दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

521

दार्चुला,असोज ०६ गते ।
दार्चुलाको मार्मा गाउँपालिकाबाट अपिहिमाल गाउँपालिका वडा नम्बर ५ मकरीगाड जादै गरेको जीप गोगुनपानीमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान भएको छ । ज्यान गुमाउनेमा अपिहिमाल गाउँपालिका वडा नम्बर ६ बस्ने १८ वर्षीय दिनेश सिंह धामी रहेको प्रहरीले जनाएको छ । गाडीमा जम्मा ५ जना रहेको र उकालोमा ब्रेकफेल हुदा ४ जनाले हाम फालेर ज्यान जोगाएका छन् । हाम फाल्न नसकेर जीप संगै भिरमा खसेका एक जनाको घटनास्थलमै ज्यान भएको र चार जना सकुशल रहेको अपिहिमाल गाउँपालिका वडा नम्वर ५ का वडा अध्यक्ष राजेन्द्र सिंह धामीले जानकारी दिनु भयो । म १ ज २३३ नम्बरको बोलेरो जीप लटिनाथ बाट मकरिगाड जाँदै गर्दा अपिहिमाल गाउँपालिका वडा नम्बर ५ गोगुनपानी भन्ने ठाउँमा दुर्घटना भएको थियो । घटनास्थलमा इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी टोली खटिएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाले भने मृत्युबारे पुष्टि हुन बाँकी रहेको जनाएको छ । सो क्षेत्रमा राम्रोसंग सञ्चार सम्पर्क समेत नहुने भएकोले पूर्ण जानकारी प्राप्त गर्न ढिलाइ भइरहेको छ । घटना स्थलमा जनप्रतिनिधि, स्थानीय र प्रहरीको टोलीले उद्धार गरेको बताइएको छ । जीप सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !