दार्चुलाको तिंकर नाका सुचारू गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

0
288
दार्चुला, चैत्र १८ गते ।
दार्चुलाको टिंकर नाका संञ्चालनमा ल्याउनको लागि ब्याँस गाउँपालिकाका जनप्रतिनिधिहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् । सदियौंदेखि चीनको ताक्लाकोट सम्म व्यापार व्यवसाय हुँदै आएकोमा टिंकर नाका बन्द हुँदा व्यापार व्यवसाय ठप्प भएको भन्दै शनिबार ब्याँस गाउँपालिकाका जनप्रतिनिधिहरुले प्रधानमन्त्रीलाई बालुवाटारमा भेटेर ज्ञापनपत्र बुझाएका हुन् । कोरोना महामारीदेखि बन्द भएको रसुवागढी, हिल्सा लगायतका नाका खोल्ने तयारी भएपनि टिंकर नाका सञ्चालनका बिषयमा अहिले सम्म ठोस पहल हुन नसकेको भन्दै नाका तत्काल खोल्न आग्रह गरिएको छ । ब्याँस गाँउपालिकाका स्थानीय बासिन्दा एवम् पूर्व सुदुरपश्चिम प्रदेश सभा सदस्य गेल्बुसिंह बोहरा, व्याँस गाँउपालिकाका अध्यक्ष मंगल सिंह धामी, मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामी, व्याँस गाँउपालिकाका उपाध्यक्ष विनोद सिंह कुँवर लगायत सहभागि प्रतिनिधिसण्डलले समग्र व्याँस गाँउपालिका र राष्ट्रिय सरोकारका विषयहरुमा नेपाल सरकारका प्रधानमन्त्री प्रचण्डलाई मागपत्र पेस गरेको जनाएको छ । चीनको ताक्लाकोटसम्म परम्परागत व्यापार र आवागमन हुँदैआएकोमा सन् २०२० देखि कोभिड महामारीका कारण नाका बन्द रहिआएको छ । टिंकर नाकाबाट लामो समयदेखि व्यापार व्यवसाय हुँदै आएको भएपनि कोरोना महामारीपछि यो नाका बन्द अवस्थामा रहेको उहाँले बताउनु भयो । नाका सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराएको उपाध्यक्ष विनोद सिंह कुँवरले बताउनु भयो । गाउँपालिका अध्यक्ष मंगलसिंह धामीको नेतृत्वमा बुझाएको ज्ञापन पत्रमा दार्चुला –टिंकर सडकखण्ड निर्माण कार्यलाई समेत प्राथमिकतामा राख्नुपर्ने जोड दिइएको छ । सो सडकखण्ड सञ्चालनका लागि पार्याप्त बजेट छुट्याउनका लागि आग्रह गरिएको छ । टिंकर नाकाबाट पवित्र कैलाश मानसरोवर यात्रा गराउन सस्तो र कम समयमा सञ्चालन गर्न सम्भव भएकोले तत्काल टिकर नाकामा अध्यागमन कार्यालय स्थापना गर्न समेत माग गरिएके छ ।
टिंकर नाकाबाट पवित्र कैलाश मानसरोवर यात्रा सञ्चालनका लागि चीन सरकारसंग सहमतिको पहल गर्न माग गरिएको छ । नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको महाकाली कोरिडोरअन्तर्गतको दार्चुला–टिंकर सडक खण्ड (७८ किलोमिटर लामो) निर्माणकार्य आ.व. २०७८÷७९ देखि नेपाली सेनामार्फत भइरहेको छ । मित्रराष्ट्रहरु भारत र चीनको सीमाक्षेत्र जोडिने यो सडक खण्डको निर्माणका लागि चालु आर्थिक वर्षमा सरकारबाट नेपाली सेनालाई रु ९ करोड ५० लाख मात्रै बजेट उपलब्ध गराइएकोमा यो वर्ष जम्मा २ किलोमिटर मात्रै सडकको नयाँ ट्रयाक निर्माण गर्ने लक्ष्य राखिएको छ। नेपाली सेनाले वार्षिक लक्ष्यअनुसारको भौतिक र वित्तिय प्रगति ६ महिनामै हासिल गरिसकेको छ र बजेट अभावका कारण गत पुष २६ गतेदेखि टिंकर सडक खण्डको निर्माण कार्य समेत बन्द अवस्थामा रहेको व्यासँ गाउँपालिकाले प्रधानमन्त्री प्रचण्डलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । टिंकर सडक निर्माणमा नेपाल सरकारको नीतिगत प्राथमिकता भए पनि पर्याप्त बजेट उपलब्ध नहुदा नेपाली सेनाले द्रुतगतिमा सडक निर्माण गर्नसक्ने अवस्था नभएको ज्ञापन पत्रमा भनिएको छ । त्रिदेशीय सीमाक्षेत्रमा निर्माण भइरहेको यस सडक खण्डमा तत्काल थप बजेट व्यवस्थापन गरी व्याँस गाउँपालिकाको वडा नम्बर १ टिंकर भञ्ज्याङसम्मको प्रस्तावित सडक निर्माण दुई वर्षभित्र निर्माण गरिसक्न सीमाक्षेत्रका स्थानीयहरुले सरकारको ध्यानाकर्षण गराएका छन । केही दिन पहिले नेपाल चाइना हिमालयन फ्रेन्डसिप सोसाइटीका उपाध्यक्ष तथा पूर्वमन्त्री गणेश सिंह ठगुन्नाको नेतृत्वमा व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी, निवर्तमान प्रदेशसभा सदस्य गेल्बुसिंह बोहरा, दार्चुलाका अन्य सरोकारवालाहरु सहितको प्रतिनिधिमण्डलले नेपालका लागि चीनका राजदूत चेन गीतसँग शिष्टाचार भेट गरेर टिंकर नाका सञ्चालनको माग गरेका थिए ।