दार्चुलामा लकडाउनको प्रभाव यस्ताे छ

0
1025

दार्चुला, असार २३ गते ।
चार महिनादेखि जारी लकडाउनले देशभरको जनजीवन प्रभावित बनेको छ । व्यक्तिको दैनिकीदेखि सार्वजनिक गतिविधिसम्म असर परेको छ । अन्तर्राष्ट्रिय सीमा समेत जोडिएको दार्चुला जिल्लामा लकडाउनको असर कस्तो परेको छ ? यसबारे लेखाजोखा गर्ने प्रयास गरिएको छ ।
अन्तर्राष्ट्रिय सीमानाका बन्द
दार्चुलाको भूगोलसंग आधा दर्जन भारतीय सीमानाका रहेका छन् । लाली, जोलजिवी, दत्तु, खलंगा, तिगरम र सितापुल नाका चैत्र ११ गते बन्द रहेका छन् । कोरोना संक्रमणको जोखिम भएकाले देशभित्रका साथै विदेशबाट समेत आवतजावतमा रोक लगाइएको छ । सबै नाकाहरु बन्द छन् । यसबीचमा खलंगाको नाका ७ पटक खुलेको छ र दत्तुको नाका एक पटक खुलेको छ । भारतमा रहेका नेपालीलाई स्वदेश फर्काउन दुई देशका प्रशासनबीचको समन्वयमा निश्चित समय (घण्टा)का लागि नाका खुल्ने गरेको छ ।
नाका बन्द भए पनि नेपाल र भारत दुबैतर्फ सीमानाकामा सुरक्षा उपस्थिति छ । वैशाख ३१ गते व्यासको छाङरुमा सशस्त्र प्रहरीको विओपी स्थापना भएपछि सितापुल नाकामा पनि नेपालतर्फ सुरक्षा उपस्थिति हुँदैआएको छ । अन्य नाकामा भने यसअघि देखि नै सुरक्षा उपस्थिति थियो ।
अत्यावश्यक सेवा सञ्चालन
लकडाउनको अवधिमा अत्यावश्यक सेवा नियमित रुपमा सञ्चालन हुँदैआएका छन् । एम्बुलेन्स, स्वास्थ्य, सञ्चार, विद्युत लगायतका सेवामा असर परेको छैन । आवश्यकता अनुसार नागरिकले आधारभूत सेवा पाइरहेका छन् ।
कोरोनाको परीक्षणका साथै अत्यावश्यक स्वास्थ्य सेवाको उपलब्धता र प्रवाह जिल्लाभरी सामान्य अवस्थामा छ ।
सार्वजनिक यातायात बन्द
जिल्लाभित्र र जिल्लाबाहिरसम्मको सार्वजनिक यातायात सेवा बन्द रहदैआएको छ । यद्यपि भारतबाट दार्चुलाको नाका भएर नेपाल भित्रिएका अन्य जिल्लाका नागरिकलाई सडक मार्गबाट पठाइएको छ । देशका अन्य जिल्ला र विदेशबाट घर फर्किएका नागरिकका लागि स्थानीय प्रशासनको अनुमतिमा सवारीसाधन प्रयोग गरिएका छन् ।
लकडाउन खुकुलो भएको पछिल्लो समयमा फाटफुट रुपमा सार्वजनिक यातायातका साधन (जीपहरु)ले यात्रु बोकिरहेका छन् ।
शैक्षिक संस्था ठप्प
लकडाउनका कारण जिल्लाभरीका सरकारी र नीजि शैक्षिक संस्थाहरु ठप्प भएका छन् । लकडाउनअघि नै अधिकांश विद्यालयले वार्षिक परीक्षा सञ्चालन गरिसकेका थिए । परीक्षाफल प्रकासित गर्ने कार्य पनि लकडाउनको बीचमै भएको छ । नयाँ शैक्षिकसत्र वैशाखबाटै सुरु भए पनि विद्यालय सञ्चालनका लागि सरकारले अनुमति दिएको छैन । यसबीचमा विद्यार्थीहरुलाई परीक्षाफल र पाठ्यपुस्तक उपलब्ध गराउने कार्य भएको छ । विद्यालयका शिक्षक र प्रशासनले अभिभावक तथा विद्यार्थीसंग सम्पर्क गरिरहेका छन् ।
कोरोनाको संक्रमण न्युन
महामारीको रुपमा विश्वभर फैलिएको कोरोनाको संक्रमण दार्चुलामा भने न्युन देखिएको छ । अहिलेसम्म २० जना कोरोना संक्रमणको पुष्टि भएकोमा सबैजना निको भइसकेका छन् । सुदूरपश्चिमका अन्य जिल्लाको तुलनामा दार्चुलामा कोरोना संक्रमण न्युन देखिएको छ । असार २२ गतेसम्मको तथ्यांकअनुसार छिमेकी जिल्ला बैतडीमा २ सय ८३ र बझाङमा १ सय ४१ संक्रमित संख्या रहेको छ ।
