दार्चुलामा बाढी र पहिरोमा परि ५ जनाको ज्यान गयो, १० जना बेपत्ता

0
373

दार्चुला, भदौ २५ गते ।
दार्चुलामा बाढी र पहिरोमा परि पाँच जनाको ज्यान गएको छ भने दश जना बेपत्ता भएका छन् । शुक्रबार राती परेको अबिरल बर्षाका कारण महाकाली नदी र लास्कु खोलामा आएको बाढीमा परि पाँच जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी जगत मगरले जानकारी दिनुभयो । मृत्यु हुनेमा नौगाड गाउँपालिमा वडा नम्वर १ सल्लाका ३५ बर्षिय जानकी ठगुन्ना, १४ बर्षिय धनमती ठगुन्ना,नौगाड २ दल्लेखका मोहन राम पार्की,महाकाली नगरपालिका वडा नम्वर २ मैखोलीका नन्द राम बोहरा ,महाकाली नगरपालिका वडा नम्वर १ का मानमति कार्कीको बाढीमा परि ज्यान गएको हो । बाढीमा परि अझै दश जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा नौगाड गाउँपालिका वडा नम्वर १ का १५ वर्षिय महामरी ठगुन्ना,३५ वर्षिय चिमडी ठगुन्ना,नौगाड २ दल्लेखका ४० वर्षिय मनिराम लुहार,महाकाली नगरपालिका वडा नम्वर ४ का ४५ वर्षिय मोहन लुहार,सोही ठाउँकी ४० वर्षिय सरस्वती लुहार,महाकाली ३ डुङरीका ५५ वर्षिय धन सिंह कार्की उनका २० वर्षका जेठा छोरा दिपक कार्की, कान्छा छोरा १२ वर्षका दिनेश कार्की, र महाकाली नगरपालिका वडा नम्वर २ मुल्लाका ७५ वर्षिय मानमती साहु रहेका छन् । यस्तै गम्भीर घाइते भएका पाँच जनाको हेलिकेप्टर मार्फत उद्धार गरि जिल्ला अस्पताल दार्चुला ल्याइएको छ । नेपाली सेनाको हेलिकेप्टर मार्फत नौगाड गाउँपालिका वडा नम्वर १ सल्लाका ४५ वर्षिय बिरेन्द्र ठगुन्ना, ४० वर्षीय जयबहादुर ठगुन्ना, ३५ वर्षीय फागुनी ठगुन्ना, सोही ठाउँका ३० वर्र्षीया रम्भा देवी ठगुन्ना र ३० वर्षिय देव सिंह ठगुन्नालाई उद्दार गरी जिल्ला अस्पताल दार्चुला ल्याइएको प्रहरी निरीक्षक मगरले बताउनुभयो । घाइते मध्ये बिरेन्द्र ठगुन्नाको अवस्था गम्भीर छ । सल्लामा घर माथीबाट पहिरो खस्दा उनिहरु घाइते भएको बताइएको छ । बाढी पहिरोमा परी २ सय ६३ पशुचौपाया क्षति भएको प्रहरीको तथ्यांक छ । महाकाली नगरपालिकाका ६२ र नौगाड गाउँपालिकामा २९ गरी ९१ घरमा क्षति पुगेको छ । प्रहरी निरीक्षक मगरका अनुसार, ४२ घर पूर्ण क्षति भएको, ९ घर आशिंक क्षति भएको र ४० घर बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । सरकारी संरचनातर्फ दुर्गेश्वरी आबि पण्डोरा र दशरथ आवि बंगाबगर बगाएको छ । डुङरी विद्युत पावर हाउस पूर्ण रुपमा क्षति भएको छ । लास्कुखोलामा एउटा झोलुंगे पुल र एउटा मोटरेबल पुल बगाएको छ । नौगाडमा दुई वटा झोलुंगे पुल, दुई वटा आरसीसी पुल र दुई वटा घट्ट बगाएको छ । महाकाली नगरपालिका वडा नम्वर ३ मा रोकेर राखेका छ वटा जिप, एउटा ट्याक्टर, एउटा जेसिभि बगाएको छ । जोखिम क्षेत्रका मानिसहरूलाई सुरक्षित ठाउँमा सारिएको छ ।