दार्चुलामा कोरोना संक्रमितको संख्या १९

0
741

दार्चुला, असार १३ गते ।
दार्चुलामा कोरोना संक्रमितको संख्या १९ पुगेको छ । शैल्यशिखर नगरपालिकामा ३ जना र दुहुँ गाउँपालिकाका १ जना संक्रमित बढेका छन् । जेठ १७ गते स्वाब संकलन गरिएका व्यक्तिहरुमध्ये ४ जनाको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
स्वास्थ्य कार्यालयले शुक्रवार साँझसम्म दार्चुला जिल्लाभरी १५ जनामा कोरोना संक्रमणको औपचारिक जानकारी दिएको छ । थपिएका चारजनाको विवरण आजभोलीमै सार्वजनिक गरिने तयारी छ ।
स्वास्थ्य कार्यालयका प्रमुख जयराज भट्टका अनुसार शैल्यशिखर नगरपालिकामा १४ जना संक्रमित पुगेका छन् । महाकाली नगरपालिका र लेकम गाउँपालिकामा २÷२ जना तथा दुहुँ गाउँपालिकामा एकजनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये १२ जना निको भई घर फर्किसकेका छन् ।
पछिल्लो पटक संक्रमित पुष्टि भएका शैल्यशिखर नगरपालिकाका ६ जना भने क्वारेन्टाइनमा छन् । दुहुँ गाउँपालिकाका १ जना संक्रमित जिल्ला अस्पतालमा छन् । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख भट्टले बताउनुभयो ।
पिसिआर परीक्षणबाट संक्रमण पुष्टि भएका पछिल्ला सातजनामा आरडिटी पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयका तथ्यांक सहायक खगेन्द्र कार्कीले बताउनुभयो । मार्मा गाउँपालिकाका एकजनामा संक्रमण पुष्टि भएको छ । तर रुकुम जिल्लामा रहेकाले ती संक्रमितको गणना दार्चुलामा गरिएको छैन ।
काठमाण्डौंमा स्वाब परीक्षण हुँदै
पछिल्लो समय दार्चुलामा संकलन गरिएको स्वाबको पिसिआर परीक्षण काठमाण्डौंमा भइरहेको छ । धनगढीस्थित प्रयोगशालामा चाप बढेपछि दार्चुलाका सबै स्वाबहरु काठमाण्डौ पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
असार २ गते जिल्लाभरीबाट २ सय २८ स्वाब संकलन गरिएको थियो । काठमाण्डौंको टेकुस्थित राष्ट्रिय प्रयोगशालामा स्वाब परीक्षण भइरहेको स्वास्थ्य कार्यालय दार्चुलाका फोकलपर्सन वीरेन्द्रराज भट्टले बताउनुभयो ।
६४ जनाको नतिजा आउन बाँकी
असार २ गते संकलन गरिएका २ सय २८ स्वाबहरुमध्ये ६४ जनाको नतिजा आउन बाँकी छ । स्वास्थ्य कार्यालयका अनुसार असार २ गते १२ जना महिला र २ सय १६ जना पुरुषको स्वाब संकलन गरिएको थियो । महाकालीका ३२, नौगाडका २०, मालिकार्जुनका ८४, लेकमका २८, शैल्यशिखरका ३८, व्यासका ७, अपीहिमालका ६ र मार्माका १३ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालयको विवरण छ ।
असार १० गते ८२ जनाको पिसिआर परीक्षण रिपोर्ट आएकोमा कसैमा पनि कोरोना संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले बताउनुभयो । असार १० गते रिपोर्ट आएकामध्ये मालिकार्जुनका ५७ र महाकालीका २५ जना थिए ।
असार ११ गते रिपोर्ट आएका ४८ जनामा पनि कोरोना संक्रमण देखिएको छैन । नौगाडका ४, व्यासका ७, अपीहिमालका ५, लेकमका २६ र शैल्यशिखरका ६ जनाको रिपोर्ट असार ११ गते आएको थियो ।
असार १२ गते दिउसो शैल्यशिखर नगरपालिकाका ३ जनाको रिपोर्ट आएको छ । तिनैजनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित तिनैजना हाल क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालयको भनाइ छ ।
असार १२ गते साँझ थप ३१ जनाको रिपोर्ट आएको छ । लेकमका २, मालिकार्जुनका १० र शैल्यशिखरका १९ जनाको रिपोर्ट प्राप्त भएकोमा कसैमा पनि कोरोना संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले बताउनुभयो ।
स्वास्थ्य कार्यालय दार्चुलाको संयोजनमा असार २ गते आरडिटी पोजेटिभ देखिएका ८२ जना र उनीहरुको सम्पर्कमा रहेका १ सय ४६ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।
शंकास्पद मृत्यु कोरोनाबाट नभएको पुष्टि
मार्मा गाउँपालिकाको वडा नम्बर ३ मा असार ३ गते शंकास्पद मृत्यु भएका २६ वर्षिय एक युवामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । भारतबाट घर फर्किएको केही दिनमै ती युवाको मृत्यु भएको थियो ।
सुरुमा क्वारेन्टाइन राखिएका ती व्यक्ति भागेर आफ्नो घर गएका थिए । आकस्मिक मृृत्यु भएपछि कोरोना संक्रमणको आशंका गरिएको थियो । स्वास्थ्य कार्यालय दार्चुलाले असार ४ गते स्वाब संकलन गरी पिसिआर परीक्षण गराएको थियो ।
असार ७ गते पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय दार्चुलाका फोकलपर्सन वीरेन्द्रराज भट्टले बताउनुभयो ।