दार्चुला सदरमुकाम जोड्ने महाकाली लोकमार्ग पहिरोले अवरुद्ध

0
1097
शैल्यशिखर नगरपालिका ६ दुधलिङगाडमा खसेको पहिरो

दार्चुला, भाद्र १२ गते ।
दार्चुलाको शैल्यशिखर नगरपालिका ६ दुधलिङगाडमा आज विहान पहिरो खस्दा सदरमुकाम खलंगा जोड्ने महाकाली लोकमार्ग अवरुद्ध भएको छ ।

विहान साढे ६ बजेतिर सडक भन्दा माथिबाट खसेको पहिरोले महाकाली लोकमार्गको एक सय मिटर सडक पुरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी पुस्कर ऐरीले जानकारी दिनुभयो । महाकाली लोकमार्ग भन्दा माथील्लो क्षेत्रमा निर्माण गरिएको ग्रामीण सडकबाट पहिरो खस्दा सडक अवरुद्ध बनेको उहाँले बताउनुभयो । दार्चुला सदरमुकाम खलंगालाई तराईका जिल्ला तथा संघिय राजधानी जोड्ने एकमात्रै सडक अवरुद्ध हुदाँ लामो दुरीका लागि विहान छुटेका सवारीसाधन अलपत्र परेका छन् । सडक खुलाउन विहान देखि जेसिबि लगाइएको भएपनि तत्काल सडक खोल्न सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ । भदौ महिनाको सुरुदेखि महाकाली नगरपालिका ९ दत्तुमा पहिरो खस्दा महाकाली लोकमार्ग एक हप्ता सम्म अवरुद्ध बनेको थियो । विहिबार मात्रै दत्तुमा खोलिएको भएपनि शनिबार शैल्यशिखर ६ मा पहिरो खस्दा दार्चुला सदरमुकाममा खाद्यान्न, ग्यास लगायत दैनिक उपभोग्य सामान आयातामा समस्या भइरहेको छ ।