खाद्यान्न आपुर्ति पर्याप्त
लकडाउनको समयमा जिल्लाभरी खाद्यान्नको आपुर्ति सहज गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सुरुदेखि नै खाद्यान्न ढुवानीलाई प्राथमिकता दिएर गाडीहरुलाई पास उपलब्ध गराएको थियो । दार्चुलामा आवश्यकताभन्दा बढी खाद्यान्न भण्डारण भएको धेरैको बुझाइ छ । लकडाउन लम्बिने र ढुवानीमा विलम्ब हुने डरले खाद्यान्नको खरिद अत्यधिक गरिएको दार्चुला उद्योग वाणिज्य संघका सचिव सर्पराज बडूले बताउनुभयो ।
चामल, दाल, गहुँ लगायत सबै प्रकारको खाद्य पदार्थको उपलब्धता जिल्लाभरी पर्याप्त रहेको उहाँले बताउनुभयो । सदरमुकामका साथै ग्रामिण क्षेत्रमा पनि सडक सुविधाबाट खाद्यान्न ढुवानी गरिएको छ ।
तरकारी स्थानीय र फलफुल धनगढीबाट
लकडाउनले भारतीय नाका बन्द भएपछि दार्चुलामा तरकारी र फलफुलको अभाव हुने अनुमान थियो । तर दार्चुलाको ग्रामिण भेगमा उत्पादन गरिएको तरकारीले जिल्लाको माग सम्बोधन गरेको छ । आलु, टमाटर, प्याजका साथै हरियो सागपातको उपलब्धता र खपत सन्तुलित भएको खलंगाका तरकारी व्यवसायी मिनवहादुर धामीले बताउनुभयो ।
यातायात सुविधा विस्तार भएपछि सुन्सेरा, मार्मा र खण्डेश्वरी क्षेत्रको आलुले समेत बजार पाएको छ । गोकुलेश्वर र सदरमुकाम नजिकको क्षेत्रमा उत्पादन गरिएको तरकारीले बजार पाएको र सहज आपुर्ति भएको व्यवसायीहरु बताउँछन् । लकडाउन अवधिमा खलंगामा मात्रै आधा दर्जन तरकारी पसल थपिएको दार्चुला उद्योग वाणिज्य संघका पूर्व महासचिव विशनसिह बोहराले बताउनुभयो ।
केरा, स्याउ, अनार, अंगुर, आप लगायत सबै प्रकारका फलफुल धनगढीमा ढुवानी भइरहेका छन् । भारतबाट आयात हुने फलफुल र धनगढीमा ढुवानी भइरहेको फलफुलको मूल्यमा भिन्नता नरहेको व्यवसायी विष्णुदत्त भट्टले बताउनुभयो । भारतबाट आउने र धनगढीबाट आउने फलफुलको दररेट हाराहारी भए पनि तरकारीको मूल्य भने घटेको उहाँको भनाई छ ।
नेपाली सामानको उपभोग बढ्यो
लकडाउन अवधिमा नेपाली सामानको उपभोग बढेको छ । सबैजसो पसलहरुमा नेपाली उत्पादन सजाइएको छ । लामो अवधिसम्म भारतबाट सामान आयात नभएपछि नेपाली सामानको विक्री र उपभोग बढिरहेको खलंगाका किराना व्यवसायी कमलसिंह धामीको भनाई छ ।
दैनिक उपभोग्य सामानको आपुर्तिमा समस्या नभएको दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिंह ठगुन्नाले बताउनुभयो । खाद्य पदार्थका साथै दैनिक प्रयोगमा आउने सबैजसो सामानको सहज उपलब्धता छ । खाद्य पदार्थको मूल्य पनि स्थिर रहेको उहाँको भनाई छ ।
मसिनो चामल र चीनि भने उपभोक्ताले महंगोमा किन्नुपरेको छ । भारतबाट ल्याउदा २५ किलोग्रामको मसिनो चामल १५ सयमा उपलब्ध हुने गरेकोमा नेपालको मसिनो चामलको मुल्य १७÷१८ सय रहेको छ । मोटो चामल, दाल, खानेतेलको मुल्यमा भने केही फरक परेको छैन ।
भारतसंगको नाका खुलेको समयमा चीनिको मुल्य प्रतिकिलो ८० रहेकोमा हाल ९० रुपैयाँ छ । नेपालमै उत्पादित चीनि भएकोले ढुवानी भाडाका कारण केही महंगो भएको व्यवसायीहरु बताउँछन् । फास्टफुड र टफी, चकलेटहरुको उपभोगमा कमी आएको छ । वच्चाहरुले बढी उपभोग गर्ने फास्टफुड र चकलेटका प्रकारको आपुर्ति नभएपछि उपभोग मै कमी आएको हो ।
