दार्चुलामा पनि भित्र्याइयो फूलपाती

0
411

दार्चुला,असोज १६ गते ।
दार्चुलामा सुरक्षाकर्मीहरुले आइतबार (आज) बिहान हर्ष बढाइँका साथ फूलपाती भित्र्याएका छन् । सदरमुकामस्थित नेपाली सेना, सशस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुसहितका सुरक्षाकर्मीहरुको टोलीले मोहतीस्थित भगवती शक्तिपीठबाट खलंगा बजार हुँदै आर्मी व्यारेकभित्र फूलपाती भित्र्याएका हुन् । फुलपाती लिन सेना, प्रहरी र सशस्त्र प्रहरीका साथै स्थानीय बाजागाजा र दलबलसहित बाक्लो उपस्थिति थियो । त्यहाँ पुगेको टोलीले पूजा आराधनापश्चात फूलपाती लगेर गुरु गोरख गुल्मको आर्मी व्यारेकस्थित दसैंघरमा भित्र्याइएको हो । फूलपाती भित्र्याउने कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू,राजनीतिक दलका नेता कार्यकर्ता,संघसंस्था र कार्यालय प्रमुखसँगै नागरिक समाजका प्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । दार्चुलाका अधिकाशं शक्तिपीठमा घटस्थापनाको दिन देखिनै नवरात्रा बसेर सामुहिक जमरा राखिएको छ । मन्दिरहरुमा उमारेको जमरा गाउँभरी वितरण गरेर बडादशैंको दिन लगाउने गरिन्छ । कुनै कुनै गाउँमा भने घरमै जमरा राख्ने चलन पनि रहेको छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइने चलन छ । देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता पनि छ । फूलपाती भित्र्याएपछि नौदेवीको विधिपूर्वक पूजाराधना गरिन्छ । ‘नवपत्रिका’ पनि भनिने फूलपाती नौंवटी देवीको प्रतीकका रूपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि छ ।