दार्चुलाका स्थानीय तहमा ७५ लाखसम्म विशेष अनुदान

0
2209

दार्चुला, माघ १८ गते ।
सुदूरपश्चिम प्रदेश सरकारले दार्चुला स्थानीय तहहरुलाई ७५ लाख रुपैयाँसम्म विशेष अनुदान उपलब्ध गराउने भएको छ । चालु आर्थिक वर्षमा स्थानीय तहबाट पेश गरिएका प्रस्तावबमोजिम योजना तथा कार्यक्रम छनोट भइसकेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
मानव विकास सुचकांकमा पछाडि परेकोमा र हिमाली जिल्ला भएकोले दार्चुला, बाजुरा, बझाङ जिल्लालाई विशेष अनुदान बाडफाँडमा प्राथमिकता दिइएको प्रवक्ता नवराज अर्यालले बताउनुभयो । ‘दार्चुलाका स्थानीय तहहरुलाई बढीमा ७५ लाखसम्मको विशेष अनुदान छुट्याइएको छ’ उहाँले भन्नुभयो ।
७५ लाखभन्दा कम बजेट माग गर्ने स्थानीय तहहरुलाई मागबमोजिमको अनुदान दिइएको प्रवक्ता अर्यालले बताउनुभयो । ७५ लाखभन्दा बढी बजेट माग गर्ने स्थानीय तहहरुलाई भने कार्यविधिको व्यवस्थाअनुसार योजना र कार्यक्रम प्राथमिकीकरण गरी बजेट छुट्याइएको उहाँको भनाई छ ।
कुन स्थानीय तहमा कति योजना र बजेट छुट्याइएको छ भन्ने प्रष्ट विवरण भने प्रवक्ता अर्यालले दिनुभएन । केही दिनभित्रै बजेट र योजनाको विवरण मन्त्रालयको वेभसाइटमा सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो । सम्बन्धित स्थानीय तहलाई समेत योजना र बजेट विनियोजन गरेकोबारे पत्राचार भइरहेको उहाँको भनाई छ ।
हिमाली जिल्लामा ७५ लाख, पहाडी जिल्लामा ६४ लाख र तराईका जिल्लामा ५४ लाखका दरले स्थानीय तहहरुलाई विशेष अनुदान दिइएको मन्त्रालयका प्रवक्ता नवराज अर्यालले बताउनुभयो । चालु वर्षमा प्रदेश सरकारले स्थानीय तहहरुलाई ५० करोड विशेष अनुदान उपलब्ध गराएको छ ।