कुञ्चा सर्नमा कठिनाई
लकडाउनले सीमानाका बन्द हुँदा खलंगाबाट व्यास कुञ्चा सर्ने सौका समुदायले यसवर्ष निकै कठिनाई व्यहोर्नु पर्यो । नेपालतर्फ पैदलमार्ग सुचारु नभएको र भारतसंगको सीमानाका बन्द भएकोले व्यासक्षेत्रका स्थानीयलाई समस्या भयो । चैत्र–वैशाखमै सर्नुपर्ने व्यासको कुञ्चा जेठको पहिलो हप्तामात्रै खलंगाबाट सरेको छ ।
दुई देशका प्रशासनिकस्तरमा समन्वय गरिएपछि खलंगाको पुल र तम्बाकुक्षेत्रमा अस्थायी काठेपुल मार्फत व्यासको कुञ्चा सरेको छ । नेपालतर्फको पैदल बाटो खोल्न र सुचारु गर्न काम भइरहेको छ । नेपाली सेनाले घाटिबगर क्षेत्रमा साढे ४ सय मिटर चट्टान फुटाएर बाटो बनाउदै छ भने व्यास गाउँपालिकाले व्यास जोड्ने बाटो सञ्चालनका लागि उपभोक्ता समितिमार्फत काम गराउदैछ ।
सरकारी कार्यालय सञ्चालन, सेवाग्राही न्युन
सरकारले असार १ गतेदेखि सरकारी कार्यालय नियमित रुपमा सञ्चालन गर्न अनुमति दिएको छ । जिल्लास्थित सबैजसो सरकारी कार्यालय नियमित रुपमा खुलिरहेका छन् । आर्थिक वर्षको अन्तिम समय भएकाले आर्थिक कामकारवाही पनि भइरहेका छन् । तर कार्यालयमा सेवा लिन आउने नागरिकको संख्या अत्यन्तै कम छ । जरुरी कामले मात्रै नागरिक कार्यालयसम्म पुग्ने गरेका छन् ।
विकास निर्माण सुस्त
लकडाउनले जिल्लाभरीको विकास निर्माण प्रभावित बनेको छ । यद्यपि स्थानीय प्रशासनले दुई महिनाअघि नै विकास निर्माणलाई सहयोग पुग्ने गरी निर्माण सामग्री ढुवानीमा खुकुलो गरेको थियो । केही योजनाहरुका निर्माण सामग्री ढुवानी पनि भए । तर चालु वर्षको विकास निर्माण लकडाउनका कारण नराम्ररी प्रभावित बनेको छ ।
स्थानीय तहहरुबाट सञ्चालन भएका ससाना योजनाहरु निर्माण भए पनि ठूला विकास निर्माणका कार्यहरुले गति लिन पाएनन् । प्रदेश र संघीय सरकारका योजनाहरुको कार्यान्वयन र उपलब्धि निराशाजनक छ ।
विकास बजेट खर्च हुन सकेको छैन । संघ र प्रदेश सरकारले स्थानीय तहलाई उपलब्ध गराएको सशर्त अनुदान, विशेष र सम्पूरक अनुदानका बजेट र कार्यक्रम पनि यो वर्ष कार्यान्वयनमा आउन सकेनन् ।
यार्सागुम्बा संकलन प्रभावित
लकडाउनका कारण यो वर्ष यार्सागुम्बा संकलन प्रभावित बनेको छ । अपी नाम्पा संरक्षण क्षेत्रले यसपटक यार्सागुम्बा संकलन कार्य बन्द गरेको छ । कोरोना संक्रमणको जोखिम र सुरक्षा व्यवस्थापनका कारण यसपटक यार्सा संकलन हुन नसकेको अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले बताउनुभयो ।
संरक्षण क्षेत्रका अधिकांश वासिन्दाको जीविकोपार्जनमा यार्सागुम्बा संकलनले महत्वपूर्ण योगदान पुर्याउदै आएको छ । तर यसपटक यार्सागुम्बा संकलन हुन सकेको छैन । केही हिमाली क्षेत्रमा भने नजिकका स्थानीय लुकिछिपि यार्सा संकलन गरिरहेका स्थानीयको भनाई छ ।
ताक्लाकोटको व्यापार बन्द
