दार्चुलामा प्रदेशको पूजीगत खर्च संघीयको भन्दा कम

0
198

दार्चुला, पुष २० गते ।
दार्चुलामा प्रदेश सरकारको पूँजीगत खर्च संघीय सरकारको बजेटभन्दा न्युन भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्म प्रदेश सरकारको पूँजीगत बजेट ४ दशमलव ५५ प्रतिशत मात्रै खर्च भएको छ ।
प्रदेश लेखा इकाई कार्यालयको जिम्मेवारी समेत निभाइरहेको कोष तथा लेखा नियन्त्रक कार्यालय दार्चुलाअनुसार पुष मसान्तसम्मको अवधिमा प्रदेश सरकारको ४ करोड २ लाख ४३ हजार ८ सय २२ रुपैयाँ ३३ पैसा पूजीगत बजेट खर्च भएको छ । यो अवधिमा संघीय सरकारको पूँजीगत बजेट खर्च भने १७ दशमलव ३० प्रतिशत रहेको छ ।
जिल्लास्थित एक दर्जन प्रदेश सरकारका निकायहरुमा पूँजीगत बजेट उपलब्ध गराइएको छ । चालु आर्थिक वर्षमा दार्चुलामा प्रदेश सरकारको ८८ करोड २७ लाख ९४ हजार २ सय रुपैयाँ पूँजीगत बजेट रहेको छ । खर्च भएको पूँजीगत बजेटमध्ये पुष महिनामा मात्रै आधा अर्थात २ करोड ५० लाख ५७ हजार ७ सय ९० रुपैयाँ खर्च भएको छ ।
बजेट निकासा, दशै–तिहार पर्व र निर्वाचनका कारण पूँजीगत बजेट खर्च न्युन रहेको कोष नियन्त्रक जगन्नाथ भट्टले बताउनुभयो । सबैभन्दा बढी पूजीगत बजेट खर्च गर्ने कार्यालय जलस्रोत तथा सिँचाई विकास डिभिजन रहेको छ । यस कार्यालयले ६ महिनाको अवधिमा १ करोड ७३ लाख ३० हजार ९ सय ५२ रुपैयाँ पूँजीगत बजेट खर्च गरेको छ । सिँचाईमा यो वर्ष ३७ करोड २७ लाख पूँजीगत बजेट रहेको छ ।
सामाजिक विकास कार्यालयले १ करोड १२ लाख ३९ हजार ४ सय ९० रुपैयाँ बजेट खर्च गरेको छ । सामाजिक विकास कार्यालयमा यो वर्ष ९ करोड ६७ लाख १० हजार पूँजीगत बजेट रहेको छ । कोलेनिका दार्चुलाका अनुसार भू तथा जलाधार व्यवस्थापन कार्यालयले २० लाख ६८ हजार ५ सय ७६ रुपैयाँ, डिभिजन वन कार्यालयले १७ लाख ३४ हजार ८ सय ६६ रुपैयाँ र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले १६ लाख ७६ हजार १ सय २० रुपैयाँ पूजीगत बजेट खर्च भएको छ ।
जिल्ला अस्पतालमा १६ लाख ३९ हजार ४ सय ५८ रुपैयाँ, जिल्ला प्रहरी कार्यालयले २४ लाख ४८ हजार २ सय ५४ रुपैयाँ ३३ पैसा र कृषि ज्ञान केन्द्रले ८ लाख ८४ हजार ८ सय रुपैयाँ विकास बजेट खर्च गरिएको छ । यसैगरी, स्वास्थ्य कार्यालयले ९ लाख ९५ हजार ३ सय ६० रुपैयाँ र घरेलु तथा साना उद्योग कार्यालयले २ लाख २६ हजार २६ रुपैयाँ पूजीगत बजेट खर्च भएको कोलेनिकाको तथ्यांक छ ।
जिल्ला प्रहरी कार्यालयमार्फत प्रदेश सरकारको बजेटमा व्यासको छाङरुमा प्रहरी चौकी भवन निर्माण भइरहेको छ । चालु आर्थिक वर्षमा प्रहरी चौकी भवन निर्माणका लागि ७० लाख रुपैयाँ बजेट रहेको छ ।