दार्चुलामा सार्वजनिक मुद्दा बढे

0
827
जिल्ला प्रशासन कार्यालय दार्चुलाः फोटो कालापानी न्युज डटकम

दार्चुला, असार २६ गते ।
दार्चुलामा सार्वजनिक मुद्दाको संख्या बढेका छन् । तीन वर्षको अवधिमा मुद्दाको संख्या एक तिहाईले बढेको छ । चालु आर्थिक वर्षमा सार्वजनिक मुद्दाको संख्या २४ पुगेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
विगतमा केही सार्वजनिक अपराध ऐन २०२७ अनुसार चलाइने सार्वजनिक मुद्दा पछिल्लो समय मुलुकी अपराध संहित २०७४ बमोजिम चलाइन्छ । चालु वर्षको जेठ मसान्तसम्म सार्वजनिक मुद्दाको संख्या २४ पुगेको मुद्दा फाँटका नायव सुब्बा पदमराज भट्टले बताउनुभयो ।
गतवर्ष जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका सार्वजनिक मुद्दा संख्या १६ थिए । अघिल्लो वर्षबाट जिम्मेवारी सरिआएका मुद्दाको संख्या ६ रहेको नासु भट्टले बताउनुभयो । आर्थिक वर्ष २०७४÷७५ मा १५ वटा सार्वजनिक मुद्दा दार्चुलामा दर्ता भएको अभिलेख छ ।
चालु आर्थिक वर्ष प्रत्येक महिनामा मुद्दा दर्ता भएका छन् । २०७६ साउनमा २, भदौमा ४, असोजमा २, कार्तिकमा १, मंसिरमा ४ र पुषमा १ मुद्दा दर्ता गरिएका छन् । माघमा ४, फागुनमा १, चैत्रमा १, वैशाखमा १ र जेठमा ३ मुद्दा दर्ता भएको मुद्दा फाँटको अभिलेख छ । लकडाउनको समयमा पनि ५ नयाँ सार्वजनिक मुद्दा चलाइएको नासु पदमराज भट्टले जानकारी दिनुभयो ।
चालु वर्षको हालसम्म ७ मुद्दा फस्र्यौट गरिएका छन् । बाँकी १७ मुद्दा चलिरहेका छन् । असार महिनामा थप २ मुद्दा अनुसन्धान प्रक्रियामा रहेको प्रशासन कार्यालयको मुद्दा फाँटले जनाएको छ ।
स्थानीय प्रशासनले चलाएको अधिकांश मुद्दा अभद्र व्यवहार गर्न नहुने शीर्षकका छन् । यसअन्तर्गत सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर छन् । मुलुकी अपराध संहिता २०७४ को दफा ११८ मा यस सम्बन्धि व्यवस्था गरेको छ । दफा ११८ (१) मा कसुर सम्बन्धि व्यवस्था र दफा ११८ (२) मा सजाय सम्बन्धि व्यवस्था गरिएको नायव सुब्बा भट्टले बताउनुभयो ।
सार्वजनिक मुद्दामा दोषि ठहर भए १ वर्षसम्म कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुबै सजाय हुनसक्ने प्रावधान छ । सार्वजनिक मुद्दाको अनुसन्धान प्रहरीले गर्दछ भने प्रमुख जिल्ला अधिकारीलाई फैसला गर्ने अधिकार छ ।