दार्चुला अस्पतालको मुहार फेर्दै छन् यी ‘कलिला’ डाक्टर

0
1723

दार्चुला । डाक्टर गजेन्द्र दुवाल जिल्ला अस्पतालको प्रमुख भएर दार्चुला  पुग्दा त्यहाँ पुरानो भवन र केही स्वास्थ्यकर्मीबाहेक केही थिएन।उनी आफैं पनि वीरअस्पतालको जुनियर डाक्टरबाट एकैचोटी दार्चुलाको सिनियर डाक्टरमा फेरिनु परेको थियो।

उनी सरकारी जागिरको पहिलो नियुक्ति लिएर त्यहाँ पुगेका थिए। अछामको साँफेबगर नगरपालिका–६ घर भएका डाक्टर दुवाललाई दुर्गमका असुविधाको हेक्का भने सानैदेखि थियो।

स्कुल पढ्न पनि उनी डेढ घण्टाको उकालोओरालो हिँडेर जान्थे। मध्यम पारिवारिक अवस्थामा हुर्केका भएर दुवाल प्लस टु पढाइका लागि काठमाडौं जान पाएका थिए। पढाइमा पनि अब्बल भएकाले शिक्षा मन्त्रालयको छात्रवृत्तिमा डाक्टरी पढ्न नाम निकाले। २०६७ सालमा दुवालले मणिपाल कलेज पोखराबाट एमबीबीएस पढाइ सुरु गरेका थिए। २०७२ को भुकम्पका बेला उनी इन्टर्न डाक्टर बनिसकेका थिए।

छात्रवृत्तिमा पढेका डाक्टरले २ वर्ष सरकारी सेवामा काम नगरी हुन्न। उनले त्यो २ वर्षे करार जागिर अछामको बयलपाटा अस्पतालमा खाए। लोकसेवामा नाम निकालेर सरकारी डाक्टर हुने उनी अछामको दोस्रो व्यक्ति हुन्। सेवाको सुरुवातमा वीर अस्पतालको एनेस्थेसिया शाखामा ८ महिना उनले काम गरे । अर्को वर्ष असोजमा मन्त्रालयले उनलाई दार्चुला खटायो।

सेवा सुविधासम्पन्न अस्पतालबाट उनी एकैचोटी एउटा पुरानो भवन र केही स्वास्थ्यकर्मी भएको अस्पतालमा जानुपर्‍यो। वीर अस्पतालको एक जुनियर डाक्टरबाट उनी एकैचोटी दार्चुला अस्पतालको सिनियर डाक्टर बन्नुपर्‍यो।न कर्मचारी व्यवस्थापन थियो, न औषधी र उपकरणको प्रबन्ध। त्यहाँ त केवल सन्चो हुने उत्कट चाहना बोकेर टाढाटाढाका गाउँबाट कि त पैदल नभए स्ट्रेचरमा आउने बिरामी थिए।ती बिरामीका लागि उनले अस्पतालजस्तो अस्पताल बनाउने वाचा बोकेर आएका थिए। आखिर यस्तै दुर्गम भेगको गाउँमा हुर्केका जो थिए।

‘मलाई जे बनायो दुर्गमले बनायो। दुर्गमका मानिसहरूका पीडा मलाई थाहा छ। यहाँ काम गर्न पाउँदा मलाई राम्रो लागेको छ,’ उनले भने।वीर अस्पतालमा काम पाउँदा पनि उनलाई सुदूरपश्चिम जान पाएको भए हुन्थ्यो भन्ने लाग्थ्यो रे।उनी आएपछि दार्चुला अस्पतालको मुहारै फेरियो।

नयाँ अस्पताल उनी आएपछि बन्यो। यो नयाँ अस्पतालमा सुत्केरी कक्ष छ। अप्रेसन कक्ष छ। प्रयोगशाला छ।डिजिटिल एक्स रे सेवा सुरू भएको छ। चार बेडका एसएनसियुसमेत उनले स्थापना गराए। बालबालिकाको उपचार सुरू भयो। ‘पहिले ठूला ठाउँमा रेफर हुने बिमारीले अहिले जिल्लामै सेवा पाएका छन,’  उनले भने, ‘मलाई खुसी लागेको छ।’

एकातिर बाढीले बगाएको भवन फेरिएर अस्पताल बनेको देखेरै उनी दंग पर्छन्।

दार्चुला अस्पतालमा १५ बेड सञ्चालनको सरकारी स्वीकृती छ। बिमारीको चाप बढेसँगै अपग्रेड गरेर ३६ बेड सञ्चालन गरिरहेका छन्।

बेड संख्या त उनीहरूको कसरतमा बढाउन मिल्यो तर सरकारले तोकेको दरबन्दी यो अस्पतालमा कहिलै पूरा भएनन्। अहिले पनि दरबन्दी अनुसारको जनशक्ति छैन।

‘भवनमात्र भएर त अस्पताल हुन्न स्वास्थ्यकर्मी चाहिन्छ, यो अभाव यहाँको मुख्य चुनौती हो,’ उनले भने, ‘भएकै दरबन्दी पनि पर्याप्त थिएनन्। म आएपछि त्यसको व्यवस्थापन गर्ने योजना बनाएँ।’

बिकटमा त कर्मचारी नै आउन मान्दैनन्, लाखौं खर्च गरेर पढेका डाक्टर परको कूरा। कसरी डाक्टरहरूलाई यहाँसम्म ल्याउने भन्ने कुराले उनको दिमाग निकै दिन घुम्यो।

एकदिन उनले आफ्ना साथीलाई नै दार्चुला बोलाउने निधो गरे।

उनले फकाएपछि २ जना साथीहरू आए।’आफ्नै साथीभाइलाई भन्न मलाई सजिलो भयो,’ उनले भने, ‘मैले धेरै पनि फकाउनु परेन।’

अहिले दार्चुला अस्पतालमा ६ जना डाक्टरको टिम छ। तर डाक्टरसहित अन्य स्वास्थ्यकर्मीको ८० प्रतिशत दरबन्दी रिक्त छन्।’करारमा कर्मचारी राखेर काम गरेका छौं,’ उनले भने।

हाडजोर्नीको विज्ञ डाक्टर नभएकाले बिरामीलाई अन्तै पठाउनु पर्ने बाध्यता अझै छ।

उनीहरूको अस्पतालका सेवाहरू विस्तार हुँदा नहुँदै संसारमा कोरोना संक्रमणको कहरमा फस्यो। भारतमा आइपुगेको कोरोना संक्रमण सिमानाका हुँदै दार्चुला छिर्नेमा उनीहरू ढुक्कै थिए।

लकडाउनका कारणले पनि दार्चुलामा कोरोना संक्रमण ढिलोगरी छिरेको छ। बिहीबार कोरोना पुष्टि भएका महाकाली नगरपालिकाका २१ वर्षीय पुरूष अहिले दार्चुला अस्पतालको आइसोलेसनमा छन्।

भारतको मुम्बईबाट जेठ ८ गते धार्चुला नाका हुँदै दार्चुला आएका ती पुरूषले यहाँ राम्रै उपचार पाउनेछन्। किनभने डाक्टर दुवालको नेतृत्वमा कोरोना उपचारको पूरा तयारी छ। यो तयारीले १३ जना कोरोना संक्रमितलाई राम्ररी नै सेवा दिनेछ। उनीहरूले दार्चुला अस्पतालमा १३ बेडको आइसोलेसन बनाएका छन्।

‘हामीसँग केही थान पिपिई छन्, स्वाब संकलन गरिरहेकै छौं,’ उनले भने, ‘संक्रमितको संख्या बढ्यो भने धान्न गाह्रो होला नभए पहिलो चरणलाई खासै समस्या हुन्न कि भन्ने लाग्छ।’

कोरोना महामारीमा केही दिन बन्द भएका ओपिडीलगायतका सेवा उनीहरूले सुरू गरिसकेका छन्।

कोभिड-१९ का बिरामीका लागि भने उनले १४ स्वास्थ्यकर्मीको टीम तयारी अवस्थामा राखेका छन्।

दार्चुलाको महाकाली नगरपालिका मेयर हंशराज भट्टले दुवालले राम्ररी अस्पताल चलाएको बताए।

‘दुवालजी आएपछि अस्पताल रूप नै फेरिएको छ। उहाँले  व्यवस्थापनमा राम्रै  ध्यान दिनुभएको छ,’ उनले भने, ‘कोरोनाको उपचारका लागि पनि सकेको तयारी गर्नुभएको मैले देखेको छु। फार्मेसी सञ्चालक, सफाइकर्मीलगायत जनशक्तिको लागि पनि नगरपालिकाले अस्पताललाई सहयोग  गरेको छ।’

डाक्टर दुवालसँग दिनमा कम्तिमा दुईपटक  नागरिकको स्वास्थ्य अवस्थाका विषयमा के कस्तो छ र कसरी अगाडी बढ्ने भन्ने विषयमा कुरा हुने गरेको मेयर भट्टले बताए।

सेतोपाटीबाट साभार