दार्चुलाको चीन सीमाक्षेत्र सुरक्षित: प्रशासन

1507

दार्चुला, असार १६ गते ।
दार्चुलाको उत्तरी चीन सीमा सुरक्षित रहेको दार्चुलाको स्थानीय प्रशासनले जनाएको छ । केही दिनअघि दार्चुलासहित ७ जिल्लामा चीनले सीमा अतिक्रमण गरेको समाचार आएपछि गृह मन्त्रालयले यसबारे जानकारी मागेको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले चीनसंग जोडिएको सीमाक्षेत्रमा कुनै परिवर्तन नभएको जानकारी मन्त्रालयलाई गराएको छ । गृह मन्त्रालयले सीमाको अवस्थाबारे जानकारी मागेकोमा पछिल्लो स्थलगत अवस्थाबारे सोमबार मन्त्रालयमा लिखित जानकारी पठाइएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनुभयो ।
प्रहरीको प्रतिवेदन र स्थानीय जनताबाट प्राप्त जानकारीका आधारमा मन्त्रालयमा रिपोर्टिङ गरिएको उहाँको भनाई छ । सदरमुकाम खलंगाबाट २८ कोषको दूरीमा रहेको व्यासक्षेत्रमा चीनसंगको सिमाना सुरक्षित रहेको प्रजिअ पोखरेलले बताउनुभयो ।
तिंकर गाउँनजिकको छियालेक प्रहरी चौकीबाट ५÷६ घण्टाको पैदलदूरीमा नेपाल र चीनको सिमाना रहेको छ । तिंकर भञ्ज्याङमा नेपाल र चीनको सिमाना छुट्याउने १ नम्बर पिलर दुरुस्त रहेको प्रशासनको भनाई छ ।
तिंकर भञ्ज्याङभन्दा उत्तरतर्फ जिउजिउ भन्ने स्थानमा १८ घरसहित नेपाली भूभाग चीनबाट अतिक्रमण भएको समाचार केही सञ्चारमाध्यममा प्रकासित भएको थियो । स्थानीय प्रशासनले भने २०१८ सालमा नेपाल र चीनको सिमाना छुट्याउने गरी १ नम्बर पिलर बनाइएको र जिउजिउ भन्ने स्थान चीनको उपभोगमा रहेको जनाएको छ।
‘जिउजिउ खोला वारी नेपाल र पारी चीनको भूभाग रहेकोमा २०१८ को सीमा सन्धीले तिंकर भञ्ज्याङलाई सीमा कायम गरी १ नम्बर पिलर निर्माण गरिएको’ स्थानीयको भनाई छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि चीनबाट सिमा अतिक्रमण नभएको बताएका छन् ।
जिउजिउ खोलानजिक ढुंगाबाट निर्माण गरिएका ३ वटा धर्मशाला भवन रहे पनि कुनै वस्ती नरहेको स्थानीय प्रशासनको रिपोर्टिङ छ । ती धर्मशालाहरुमा ताक्लाकोट व्यापार र कैलाश मानसरोवर यात्रा गर्ने नेपालीले विश्राम गर्ने गरेका छन् । जिउजिउ भन्ने स्थानमा मानववस्ती नरहेको र २०१८ सालमा नेपाल सरकारका कर्मचारीको टोलीले १ नम्बर पिलर निर्माण गरेको जानकारी प्राप्त भएकोबारे स्थानीय प्रशासनले गृह मन्त्रालयलाई जानकारी गराएको छ ।
गृह मन्त्रालयबाट सीमाक्षेत्रको अवस्थाबारे सोधपुछ भएपछि प्रहरी र स्थानीय तहमार्फत अवस्थाबारे जानकारी संकलन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुवरले बताउनुभयो । चीनको सिमाना छुट्याउने १ नम्बर पिलरसम्म दुई हप्ताअघि मात्रै सशस्त्र प्रहरीको गस्ती टोली पनि पुगेको उहाँको भनाई छ । सशस्त्र प्रहरीको गस्ती टोलीले १ नम्बर पिलरक्षेत्रमा पुगेर खिचेका तस्वीरहरु समेत सार्वजनिक भइसकेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !