दार्चुलामा जनगणना कार्यालय स्थापना

0
1695

दार्चुला, चैत्र ५ गते ।
राष्ट्रिय जनगणना २०७८ का लागि दार्चुलामा जनगणना कार्यालयको स्थापना गरिएको छ । स्थलगत तथ्याङ्क संकलन गर्ने प्रयोजनका लागि तथ्याङ्क कार्यालय दार्चुलाले राष्ट्रिय जनगणनामा काम गर्ने भएकाले कार्यालयको स्थापना गरिएको तथ्याङ्क अधिकृत पदमराज पाण्डेले जानकारी दिनुभयो ।

चैत्र १ गते देखि कार्यालयको स्थापना गरि जनगणना सम्बन्धी कामकाजहरु भइरहेको उहाँले बताउनुभयो । तथ्याङ्क कार्यालयकै कर्मचारीहरुले जनगणना कार्यालयमा पनि काम गरिरहेका छन् ।
दार्चुलामा दुई चरणमा जनगणना गर्ने तयारी भइरहेको छ । पहिलो चरणमा २०७८ बैशाख २५ गते देखि जेठ १५ गते सम्म सुपरिबेक्षकले लगत सुचिकरण गर्ने, घरपरिवार सुचिकरण गर्नेछन् । दोस्रो चरणमा जेठ २५ गते देखि असार ८ गते सम्म गणकले घर–घरमा गएर तथ्याङ्क संकलन गर्ने तथ्याङ्क अधिकृत पाण्डेले जानकारी दिनुभयो ।
दार्चुलामा राष्ट्रिय जनगणनाका लागि १ सय ९० जना गणक तथा ६१ जना सुपरिबेक्षक खटाइने छ । जनगणनाका लागि बैशाख १ गते देखि मालिकार्जुन गाउँपालिकाको शंकरपुर पस्ती र शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा स्थानिय जनगणना कार्यालयको स्थापना गरिनेछ । स्थानिय जनगणना कार्यालयमा इकालाका जनगणना अधिकारी सहित तीन जनाको कर्मचारी जनशक्ती ब्यवस्थापन गरिने उहाँले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला जनगणना समितिको गठन गर्ने तयारी पनि भइरहेको उहाँको भनाई छ । मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औं जनगणना, २०७८ देशभर सञ्चालन हुँदैछ । सुपरीवेक्षकका लागि स्नातक र गणकका लागि १२ कक्षा उत्तीर्णले आवेदन दिन पाउनेछन् । अनलाइनमार्फत नभरेकाले चैत ११ गतेसम्म कार्यालयमा गएर आवेदन दिन सक्नेछन् ।