दार्चुलामा सात अरब बजेट ल्याएः पूर्वमन्त्री ठगुन्ना

642

दार्चुला, फागुन २४ गते ।

नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री गणेश सिंह ठगुन्नाले आफु मन्त्री भएपछि दार्चुलाको विकासका लागि सात अरब बजेट विनियोजन गराएको बताएका छन् । मंगलवार दार्चुला सदरमुकाम खलंगामा आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य ठगुन्नाले आफुले गरेको प्रयास र प्राप्त उपलब्धिको विवरण समेत प्रस्तुत गरेका छन् ।

छोटो समयको कार्यकाल भए पनि आफुले मन्त्री भएको बेला जिल्लाको विकासका लागि महत्वपूर्ण योजनाहरुको थालनी गरेको नेता ठगुन्नाको दावी छ । दार्चुला–टिंकर सडकमा विगतको भन्दा ३ गुना बढी बजेट विनियोजन गराइएको, टिंकर सडक कालोपत्रेका लागि डिपिआर तयार गराएर ३ अरब ९७ करोड बजेट छुट्याइएको, गोकुलेश्वर विमानस्थलका लागि ५० करोड बजेट सुनिश्चिता गराइएको ठगुन्नाको भनाई छ ।

डेढ वर्षभित्र दार्चुला जिल्लाभरी विद्युतिकरण गरिसक्ने गरी ९५ करोड रुपैयाँको ठेक्का प्रक्रिया समेत अगाडि बढाइएको पूर्वमन्त्री ठगुन्नाले बताउनुभयो । आफुले २०७७ फागुनदेखि २०७८ वैशाखसम्म तीन महिनाको छोटो अवधिमा मन्त्रीको जिम्मेवारी पाउदा जिल्लाको विकास निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने योजना अघि बढाएको उहाँको भनाई छ ।

अत्याधुनिक भवन पूर्वाधार र उपकरणसहित ५० शैय्याको दार्चुला जिल्ला अस्पताल सञ्चालनमा आउने गरी योजना थालिएको पूर्वमन्त्री ठगुन्नाले बताउनुभयो । देशभरीमै सबैभन्दा बढी खानेपानीका योजना भएको जिल्ला दार्चुला रहेको बताउदै उहाँले यसका लागि आफुले पहल गरेको बताउनुभयो ।

आफु प्रतिनिधिसभामा निर्वाचित भएपछि दार्चुला जिल्लाभरी १८ वटा मोबाइल टावरहरु स्थापना गरिएको र सडक पूर्वाधारका लागि महत्वपूर्ण उपलब्धि हासिल गरिएको उहाँको भनाई छ ।

‘थप एक वर्ष मात्रै पनि केपी ओली नेतृत्वको सरकार टिकेको भए जिल्लाको विकास निर्माणमा कायापलट हुने गरी काम हुन्थ्यो’ पत्रकार सम्मेलनमा पूर्वमन्त्री ठगुन्नाले भन्नुभयो, ‘छोटो समय सरकारमा सहभागी हुँदा सोचे जति गर्न सकिएको छैन, तर जे कार्य गरिएका छन् ती महत्वपूर्ण छन् ।’

आफ्नो प्रयास र जिल्लाको विकास निर्माणमा भएको उपलब्धिप्रति उहाँले सन्तोषजनक अवस्था भएको बताउनुभयो । अहिलेको उपलब्धिप्रति आफु ४० प्रतिशत सन्तुष्ट रहेको एमाले नेता ठगुन्नाको भनाई छ । दार्चुलाको विकास निर्माणमा प्रतिस्पर्धा गर्न नेता ठगुन्नाले अन्य दल र नेताहरुलाई आग्रह गर्नुभएको छ । ‘पद र भूमिकामा भएका बेला १ अरबभन्दा माथिको कुनै पनि योजना थालनी गर्न’ उहाँले प्रतिस्पर्धीहरुलाई चुनौती दिनुभएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !