दार्चुला तिंकर सडकको राताकाठामा सडक सुधारिदै

0
3247

दार्चुला, माघ २० गते ।
दार्चुला तिंकर सडकअन्तर्गतको बहुचर्चित राताकाठा क्षेत्रमा सडक सुधारको कार्य थालिएको छ । दार्चुला तिंकर सडक योजनाले राताकाठा क्षेत्रको सडक सुधारलाई प्राथमिकता दिइ निर्माण कम्पनीमार्फत कार्य थालिएको जनाएको छ ।
दार्चुला तिंकर सडकको शुन्य किलोमिटरको विन्दु बीरेन्द्रवनदेखि तिमुरपाटासम्मको सडक स्तरोन्नतीका लागि डेढ वर्षअघि नै ठेक्का सम्झौता गरिएको योजनाले जनाएको छ । ठेक्का सम्झौता २०७४ जेठ १८ मा भए पनि राताकाठा क्षेत्रमा सडक सुधारको कार्य माघ पहिलो सातादेखि थालिएको योजना कार्यालयका सुचना अधिकारी एवं इन्जिनियर दिनेश रैखोलाले बताउनुभयो ।
खलंगाको वीरेन्द्रवनदेखि दुहुँ गाँउपालिकाको वडा नम्बर ३ स्थित तिमुरपाटासम्मको ७ किलोमिटर लामो सडकको स्तरोन्नती तथा सुधारका लागि २० महिनाअघि ठेक्का सम्झौता भएको अभिलेख छ । सडकको ट्रयाक खोलिएको यस क्षेत्रको सडकको चौडाइ, टेवापर्खाल र ग्रेडिङ मिलाउने कार्य गर्न ठेक्का गरिएको इन्जिनियर रैखोलाले जानकारी दिनुभयो । सडक किनाराका पानी तथा ढल निकासका लागि नालीको निर्माण पनि गरिन लागेको उहाँले बताउनुभयो । २०७६ मंसिर १७ गतेसम्म सडक सुधारको कार्य सम्पन्न गर्ने सम्झौता अवधि छ ।
राताकाठा क्षेत्रमा करिब ६ सय मिटर लामो कडा चट्टान छ । उक्त चट्टानी क्षेत्रमा सडकको चौडाइ बढाउन लागिएको छ । सडकको चौडाई ७ मिटर पुर्याइने दार्चुला तिंकर सडक योजनाले जनाएको छ । हाल ३ देखि ४ मिटर चौडा सडक बनेको छ ।
राताकाठा क्षेत्रको सडक सुधारलाई प्राथमिकता राखि काम भइरहेको इन्जिनियर रैखोलाको भनाई छ । राताकाठा क्षेत्रमा १४ हजार ६ सय ५८ घनमिटर चट्टान फोडेर सडक चौडा बनाउने डिजाइन इस्टिमेट गरिएको उहाँले बताउनुभयो ।
तिमुरपाटा क्षेत्रबाट सडक चौडा बनाउने कार्य थालिएको छ । सडक निर्माणको जिम्मा पाएको लामा–चन्द्रा एण्ड बसन्त जेभी कम्पनीका प्राविधिक मुकेश नाथले स्काइभेटर र कम्प्रेसर मेसिन प्रयोग गरी राताकाठामा सडक चौडा बनाउन लागिएको बताउनुभयो । तीन हप्ताअघि सुरु गरिएको सडक चौडा बनाउने कार्यमा विस्फोटक पदार्थ समेत प्रयोग भइरहेको छ ।
माघ ६ र माघ १३ गते गरी दुइपटक राताकाठा भीरमा विस्फोटक पदार्थ प्रयोग भएको सडक योजनाका इन्जिनियर दिनेश रैखोलाले बताउनुभयो । माघ ६ गते ३० किलोग्राम र १३ गते ७५ किलोग्राम जिलेटिक चट्टान फुटाउन प्रयोग भएको योजनाले जनाएको छ । दुबैपटक कम्प्रेसर मेसिनले तयार पारिएका एक÷एक सय प्वालमा जिलेटिन पडकाइएको हो ।
राताकाठा भीरमा कडा चट्टान भएकोले करिब एक दर्जन पटक जिलेटिन पडकाउनुपर्ने योजनाका इन्जिनियर रैखोलाको भनाई छ । राताकाठा क्षेत्रमा सडक सुधारको कार्य दुई महिनामा पूरा हुने उहाँले बताउनुभयो ।
राताकाठा क्षेत्रमा सडक सुधारको कार्य सुरु भए पनि निर्माण कार्य सुस्त गतिमा भइरहेको श्रीवगडका स्थानीय पसले देववहादुर बमले बताउनुभयो । सडक सुधारको कार्यले खलंगादेखि हिकिला र पिपलचौरीसम्मको यातायातमा असुविधा भएको ट्याक्टर व्यवसायी गजेन्द्रवहादुर बमको भनाई छ । केही समय यातायातको असुविधा भए पनि राताकाठा क्षेत्रको सडक सुधार गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो ।
राताकाठा क्षेत्रको सडकमा यातायात सञ्चालन गर्न जोखिम रहेको भन्दै स्थानीय प्रशासनले जीप सञ्चालनमा रोक लगाउदैआएको छ । प्रहरीको आखा छलेर भने जीप व्यवसायीले राताकाठा क्षेत्र भएर ब्रह्मदेव, धारी, हिकिला र पिपलचौरीसम्मको क्षेत्रमा यात्रु बोक्दैआएका छन् ।