दार्चुला हिमपहिरोमा ज्यान गुमाएकाको शव खंलगा ल्याईयो,,दुई अझै बेपत्ता

0
304
दार्चुला,वैशाख २२ गते
दार्चुलाको व्यास गाउँपालिका १ भोलीनमा हिम पहिरोमा परेर ज्यान गुमाएकाहरुको शव जिल्ला सदरमुकाम ल्याइएको छ । शुक्रबार भारतीय सडक मार्गबाट उनीहरुको शव सदरमुकाम खलगा ल्याइएको हो । गएको मङ्गलवार हिम पहिरोमा परेर बेपत्ता भएका पाँच जना मध्ये ३ जनाको शव फेला परेको थियो । हिमपहिरोमा परि दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ४ की ३८ वर्षीया कमला कुँवर, १८ वर्षीय प्रविण कुँवर र डोटीको जोरायल गाउँपालिकाको बुडर बस्ने ४५ वर्षीय नक्की डोमा थापाको शव सदरमुकाम ल्याइएको हो । यस्तै, हिमपहिरोमा बेपत्ता भएका डोटीको जोरायल गाउँपालिका वडा नम्बर २ बुडरकी २८ वर्षीया इश्वरी थापा र १५ वर्षीया छिमी सामो थापाको अवस्था अझै थाहा हुन सकेको छैन । तीन जनाको शव भारतीय सडक मार्ग हुँदै सदरमुकाम ल्याइएको भए पनि भारतको गर्वाधार क्षेत्रमा पहिरो गएपछि समस्या भएको थियो । सो क्षेत्रको पहिरो हटाई सडक सञ्चालनमा आएपछि शव साँझ साढे ६ बजे सदरमुकाम खलंगा ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले बताउनु भयो । मृतकको शव पोष्टमार्टमपछि आफन्तहरुको जिम्मा लगाइने प्रहरी निरीक्षक सिंहले बताएका छन् । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बेपत्ता दुई जनाको पनि खोजी गरिरहेको उहाँले बताउनु भयो । मङ्गलवार हिमपहिरो गएपछि यार्सागुम्बा टिप्न गएका ५ जना टेन्ट सहित बेपत्ता भएका थिए भने सात जनाले भागेर ज्यान जोगाएका थिए ।