दार्चुलाका यी उम्मेदवार जो सँग हारे, उनैलाई हराए 

0
709

बिरा दत्त भट्ट,

दार्चुला, जेठ १० गते ।

नेपालीमा एउटा उखान छ ‘बाह्र वर्षमा खोला पनि फर्कन्छ’ । दार्चुलाको राजनीतिमा बाह्र वर्षमा खोला नफर्किएर पाँच वर्षमा जित फर्किएको छ । जिल्लाको पाँच वटा स्थानीय तहमा विभिन्न राजनीतिक दलका प्रमुख तथा अध्यक्ष पदका उम्मेदवारहरुले २०७४ सालको स्थानीय तह निर्वाचनमा जो सँग हारेका छन् उनैलाई यस पटकको निर्वाचनमा हराएर जित हासिल गरेका छन् । गत स्थानीय तह निर्वाचनमा नेकपा एमाले, नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्र अलग अलग निर्वाचनमा होमिएका थिए भने यस पटक काङ्ग्रेस र माओवादी गठबन्धन गरि तथा एमाले एक्लै निर्वाचनमा होमिएको छ । 

२०७४ सालको स्थानीय तह निर्वाचनमा दुँहु गाउँपालिकामा नेपाली काङ्ग्रेसका उम्मेदवार पुलेन्द्र बहादुर कार्कीले नेकपा एमालेका उम्मेदवार नरेन्द्र बहादुर सिह बडाललाई पराजित गएका थिए । पाँच बर्ष पछि हालै सम्पन्न भएको स्थानीय तह निर्वाचनमा उनै काङ्ग्रेसका उम्मेदवार पुलेन्द्र बहादुर कार्कीलाई नेकपा एमालेका उम्मेदवार नरेन्द्र बहादुर सिह बडालले पराजित गरेका छन् । गत स्थानीय तह निर्वाचनमा कार्कीले बडाललाई ३ सय ९२ मतान्तरले पराजित गरेका थिए भने यस पटकको स्थानीय तह निर्वाचनमा उनै एमाले उम्मेदवार बडालले काङ्ग्रेसका उम्मेदवार कार्कीलाई ९० मतान्तरले पराजित गरेका छन् । गत स्थानीय तह निर्वाचनमा दुँहु गाउँपालिकामा मतदाता संख्या ६ हजार ४ सय ६९ रहेको थियो भने यस पटकको स्थानीय तह निर्वाचनमा  दुहुँ गाउँपालिकाको मतदाता संख्या ८ हजार २ सय ७६ रहेको निर्वाचन कार्यालय दार्चुलाको तथ्याङ्क छ । 

त्यसैगरी महाकाली नगरपालिकामा पनि गत स्थानीय तह निर्वाचनमा पराजित भएका नेकपा एमालेका उम्मेदवार नर सिह चैसिरले काङ्ग्रेसका उम्मेदवार हंशराज भट्टलाई पराजित गरेका छन् । उक्त निर्वाचनमा हंशराज भट्टले नरसिह चैसिरलाइ ५ सय ६७ मतले पराजित गरेका थिए । यसपटक नरसिह चैसिरले १ हजार १ सय १६ मतको फराकिलो मतान्तरले पराजित गरेका छन् । गत स्थानीय तह निर्वाचनमा महाकाली नगरपालिकाको मतदाता संख्या १० हजार ८ सय ९१ रहेको थियो भने यस पटकको निर्वाचनमा १३ हजार २ सय ८४ मतदाता रहेको निर्वाचन कार्यालय दार्चुलाको तथ्याङ्क छ । 

त्यसैगरी लेकम गाउँपालिकामा गत स्थानीय तह निर्वाचनमा एमालेका उम्मेदवार प्रमानन्द जोशीले नेकपा माओवादीका उम्मेदवार रामदत्त जोशीलाई १ हजार १ सय ७८ मतान्तरले पराजित गरेका थिए । तर यस पटकको स्थानीय तह निर्वाचनमा उनै रामदत्त जोशीले एमालेका उम्मेदवार प्रमानन्द जोशीलाई ५ सय ३१ मतान्तरले पराजित गरेका छन् । गत स्थानीय तह निर्वाचनमा लेकम गाउँपालिकामा ८ हजार ५ सय ३७ मतदाता रहेका थिए भने यस पटकको निर्वाचनमा ९ हजार ७ सय ७० मतदाता रहेको निर्वाचन कार्यालय दार्चुलाको तथ्याङ्क छ ।  

त्यसैगरि नौगाड गाउँपालिकामा गत स्थानीय तह निर्वाचनमा एमालेका उम्मेदवार प्रेमसिह धामीले माओवादीका उम्मेदवार दलजित सिह धामीलाई ७ सय ५६ मतान्तरले पराजित गरेका थिए भने ५ सय ६ मतान्तरले पराजित गरेका छन् । नौगाड गाउँपालिकामा गत स्थानीय तह निर्वाचनमा ७ हजार ५ सय ९ मतदाता रहेका थिए भने यस पटकको निर्वाचनमा ९ हजार ५ सय ९६ मतदाता रहेका छन् । 

त्यसैगरी अपीहिमाल गाउँपालिकामा गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेदवार धर्मान्नद सिह मन्यालले नेकपा माओवादी केन्द्रका उम्मेदवार भक्त सिह ठेकरे बोहरालाई २ सय ६१ मतान्तरले पराजित गरेका थिए भने यस पटकको स्थानीय तह निर्वाचनमा उनै बोहराले एमालेका उम्मेदवार मन्याललाई ९ सय २७ मतान्तरले पराजित गरेका छन् । गत स्थानीय तह निर्वाचनमा अपीहिमाल गाउँपालिकामा ३ हजार ७ सय ६५ मतदाता रहेका थिए भने यस पटकको स्थानीय तह निर्वाचनमा  ४ हजार ६ सय ५१ मतदाता रहेका छन् ।