दार्चुलामा दुई घण्टामै क्षयरोगको कीटाणु पत्ता लगाउने ‘जिन एक्सपर्ट’ मेसिन भित्रियो

0
333

दार्चुला,असोज ०४ गते ।
जिल्ला अस्पताल दार्चुलामा दुई घण्टामै क्षयरोगको कीटाणु पत्ता लगाउने अत्याधुनिक ‘जिन एक्सपर्ट’ मेसिन भित्रिएको छ । जिल्ला अस्पताल दार्चुलामा जिन एक्सपर्ट मेसिन भित्रिए संगै मंगलबारबाट सेवा सुचारु भएको छ । जिन एक्सपर्ट मेसिनको महाकाली नगरपालिकाका नगरप्रमुख नरसिंह चैसिरले एक औपचारिक कार्यक्रमका बिच रिबन काटेर उद्धघाटन गरेका हुन् । क्षयरोगका अति शंकास्पद बिरामीहरुलाई निशुल्क सेवा प्रदान गर्ने उद्येश्यले जिल्लामा पहिलो पटक मेसिन संचालनमा आएको हो । क्षयरोगका विरामीको चाप बढ्नुका साथै माईक्रोस्कोपिक खकार परिक्षणबाट खकारमा क्षयरोगका किटाणु नदेखिँदा धेरैलाई सर्न सक्ने सम्भावना भएकोले जेन एक्सपर्ट मेशिनको माध्यमबाट लुकेर रहेको क्षयरोग पनि देखिने हुँदा अस्पतालमा मेशिन राखिएको जिल्ला अस्पताल दार्चुलाका ल्याव कर्मचारी दिपक विष्टले बताउनु भयो । राष्ट्रिय क्षयरोग निवारण केन्द्रका टेक्नीसियन इश्वरी प्रसाद भुसालका अनुसार जिन एक्सपर्ट क्षयरोग निदानमा सबभन्दा नयाँ प्रविधि रहेको बताउनुभयो । क्षयरोग शंका लागेका व्यक्तिहरुको माइक्रोस्कोपी विधिबाट परिक्षण गर्दा प्रति एक सय जनामा ५०÷६० जनामा मात्रै पत्तो लाग्ने गरकोमा जिन एक्सपर्ट मेसिनबाट परिक्षण गर्दा एक सयमा ९०÷९६ जनामा देखिने गरेका छन् । खकार संकलन गरी मेसिनमा राखेको २ घण्टामै क्षयरोग भए नभएको पत्ता लगाउने जनाएको छ । जिन एक्सपर्ट मेसिन भित्र्याउनमा महाकाली नगरपालिकाले आर्थिक सहयोग गरेको जनाएको छ । उद्घाटन कार्यक्रममा बोल्दै महाकाली नगरप्रमुख नरसिंह चैसिरले भने जिल्ला अस्पताल दार्चुलाको भौतिक र आर्थिक व्यवस्थापनमा नगरपालिकाले गर्न सक्ने सहयोगमा सदैव तयार रहेको बताउनुभयो । स्वास्थ्य क्षेत्रको विकासमा जुनसुकै कदम चाल्न नगरपालिका पछि नपर्ने नगरप्रमुख चैसिरको भनाई छ । त्यस्तै उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला अस्पताल दार्चुलाका व्यवस्थापन समिति अध्यक्ष दिपकराज जोशीले भने निशुल्क रुपमा जिल्लामै विश्वसनिय तरिकाले क्षयरोगको परिक्षण गर्नमा सहयोग गर्ने सवैलाई धन्यबाद ज्ञापन गरेका छन् । स्वास्थ्य क्षेत्रका थुप्रै उपकरणको व्यवस्थापनको लागि माग गर्न कुनै कन्जुस्याई नहुने भएता पनि भौतिक पुर्वाधारको समस्याले माग गर्न पनि समस्या भएको बताउनुभयो । पुराना सबै भवन भत्काउनु पर्ने र नयाँ निमार्ण गर्नु पर्ने भएकोले तत्काल नयाँ उपकरणको माग गर्न निकै कठनाई हुने उहाँले बताउनुभयो । जेन एक्सपर्ट मेशिन अत्याधिक महँगो मेशिन भएको र एउटा टेष्ट गर्नको लागि करिव १ हजार ७ सय रुपैयाँ खर्च आउने भए पनि विरामीको लागि निःशुल्क भएको हुँदा यसको सही तरिकाले प्रयोग गर्न आग्रह गरेका छन् । उद्घाटन कार्यक्रममा जिल्ला अस्पताल दार्चुलाका डाक्टर आदर्श लिम्बु,स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्ट लगायतको उपस्थिति रहेको थियो ।