दार्चुलामा पनि मनाइयो २९ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस

0
982

दार्चुला, मंसिर १८ गते ।
२९ औ अन्र्तराष्ट्रिय अपाङ्ग दिवस दार्चुलामा पनि मनाइएको छ । “कोभिड—१९ पश्चात उत्कृष्ट पुर्नआवागमन सुनिश्चितता, अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दीगो विकासका लागि हामी सबैको प्रतिवद्धता” भन्ने मुल नाराका साथ जिल्ला सदरमुकाम खलंगमा दिवस मनाइएको छ ।
अपाङ्ग संघ दार्चुलाका अध्यक्ष गणेश गिरीकोे अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्कीको प्रमुख अतिथि रहनुभएको थियो भने महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्ट एवं जिल्ला सरकारी वकिल लक्षण खनाल विशिष्ट अतिथि रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्कीले अपाङ्गहरुले मानसिक रुपमा सक्षम हुनुपर्ने बताएका छन् । हरेक अपाङ्ग भएका व्यक्ति शिक्षित हुनु जरुरी रहेको बताउदै शिक्षा आर्जन गर्न कुनै कसर बाकी नराख्नु पर्ने उहाँको भनाई छ । कार्यक्रममा बोल्दै महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले अब बन्ने भौतिक संरचना अपाङ्गमैत्री बनाइने बताएका छन् ।
दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी दार्चुला शाखा र स्वास्थ्य कार्यालय दार्चुलाको आर्थिक सहयोगमा अपाङ्गता भएका ३५ जनालाई न्यानो कम्बल वितरण गरिएको दार्चुला अपाङ्ग संघका अध्यक्ष गणेश गिरीले बताउनुभयो ।
दिवसमा जिल्लामा रहेका अपाङ्गता भएका बालबालिकाहरुका लागि समाबेशी विद्यालय स्थापनाका लागि जिल्ला समन्वय समिति, शिक्षा विकास तथा समन्वय ईकाई र जिल्लाका स्थानीय तहलाई पत्राचार गर्ने निर्णय भएको छ । जिल्ला अपाङ्ग संघको कार्यालय सञ्चालनका लागि स्थायी रुपमा भवन निर्माण नभएसम्मका लागि कार्यालय सञ्चालनका लागि कोठा उपलब्ध गराइदिन महाकाली नगरपालिकालाई अनुरोध गर्ने तथा जिल्लामा रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई आवत् जावत् गर्न तथा यात्रा गर्दा सार्वजनिक सवारी साधनमा नेपाल सरकारले तोकेको मापदण्ड अनुसारका आरक्षित सिटहरुमा आपङ्गता भएका व्यक्तिहरुलाई मात्र बस्ने व्यवस्था कडाईका साथ लागु गराउन अनुरोध गर्ने निर्णय गरिएको अध्यक्ष गिरीले जानकारी दिनुभयो ।