दार्चुलामा तीन उम्मेदवारका शून्य मत, स्वतन्त्र उम्मेदवार कसैले जित हासिल गरेनन् 

0
676

दार्चुला, जेठ ९ गते । 


दार्चुलामा तीन पदका उम्मेदवारहरुले शुन्य मत प्राप्त गरेका छन् । शैल्यशिखर नगरपालिका वडा नं ४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडाध्यक्षका लागि उम्मेदवारी दिएका विस्ने बोहराले शुन्य मत ल्याएका छन् ।

त्यसैगरी लेकम गाउँपालिका वडा नम्बर ५ मा वडा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका प्रेम सिह बोहरा र अपीहिमाल गाउँपालिका वडा नम्बर २ मा वडा महिला सदस्यका लागि उम्मेदवारी दिएका नेकपा एकीकृत समाजबादीका उम्मेदवार भुरी धामीले शून्य मत  ल्याएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । 

स्वतन्त्र कोही पनि विजयी भएनन् 

देशको संघीय राजधानी काठमाण्डु र सुदूरपश्चिम प्रदेशको राजधानीमा स्वतन्त्र उम्मेदवारको चर्चा रहेका बेला दार्चुलामा स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका कुनै पनि उम्मेदवारले जित हासिल गर्न सकेका छैनन् । काठमाण्डौमा स्वतन्त्र उम्मेदवार बालेन शाह जितको नजिक पुगेका छन् भने सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले जित हासिल गरेका छन् । तर दार्चुलामा स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरु कुनै शुन्य मतमा सीमित छन् भने कसैले केही मत ल्याएपनि जित हासिल गर्न सकेका छैनन् ।
दार्चुलाको अपीहिमाल गाउँपालिकामा गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका मधु सिह ठकुरीले १ मत ल्याएकी छिन् भने वडा नम्बर २ मा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका दमन सिह कार्कीले पनि १ मतमा सीमित छन् ।
त्यसैगरी व्यास गाउँपालिकामा गाउँपालिका अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिएका प्रेम सिह विष्टले ५ मत मात्रै हासिल गर्न सके भने वडा नं ६ मा वडाध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिएका केशव दत्त बडुले ६५ मत ल्याएका छन् ।
दार्चुला सदरमुकाम क्षेत्र पर्ने महाकाल नगरपालिकामा पनि स्वतन्त्र उम्मेदवारहरुले अपेक्षित मत ल्याउन सकेका छैनन् । महाकाली नगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका तारा दत्त भट्टले ३ मत हासिल गरेका छन् भने मार्मा गाउँपालिकामा अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका प्रेम प्रकाश जोशीले ११ मत हासिल गरेका छन् ।
मार्मा गाउँपालिकामा उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएकी कमला विष्टले ३ सय ६५ मत ल्याएपनि जित हासिल गर्न सकिनन् । उनका प्रतिद्वन्दी नेपाली काङ्ग्रेसबाट उपाध्यक्ष पदकी उम्मेदवार शर्मीला कुमारी चन्द सिहले ३ हजार ८८ मत ल्याएर विजयी भएकी छिन् ।
त्यसैगरी मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ मा स्वतन्त्र उम्मेदवारी दिएका लोक राज पन्तले ७८ मत हासिल गरेका छन् जबकी उनका प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका वडाध्यक्ष पदका उम्मेदवार केशर सिह धामीले ५ सय ८९ मत हासिल गरेर विजयी भएका छन् । वडा नं ८ कै खुला सदस्य पदमा स्वतन्त्र उम्मेदवार देब दत्त पन्तले ३६ मत मात्रै हासिल गरेका छन् ।
त्यसैगरी लेकम गाउँपालिका वडा नम्बर ४ को वडाध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिएका मदन सिह धामीले १ सय ७० मत प्राप्त गरेका छन् । भने खुला सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका जसवन्त सिह ठगुन्नाले १ सय ५० मत र गोपाल गिरिले १ सय ४८ मत हासिल गरेका छन् । वडाको महिला सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएकी पशुपति गिरिले १ सय ६७ मत प्राप्त गरेकी छिन् भने दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएकी धाना कामीले १ सय ६४ मत प्राप्त गरेकी छिन् ।
त्यसैगरि लेकम गाउँपालिका वडा नम्बर ५ मा वडाध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिएका दयाकृष्ण विष्टले १ सय २४ मत प्राप्त गरेका छन् भने खुला सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका प्रेम सिह बोहराले एउटा मत पनि ल्याउन सकेका छैनन् ।
त्यसैगरि शैल्यशिखर नगरपालिकाको वडा नं ९ मा वडा अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिएका विष्णुराज लेखकले ५ मत मात्रै ल्याउन सकेका छन् । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार प्रजापति पाण्डेयले ८ सय ७४ मत प्राप्त गरि जित हासिल गरेका छन् ।