दार्चुलामा पहिलो दिन ५० जनाले लगाए कोरोना विरुद्धको खोप

742

दार्चुला, माघ १४ गते ।  

दार्चुलामा पनि बुधवारबाट पहिलो चरणको कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको छ । पहिलो दिन दार्चुलामा ५० जनालाई खोप लगाईएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।

कोरोना संक्रमितको शब ब्यवस्थापनमा खटिएका ६ जना सुरक्षाकर्मी तथा ४४ जना स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई कोरोना विरुद्धको खोप लगाइएको उहाँले बताउनुभएको छ । पहिलो डोज खोप लगाउने ब्यक्तिहरुले २८ दिनपछि दोस्रो डोज खोप लगाउनुपर्ने सूचना अधिकारी कार्कीको भनाई छ । हाल दार्चुलामा १ हजार ३ सय ९० डोज आइपुगेको र यसबाट करिब १२ सय स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सरसफाईकर्मीहरुलाई लगाइने छ । २८ दिनपछि दोस्रो डोज खोप लगाउनका लागि भने दार्चुलामा खोप आइनसकेकोले सरकारले ब्यवस्थापन गर्ने उहाँको भनाई छ । बुधवारबाट सुरु भएको पहिलो चरणको कोरोना खोप अभियान आगामी आईतवार सम्म सञ्चालन गरिने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

स्वास्थ्य संस्थाको कामकाज प्रभावित नहुने गरि पालैपालो लगाउन अनुरोध

दार्चुला भरिका स्वास्थ्यकर्मीहरुलाई खोप लगाउने कार्यक्रम रहेकाले स्वास्थ्य संस्थाहरुको कामकाज प्रभावित नहुने गरि पालैपालो खोप लगाउन स्वास्थ्य कार्यालय दार्चुलाले अनुरोध गरेको छ । माघ १४ गते स्वास्थ्य कार्यालय दार्चुला, जिल्ला अस्पताल दार्चुला, कोरोना संक्रमितहरुको शब ब्यवस्थापनमा खटिने सु्रक्षाकर्मी तथा महाकाली नगरपालिकाका स्वास्थ्यकर्मीहरुलाई खोप लगाउने तालिका छ । माघ १५ र १६ गते ब्यास गाउँपालिका, दुहु गाउँपालिका, महाकाली नगरपालिका, नौगाड गाउँपालिका र मालिकार्जुन गाउँपालिकाका स्वास्थ्यकर्मीहरुलाई खोप लगाईनेछ । त्यसैगरि माघ १७ र १८ गते अपिहिमाल, मार्मा गाउँपालिका, शैल्यशिखर नगरपालिका र लेकम गाउँपालिकाका स्वास्थ्यकर्मी तथा सरसफाईकर्मीहरुलाई खोप लगाउने तालिका रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । तथापि तोकिएको बाहेक अन्य दिन उपस्थित भएमा समेत खोप लगाईने स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टको भनाई छ । खोप लगाउन आउनेहरुले साथमा परिचयपत्र समेत ल्याउनुपर्नेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !