दार्चुलामा पिसिआर मेसिन खरिद गरिने

972

दार्चुला, असार २५ गते ।
दार्चुला जिल्लामा पिसिआर परीक्षण मेसिन खरिद गरिने भएको छ । असार २१ गते सम्पन्न चौथो जिल्लासभाले मेसिन खरिदबारे निर्णय गरेको जिल्ला समन्वय समितिले जनाएको छ ।
कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक आरटी पिसिआर मेसिन खरिद, ल्याव निर्माण, सञ्चालन, व्यवस्थापन र जनशक्ति व्यवस्थापन सम्बन्धि जिल्लासभाले निर्णय गरेको मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामीले बताउनुभयो । जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा १२ सदस्यीय कार्यक्रम निर्देशक समिति गठन गरिएको छ ।
निर्देशक समितिमा जिल्ला समन्वय समिति उपप्रमुख, दार्चुलाका नौवटै स्थानीय तहका प्रमुखहरु र जिल्ला समन्वय अधिकारी सदस्य छन् । निर्देशक समितिले मेसिन खरिद, ल्याव निर्माण, सञ्चालन, व्यवस्थापन र जनशक्ति व्यवस्थापनमा समन्वय र नेतृत्व गर्ने जिल्ला समन्वय अधिकारी मोहन सिंह धामीले बताउनुभयो ।
जिल्ला स्तरीय संकट व्यवस्थापन समिति र स्थानीय तहहरुबीच समन्वय गरी यथाशीघ्र पिसिआर मेसिन खरिद गर्ने निर्णय गरिएको छ । निर्देशक समितिले आवश्यकता अनुसार विषयगत उपसमिति तथा कार्यविधि बनाउने निर्णय पनि भएको छ ।
पिसिआर मेसिन खरिद तथा व्यवस्थापनमा जिल्ला समन्वय समितिबाट कुल खर्चको ४० प्रतिशत बजेट व्यहोर्ने र स्थानीय तहहरुले ६० प्रतिशत खर्च व्यहोर्ने सहमति भएको नौगाड गाउँपालिका अध्यक्ष प्रेम सिंह धामीले बताउनुभयो । दार्चुलामा पिसिआर मेसिन खरिद गरी सञ्चालनमा ल्याउन करिब ३ करोड रुपैयाँ खर्च हुने अनुमान छ ।
प्राविधिक अध्ययन र प्रतिवेदनबाट तयार हुने लागतलाई आधार मानेर खर्च व्यवस्थापन गरिने जिल्ला समन्वय अधिकारी मोहन सिंह धामीले बताउनुभयो । ‘सम्बन्धित क्षेत्रका विज्ञबाट अध्ययन गराई प्रतिवेदन तयार गरिने निर्णय भएको छ’ उहाँले भन्नुभयो ।
जिल्ला समन्वय समितिको जगेडा कोषबाट मोटामोटी १ करोड रुपैयाँ खर्च गर्नेबारे जिल्लासभामा छलफल भएको थियो । स्थानीय तहहरुले नयाँ बजेटमा पिसिआर मेसिन खरिद तथा ल्याव सञ्चालनको कार्यक्रम र बजेट समावेश गरिने पनि सहमति भएको छ । ‘असारभित्रै नयाँ बजेट आउन लागेकोले त्यसमा मेसिन खरिद र ल्याव सञ्चालनको विषय प्रवेश गराउन स्थानीय सरकार प्रमुखहरु सहमत भएका छन्’ जिल्ला समन्वय अधिकारी मोहन सिंह धामीले भन्नुभयो । जिल्लासभामा स्थानीय तहहरुको जनसंख्या र आयस्रोतका आधारमा खर्च व्यहोर्नेबारे छलफल भएको थियो ।
पिसिआर मेसिन खरिद तथा ल्याव सञ्चालनका लागि निर्देशक समितिलाई सक्रिय बनाइने छ । आरटि पिसिआर मेसिनबाट एक दर्जन अन्य भाइरसको परीक्षण समेत गर्न मिल्ने भएकाले सबै स्थानीय तहहरुको सहभागितामा मेसिन खरिद गर्न लागिएको मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !