दार्चुलाका सबै कोरोना संक्रमित घर फर्किए

0
1224

दार्चुला, असार २३ गते ।
दार्चुला जिल्लाका सबै कोरोना संक्रमित घर फर्किएका छन् । संस्थागत आइसोलेशन र क्वारेन्टाइनमा रहेका सबै संक्रमित निको भइसकेपछि घर फर्किएका स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
दार्चुलामा हालसम्म २० जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये सबैभन्दा बढी शैल्यशिखरका १५ जना थिए । महाकाली नगरपालिकामा २ जना, लेकम गाउँपालिकामा २ जना र दुहुँ गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएकोमा सबै निको भई घर फर्किएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले बताउनुभयो ।
पिसिआर र आरडिटी दुबै परीक्षणमा १० जनाको संक्रमण पुष्टि भएको थियो । सरकारको निर्धारण गरेको मापदण्डअनुसार समय र प्रक्रिया पूरा गरी सबै संक्रमितलाई घर पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । १४ दिनको आइसोलेशन वा क्वारेन्टाइन बसाइपछि संक्रमण र लक्षण नदेखिएका सबैलाई घर पठाउन सकिने प्रावधान रहेको स्वास्थ्य कार्यालय प्रमुख भट्टले बताउनुभयो ।
असार २२ गतेसम्म दार्चुलामा ४ हजार ३ सय ७९ जनाको आरडिटी परीक्षण गरिएको स्वास्थ्य कार्यालयका फोकलपर्सन वीरेन्द्रप्रसाद भट्टले बताउनुभयो । तीमध्ये १ सय ३५ जनामा आरडिटी पोजेटिभ देखिएको थियो ।
दार्चुलाभरीका १ हजार १ सय ८१ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएकोमा हालसम्म ९ सय ८४ जनाको रिपोर्ट प्राप्त भएको छ । यीमध्ये २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वाब संकलन गरिएकामध्ये १ सय ९७ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
असार २ गते स्वाब संकलन भएकामध्ये ३७ जना र असार १७ गते स्वाब संकलन गरिएका १ सय ६० जनाको रिपोर्ट आउन बाँकी रहेको फोकलपर्सन भट्टले जानकारी दिनुभयो । स्थानीय तहका स्वास्थ्य शाखाहरुको संयोजनमा ७ वटा स्थानीय तहका क्वारेन्टाइनमा बसेका व्यक्तिको असार १७ गते स्वाब संकलन गरिएको छ ।
लेकममा २८, दुहुँमा ३०, महाकालीमा २० र नौगाडमा २८ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका तथ्यांक सहायक खगेन्द्र कार्कीले बताउनुभयो । यसैगरी, मालिकार्जुनमा २२, मार्मामा ६ र शैल्यशिखरमा २६ जनाको स्वाब संकलन गरिएको छ ।
क्वारेन्टाइनमा २ सय ६९ जना
स्थानीय तहले व्यवस्थापन गरेका संस्थागत क्वारेन्टाइनमा बस्नेको संख्या घटिरहेको छ । असार २२ गते क्वारेन्टाइनमा बस्नेहरुको संख्या २ सय ६९ पुगेको स्वास्थ्य कार्यालय दार्चुलाको तथ्यांक छ ।
जेठ महिनाको मध्यमा क्वारेन्टाइनमा बस्नेको संख्या १ हजार ६ सय हाराहारीमा पुगेको थियो । जेठको अन्तिम सातादेखि क्वारेन्टाइनमा बस्नेको संख्या घट्दैआएको छ । जिल्लाबाहिर र विदेशबाट आउनेको संख्या घटेपछि क्वारेन्टाइनमा बस्नेको संख्या घटेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले बताउनुभयो । ‘क्वारेन्टाइनमा बस्दैआएका व्यक्तिको पनि समय पूरा भएपछि घर पठाइएकाले संख्या घटेको हो’ उहाँले भन्नुभयो ।
स्वास्थ्य कार्यालय दार्चुलाको तथ्यांकअनुसार महाकाली नगरपालिकामा २८ जना, शैल्यशिखर नगरपालिकामा ६३ जना र नौगाड गाउँपालिकामा ६२ जना क्वारेन्टाइनमा बसिरहेका छन् । मार्मा गाउँपालिकामा १६ जना, मालिकार्जुन गाउँपालिकामा २७ जना, दुहुँ गाउँपालिकामा ६२ जना, लेकम गाउँपालिकामा ८ जना र व्यास गाउँपालिकामा ३ जना क्वारेन्टाइनमा छन् । अपीहिमाल गाउँपालिकामा भने क्वारेन्टाइनमा बस्नेको संख्या शुन्य छ ।
दार्चुलाका नौवटै स्थानीय तहहरुले ८६ स्थानमा क्वारेन्टाइन सञ्चालन गरेका छन् । सबै क्वारेन्टाइनमा गरी २ हजार ५ सय ७१ वेडसंख्या छ । असार २२ गतेको तथ्यांकअनुसार क्वारेन्टाइनमा बसेकामध्ये २६ महिला छन् ।
आइसोलेशनमा ३१ जना
स्थानीय तहले निर्माण गरेका आइसोलेशनमा अहिले ३१ जना रहेका छन् । आरडिटी परीक्षणमा पोजेटिभ देखिएका र संक्रमणको जोखिम भएका व्यक्तिहरुलाई आइसोलेशनमा राखिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
‘संक्रमण भएमा अन्य व्यक्तिलाई सर्न नसकोस् भनेर छुट्टै कोठामा (आइसोलेशनमा) राखिएको हो’ स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले भन्नुभयो । आइसोलेशनमा बसेका सबैको पिसिआर परीक्षण गरिने उहाँले बताउनुभयो । अधिकांशको स्वाब संकलन गरी परीक्षणका लागि पठाइसकेको उहाँले जानकारी दिनुभयो ।
आइसोलेशनमा बसेकामध्ये महाकाली नगरपालिकामा ६ जना, शैल्यशिखर नगरपालिकामा ८ जना, नौगाड गाउँपालिकामा ६ जना र मार्मा गाउँपालिकामा ४ जना छन् । मालिकार्जुन गाउँपालिकामा २ जना, लेकम गाउँपालिकामा १ जना र दुहुँ गाउँपालिकामा ४ जना आइसोलेशनमा छन् । व्यास र अपीहिमाल गाउँपालिकामा भने आइसोलेशनमा बस्नेको संख्या शुन्य छ ।