अधिकृत र ३० सहायकस्तरका कर्मचारी नियमविपरित कार्यालयमा अनुपस्थित रहेकाे भेट्टिएका छन् ।

सम्बन्धित कार्यालय प्रमुख, माथिल्लो कार्यालय र गृह मन्त्रालयमा अनुगमनबाट देखिएकाे परिणामबारे जानकारी गराइएको छ । प्रदेश सरकारका कार्यालयबारे थप कारवाहीका लागि प्रदेश सरकारलाई समेत पत्राचार गरिएको प्रजिअ विष्टले बताउनुभयो ।

प्रशासनकाे छड्के अनुगमनमा कर्मचारीकाे उपस्थितिलाई मुख्य रूपमा हेरिएकाे छ । यसका साथै कर्मचारी पाेशाक, परिचयपत्र, कार्यालय व्यवस्थापन र सरसफाइ तथा सेवाग्राहीमैत्री वातावरणबारे अनुगमन गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी विष्ट आफैले आधा दर्जन कार्यालयकाे अनुगमन गरेका छन् । नागरिक वडापत्र, सुचना अधिकारीकाे व्यवस्थापन र नियमित सेवा प्रवाहबारे समेत अनुगमनका क्रममा जानकारी लिइएको छ ।

सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन छड्के अनुगमनलाई निरन्तरता दिइने प्रजिअ विष्टकाे भनाइ छ । केही कार्यालय प्रमुख नै अनुपस्थित देखिनु र तीन दर्जन कर्मचारी नियमित विपरित अनुपस्थित रहनुले राम्रो सन्देश नदिएकाे उहाले बताउनुभयो ।

२०७५ फागुनदेखि दार्चुलाको प्रमुख जिल्ला अधिकारीकाे जिम्मेवारी सम्हालेपछि जिल्लास्थित कार्यालयमा प्रजिअ विष्टले पहिलोपटक छड्के अनुगमन गरेका हुन् । आर्थिक वर्षकाे समाप्ति र नया आवकाे सुरूवाती भएकोले अधिकांश कार्यालयमा कर्मचारीकाे उपस्थिति न्यून छ । माथिल्लो निकायमा रिपोर्टिङ, समन्वय, समीक्षा जस्ता कारण देखाउदै कर्मचारीले कार्यालय छाेड्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !