दार्चुलाको प्रमुख जिल्ला अधिकारी रहिसकेका सहसचिव गौतम गृह मन्त्रालयबाट छानविनका लागि आउदै

0
603

दार्चुला, साउन १८ गते ।
दार्चुलाको ब्यास गाउँपालिका २ मालघाटमा एसएसबीले तुईन काटेको घटनामा छानविनका लागि गृह मन्त्रालयबाट सह सचिव जनार्दन गौतमको टोली दार्चुला आउन लागेको छ ।

गृह मन्त्रालयबाट छानविनका लागि दार्चुला आउन लागेका सह सचिव गौतम २०७४।०४।३२ देखि २०७५।०१।२० गते सम्म  दार्चुलाको प्रमुख जिल्ला अधिकारीको रुपमा थिए । टोली सोमबार काठमाडौंबाट हवाईजहाजमार्फत् कैलालीको धनगढी पुग्ने र मंगलबार धनगढीबाट हेलिकप्टर चढेर दार्चुला आउने बताइएको छ ।
छानविन समितिको सदस्यसमेत रहेका दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीका अनुसार काठमाडौंको टोली आज धनगढी पुग्ने र आज धनगढी बसेर भोलि दार्चुला आउनेछ ।
भारत तर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउने क्रममा तुइन तरिरहेका जयसिह धामी एसएसबीले तुईन काटीदिदा तुइनको तारसँगै महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । सो घटनाबारे सत्य तथ्य छानविन गरी १० दिन भित्र प्रतिवेदन पेश गर्न गृहमन्त्री बालकृष्ण खाँणले पाँच सदस्यीय समिति गठन गरेका थिए ।
सहसचिव गौतमको संयोजकत्वमा गठित छानविन समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट छन् ।