दार्चुलामा विद्यालय सञ्चालन गरिने

0
607
फाइल फोटो

दार्चुला, भाद्र २० गते ।
कोरोना महामारीका कारण लामो समय देखि बन्द रहेका दार्चुलाका विद्यालयहरु सञ्चालन गरिने भएका छन् ।

आईतबार बसेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठकले जनस्वास्थ्यका मापदण्डको पालना गरि पठन पाठनको सम्पुर्ण ब्यवस्था सम्बन्धित स्थानिय तह र विद्यालयले मिलाउने गरि विद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयबाट सार्वजनिक भएको स्मार्ट लकडाउन सम्बन्धि कार्यविधिको प्रवाधान भित्र रही लामो समय देखि बन्द रहेको पठनपाठन सुरु गरिने उहाँको भनाई छ । ‘विद्यालय सञ्चालन भएको अवस्थामा स्वास्थ्य सुरक्षाको मापदण्ड पालनाको सम्पुर्ण जिम्मेवारी विद्यालय र सम्बन्धित स्थानिय तहको हुने गरि विद्यालय सञ्चालन गर्ने निर्णय गरेका छौ’ प्रमुख जिल्ला अधिकारी जोशीले भन्नुभयो । दार्चुलाका ९ वटा स्थानिय तहहरु मध्ये ८ वटा स्थानिय तहहरुमा कोरोनाका संक्रमितहरु शुन्य रहेको र महाकाली नगरपालिकामा १३ जना सक्रिय संक्रमित रहेको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिनुभयो ।