दार्चुलामा पनि चुनावको तयारी सुरु, मतदाता नामावली अद्यावधिक गरिदै

0
1169

८४ हजार भन्दा बढी मतदाताका लागि १ सय ३५ मतदान केन्द्र

बिरा दत्त भट्ट
दार्चुला, माघ ११ गते । प्रधानमन्त्री केपी शर्मा ओली गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचन घोषणा गरेपछि जिल्ला निर्वाचन कार्यालय दार्चुलामा पनि चुनावको तयारीमा जुटेको छ । मध्यावधि चुनावका लागि २०७८ बैशाख १७ र २७ गते मिति तोकिए अनुसार दार्चुलामा पनि चुनावको तयारी भइरहेको निर्वाचन कार्यालय दार्चुलाका प्रमुख प्रदिप सिह धामीले जानकारी दिनुभयो ।
माघ १५ गते देखि २१ गते सम्म निर्वाचन आयोगले देशैभर मतदाता नामावली अद्यावधिक गर्ने तयारि गरेअनुरुप दार्चुलामा पनि मतदाता नामावली अद्यावधिक कार्यक्रम गरिने उहाँले जानकारी दिनुभयो ।
मतदाता नामावली अद्यावधिकका लागि दार्चुला जिल्लाका नौ वटै स्थानियतहहरुमा सहायक नाम दर्ता अधिकारी तोकिएकाले मतदाता नामावली अद्यावधिक तथा दाबि विरोध गर्न जिल्ला निर्वाचन कार्यालय दार्चुलाले सबैमा अनुरोध गरेको छ ।
मतदाता नामावली अद्यावधिकका लागि नौ वटै स्थानिय तहहरुलाई कर्मचारी मध्येबाट एउटा–एउटा सहायक नामदर्ता अधिकारी छनोट गरि पठाउन मापदण्ड पठाए अनुरुप छनोट गरिएको निर्वाचन कार्यालय दार्चुला प्रमुख धामीले जानकारी दिनुभयो ।
मालिकार्जुन गाउँपालिकामा लोक राज ओझा, शैल्यशिखर नगरपालिकामा पुस्कर सिह धामी, नौगाड गाउँपालिकामा मदन सिह ठगुन्ना, लेकम गाउँपालिकामा अभैराज अवस्थी, महाकाली नगरपालिकामा माधव प्रसाद भट्ट, अपिहिमाल गाउँपालिकामा नवराज कलौनी, दुहु गाउँपालिकामा राम सिह धामी, ब्यास गाउँपालिकामा ज्ञान सिह कुवँर र मार्मा गाउँपालिकामा अकबर सिह धामीलाई नाम दर्ता अधिकारी तोकिएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । मतदाता नामावली अद्यावधिक बारे नौ वटै स्थानिय तहका सहायक नाम दाता अधिकारीहरुलाई आईतबार तालिम समेत दिइएको छ ।
सम्बन्धीत स्थानिय तहका सहायक नामदाता अधिकारीहरुले माघ १५ गते मतदाता नामावली प्रकाशन गर्नेछन् भने १६ गते देखि १८ गते सम्म मतदाता नामावलीमा मृत्यु भएका मतदाताको नामावली हटाउने, दोहोरो नामावली सच्याउने तथा कसैले झुटो विवरण दिई नाम समाबेश गरेको भए सो को विरोधमा उजुरी गर्ने कार्य गरिनेछ ।

साथै १९ गते उजुरी परेका मतदातालाई सफाईको मौका दिईनेछ । २१ गते भित्र साहयक नामदाता अधिकारीले अद्यावधि सम्बन्धि सम्पुर्ण कामहरु सम्पन्न गरि अद्यावधिकमा प्रयोग भएका सबै कागजात जिल्ला निर्वाचन कार्यालयमा पठाई सक्नुपर्ने तथा फागुन २ गते भित्र सम्पुर्ण नामावली निर्वाचन आयोगमा पठाउनुपर्ने कार्यतालिका रहेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका प्रमुख धामीले जानकारी दिनुभयो ।

१ सय ३५ मतदान केन्द्र

मतदानका लागि दार्चुला जिल्ला भरि १ सय ३५ मतदान केन्द्र बनाउने तयारी भएको निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । कुल ८४ हजार ३ सय ९१ मतदाता रहेको दार्चुलामा मतदान स्थलको भने टुङ्गो लाग्न बाकि रहेको कार्यालय प्रमुख प्रदिप सिह धामीको भनाई छ । २०७४ को चुनावमा दार्चुलामा ७८ हजार ५ सय १३ मतदाता रहेका थिए भने १ सय २९ मतदान केन्द्रबाट निर्वाचन सम्पन्न गरिएको थियो ।
एक हजार भन्दा बढी मतदाता भए नयाँ मतदान केन्द्र बनाउन सकिने भएकाले यस पटकको चुनावमा ६ वटा मतदान केन्द्र थप गर्ने तयारी गरिएको कार्यालय प्रमुख धामीको भनाई छ । गत चुवानमा अधिकाशं विद्यालयमा मतदान केन्द्र बनाइएकोले भवन जिर्ण भएका अन्य अवस्थामा रहेका मतदान केन्द्रहरुको विवरण समेत अद्यावधिक भइरहेको उहाँले जानकारी दिनुभयो ।
नयाँ निर्वाचन घोषणा भएको मिति देखि नयाँ मतदाता नामावली संकलन नगरिने भएकाले पुस ५ गते देखि नयाँ मतदाता नामावली स्थगित गरिएको प्रमुख धामीले बताउनुभयो ।