लकडाउनमा चीनसंग जोडिएको तिंकर नाका पनि बन्द छ । नाका बन्द हुँदा यो पटक ताक्लाकोट पुगेर व्यापार व्यवसाय गर्ने नेपालीहरु प्रभावित बनेका छन् । व्यासक्षेत्रका दर्जनौ व्यवसायीले चीनको ताक्लाकोटमा व्यापार गर्दैआएका छन् । यसपटक भने कोरोनाका कारण सीमानाका सिल गरिएको व्यासको छाङरु निवासी व्यवसायी योगश सिंह बोहराले बताउनुभयो ।
पवित्र कैलाश मानसरोवर यात्राले ताक्लाकोटको व्यापार र महत्व बढ्दैआएको छ । यो वर्ष भने ताक्लाकोटको व्यापार खुल्ने सम्भावना नरहेको अर्का व्यवसायी भैरवसिंह ऐतवालले बताउनुभयो ।
कोरोनाको डर घट्दै
लकडाउनको सुरुवातीमा कोरोना संक्रमणको त्रास धेरै थियो । आवतजावत र भेटघाटमा निकै कडाइ गरिएको थियो । तर चार महिनापछि लकडाउन खुकुलो गरिएको छ । सार्वजनिक यातायात सञ्चालन नभए पनि अत्यावश्यक अवस्थामा सवारीसाधन सञ्चालन गर्न दिइएको छ । बजार खुलेको छ । किनमेल र भेटघाट बढिरहेको छ ।
अन्य जिल्लाको तुलनामा दार्चुलामा कोरोनाको संक्रमण कम देखिएपछि स्थानीयमा डर घट्दै छ । यद्यपि सतर्कता अपनाउन स्थानीय प्रशासन र स्वास्थ्य क्षेत्रले भन्दैआएको छ । कोरोना संक्रमणबारे व्यक्ति व्यक्तिले सचेत हुनुपर्ने स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टको भनाई छ । ‘एउटा व्यक्तिको हेलचक्र्याइले ठूलो नोक्सानी हुनसक्छ, त्यसैले सबैले सावधानी अपनाउनुको विकल्प छैन’ उहाँले भन्नुभयो । मास्कको प्रयोग र सरसफाईमा मापदण्ड अपनाउनु आवश्यक रहेको स्वास्थ्यकर्मीको भनाई छ ।
स्थानीय उत्पादन बढाउन र आत्मनिर्भर बन्नुपर्नेमा जोड
काम विशेषले घरपरिवार र गाउँभन्दा बाहिर रहेका आफन्तहरु लकडाउनको समयमा गाउँमा भित्रिएका छन् । सामान्य अवस्थामा रोजगारी वा अन्य सिलसिलामा टाढा बसे पनि संकटको बेला घरपरिवार र आफ्नै गाउँ समाज आवश्यक पर्दोरहेछ भन्ने सन्देश र बुझाइ सबैतिर फैलिएको छ । चैत्र–वैशाखमा खेतीपाती भित्र्याउने र जेठ–असारमा नयाँ खेती लगाउने समय भएकोले पनि घरपरिवार र गाउँघरमा भएको जमघट उपयोगी बनेको छ ।
परम्परागत कृषिखेतीलाई एकपटक सबैले सम्झिएका छन् । परम्परागत कृषिलाई अब आधुनिकीकरण र व्यावसायिक बनाउनुपर्छ भन्ने धेरैको बुझाइ छ । स्थानीयस्तरमै सम्भावना भएका व्यावसायिक क्षेत्रलाई पहिचान गर्नुपर्छ भन्ने आम बुझाइ बनेको छ । स्थानीयस्तरमा रोजगारीको श्रृजना, नयाँ उद्यम गर्ने, व्यावसायिक तरकारी खेती, पशुपालन, व्यापार व्यवसाय जस्ता कार्य गर्न धेरैलाई हौसला मिलेको छ ।
कोरोना संक्रमण र लकडाउनको परिस्थिति धेरैका लागि नयाँ काम थालनी गर्ने अवसरको रुपमा देखिएको छ । वर्षौदेखि खनजोत नभएका खेतहरुमा यसपटक रोपाइ लाग्दैछ, वृक्षारोपण हुँदैछ । केही त गर्नुपर्छ, खाली बस्नु हुँदैन, अब आफ्नै माटोमा व्यवसाय गर्नुपर्छ भन्ने चेतना फैलिरहेको छ ।
स्थानीय सरकारका साथै प्रदेश र संघीय सरकारले रोजगारीको सिर्जना र व्यावसायिकलाई मद्दत गर्नुपर्ने आवश्यकता महशुस भएको छ । स्थानीय उत्पादन बढाउनुपर्छ र आत्मनिर्भर बन्नुपर्छ भन्ने प्रष्ट सन्देश धेरैले ग्रहण गर्दैछन् । स्थानीय सम्भावनाका आधारमा उत्पादन बढाउने कार्यमा सहयोग र हातेमालो गर्नुपर्छ भन्ने महशुस मात्रै भएको छैन, आवाज पनि उठिरहेको छ ।