दार्चुलामा समातिएका पित्त ‘कालो भालुको’

0
3036

दार्चुला, भदौ १८ गते ।
असार २५ गते दार्चुला प्रहरीले बरामद गरेका आधा दर्जन पित्तहरु ‘कालो भालुको’ भएको पुष्टि भएको छ । डिभिजन वन कार्यालय दार्चुलाले विधिविज्ञान प्रयोगशालाको परीक्षणबाट ‘कालो भालुका पित्त भएको पुष्टिभएको’ जनाएको छ ।
दार्चुला प्रहरीले खलंगाको बंगाबगड क्षेत्रबाट दुईजनासहित आधा दर्जन भालुका पित्त समातेको थियो । बरामद गरिएका पित्तहरुको परीक्षणका लागि विधिविज्ञान प्रयोगशालामा पठाइएको थियो । ‘प्रयोगशालामा डिएनए परीक्षण गरिदा कालो भालुका पित्त पुष्टि भएको’ डिभिजन वन प्रमुख सञ्जय तिवारीले बताउनुभयो ।
कालो भालु हिमाली क्षेत्रमा पाइने दुर्लभ प्रजातिको जंगली जनावर हो । सन् १९७३ मा अमेरिकामा सम्पन्न संकटापन्न प्रजातीको अन्तर्राष्टिय व्यापार सम्बन्धि महासन्धिले कालोभालुलाई संकटापन्न वन्यजन्तुको सूचीमा राखेको छ ।
महासन्धिको नेपाल पक्षराष्ट्र भएपछि दुई वर्षअघि संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्टिय व्यापार नियन्त्रण ऐन निर्माण समेत गरिएको छ । दार्चुलामा बरामद भएका पित्तहरु कालोभालु भएको पुष्टि भएपछि नयाँ ऐनको प्रावधानअनुसार कानुनी कारवाही गर्ने तयारी भइरहेको डिभिजन वन प्रमुख तिवारीले बताउनुभयो ।
२०७४ वैशाख १० देखि कार्यान्वयनमा भएको संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्टिय व्यापार नियन्त्रण ऐनको प्रावधानअनुसार अदालतबाट दोषि ठहरिएमा अभियुक्तहरुलाई ५ देखि १५ वर्षसम्म जेल सजाय र ५ देखि १० लाख रुपैयाँ जरिवाना वा दुबै सजाय हुनसक्छ ।
दार्चुला प्रहरीले हुम्ला जिल्लाका रेकश शाही र व्यास गाँउपालिका वडा नम्बर ६ हुतीका धनसिह धामीलाई भालुका पित्तसहित पक्राउ गरेको थियो । अपिनाम्पा संरक्षण क्षेत्रबाटै कालोभालुको शिकारी भएको आशंका समेत गरिएको छ । ‘हामी अनुसन्धानको क्रममा छौ, कालोभालुको शिकार कुन ठाँउमा भएको भन्ने पुष्टि अहिले नै भइसकेको छैन’ डिभिजन वन प्रमुख सञ्जय तिवारीले भन्नुभयो ।
बरामदका गरिएका पित्तहरु ‘धेरै पुरानो नभएकाले नजिकैको क्षेत्रमा शिकार गरी ओसारपोसार हुन लागेको’ आशंका छ । गत जेठ, असार महिनामा व्यास गाँउपालिकाको वडा नम्बर १ व्यासको बुँदी, कुन्तिसाउ र अपि वनक्षेत्रमा भालुको आतंक समेत रहेको थियो । पछिल्लो समय त्यसक्षेत्रमा भालु नदेखिएको स्थानीयले बताएका छन् । अपिनाम्पा संरक्षण क्षेत्रमा पर्ने यसै वनक्षेत्रमा चोरीशिकार भएको आशंका पनि गरिएको छ ।
डिभिजन वन कार्यालय दार्चुलाले सहायक वन अधिकृत अमरसिह धामीलाई अनुसन्धान अधिकृत तोकेर मुद्दाको अनुसन्धान गरिरहेको छ । जिल्ला अदालतबाट ३ पटक गरी भदौ २० गतेसम्मको अनुसन्धान म्याद लिइएको छ । नयाँ ऐनको प्रावधान अनुसार जिल्ला अदालतमा यस सम्बन्धि मुद्दा दर्ता गरिनेछ ।