दार्चुला नपुग्दै किन भयो डिएसपी रिजालको सरुवा ?

2877

दार्चुला, फागुन २० गते ।
जिल्ला प्रहरी कार्यालय दार्चुलामा २१ दिनअघि सरुवा गरिएका डिएसपी भेषराज रिजाल जिल्ला नपुग्दै सरुवा भएका छन् । माघ २८ गते प्रहरी प्रधान कार्यालयले डिएसपी रिजाललाई दार्चुलाका लागि काज सरुवा गरेको थियो ।
दार्चुला सरुवा भएका डिएसपी रिजालले फागुन १३ गते मात्र सरुवाको रमाना बुझेका थिए । प्रहरी हेडक्वाटरले २१ दिनमा रिजालको ठाँउमा डिएसपी दिपेन्द्र शाहीलाई पठाउने निर्णय गरेको छ ।
फागुन १३ गते सरुवाको समाना बुझेका डिएसपी रिजाल ३ दिनको विदामा बसेको प्रहरी स्रोतले बतायो । फागुन १६ गते दार्चुला आउने भन्दै काठमाण्डौबाट धनगढी पुगेका रिजाल फागुन २१ र २२ गते धनगढीमा हुने सुरक्षा गोष्ठीमा सहभागी हुन त्यतै बसेका थिए ।
प्रहरी हेडक्वाटरले फागुन १९ गते दार्चुला प्रहरी प्रमुखमा डिएसपी दिपेन्द्र शाहीलाई सरुवा गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट शाहीको सरुवा गरिएको हो । यसअघि दार्चुलामा काज सरुवा गरिएका डिएसपी रिजालले दार्चुला आउन आनाकानी गरेको प्रहरी स्रोतले बतायो ।
काठमाण्डौमै दरबन्दी एक ठाँउमा र अर्को ठाँउमा काजमा रहेका डिएसपी रिजाललाई हेडक्वाटरले काजमै दार्चुला सरुवा गरेको थियो । काजमाथि काज सरुवा गरेको भन्दै डिएसपी रिजालले दार्चुला आउन नमानेको स्रोतले बतायो ।
“दार्चुला आउनका लागि धनगढी पुगेका बेला एक दुई दिनमै सरुवाको हुने खवर पाएपछि डिएसपी रिजाल दार्चुला नआएको” स्रोतको भनाई छ । दार्चुला काज सरुवापछिको बाटो म्याद समेत गुज्रिएपछि रिजालले ३ दिनको विदा लिएका थिए । “दार्चुला जानै परेमा फागुन २१ र २२ गतेको धनगढी सुरक्षा गोष्ठीमा सहभागी भएर जाने तयारी थियो उनको” स्रोतले भन्यो ।
दार्चुलाको प्रहरी प्रमुखमा सरुवा भएका डिएसपी रिजाल कार्यक्षेत्रमा नपुगेका बेला दुहुँ गाँउपालिकाको राताकाठामा फागुन १३ गते सडकमाथिबाट ढुंगा खसेर एकजनाको मृत्यु भएको छ भने फागुन १७ गते राताकाठामै जीप दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ ।
हाल दार्चुलाको निमित्त प्रहरी प्रमुख रहेका प्रहरी निरीक्षक रविन्द्र कठायतले यी घटनाहरुमा जिम्मेवारी निर्वाह गरेका छन् ।
आइतवार प्रहरी हेडक्वाटरले रिजालको काज सरुवा फिर्ता गरेपछि धनगढीको सुरक्षा गोष्ठीमा प्रहरी निरीक्षक हिक्मतवहादुर बोहरा सहभागी हुने भएका छन् । तालिमको क्रममा काठमाण्डौमा रहेका बोहरा तालिम सकेर जिल्ला फर्किने क्रममा थिए ।
महानगरीय प्रहरी वृत महाराजगञ्जमा दरबन्दी भएका डिएसपी रिजाल महानगरीय सशस्त्र प्रहरी गण नम्बर २ मा काजमा थिए । प्रहरी हेडक्वाटरले आइतवार उनको महानगरीय प्रहरी पहरा गण सामाखुशीमा सरुवा गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !