दार्चुला हिमपहिरोमा परेका तीनको पहिचान खुल्यो,दुई जना अझै बेपत्ता

0
328
दार्चुला,वैशाख २१ गते
दार्चुलाको व्याँस गाउँपालिका–१ छाङरु स्थित बोलिनमा हिम पहिरोमा बेपत्ता भएका पाँच मध्ये अझै २ जना फेला परेका छैनन् । तीन जनाको भने हिजो शव फेला परेको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नम्बर ५० गुल्म छाङरुको टोली खोजी र उद्धार कार्यमा संलग्न रहेको छ । हिजो ३ जनाको शव फेला परेको र अझै २ जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले जानकारी दिनुभयो । हिजो भेटिएका तीन वटै शवको सनाखत भइसकेको प्रहरी निरीक्षक सिंहले बताएका छन् । उनका अनुसार डोटीको जोरायल गाउँपालिका २ बुडरका ४५ बर्षीया नक्की डोमा थापा, दार्चुलाको दुहु गाउँपालिका ४ पोक्सेका ३६ वर्षकी कमला कुँवर उनका छोरा १८ वर्षीया प्रवीण कुँवरको शव फेला परेको हो। कमला र प्रवीण आमा छोरा हुन् । हिम पहिरोमा बेपत्ता भएका डोटीको जोरायल गाउँपालिका २ बुडरका २८ वर्षीय ईश्वरी थापा र सोहि ठाउँका १५ वर्षीय छिम्मी सोमो थापाको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ । उनीहरूको खोजी गर्न गएको टोली मौसम खराब भएपछि राति नै छाङरु फर्किएको थियो । अहिले केही बेर पछि पुन घटना स्थलमा खोजी र उद्धार टोली जाने छ । मङ्गलवार दिउसो आएको हिम पहिरोमा फसेका मध्ये सात जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।