दार्चुलाका ठगुन्नासहित चार उत्कृष्ट करदाता सम्मानित

0
3202

दार्चुला, मंसिर ८ गते ।
आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरले दार्चुलाका व्यवसायी हरकसिह ठगुन्नासहित चारजनालाई उत्कृष्ट करदाताको रुपमा सम्मानित गरेको छ । सातौं राष्ट्रिय कर दिवसको अवसरमा शुक्रवार दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरका एक÷एकजना उत्कृष्ट करदातालाई सम्मानित गरिएको हो ।
जिल्लाभरीमा सर्वाधिक कर तिर्ने करदातालाई सम्मानित गरिएको आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरका प्रमुख कर अधिकृत लेखनाथ शर्माले बताउनुभयो । दार्चुलाको खलंगास्थित ठगुन्ना जनरल स्टोरका प्रोपाइटर हरकसिह ठगुन्ना (खरियाल), ग्वाल्लेक निर्माण सेवा प्रालि बैतडीका सुरेन्द्र चन्द, कल्पना मार्केटिङ डडेल्धुराका जयन्ती जोशी पाण्डेय र केदार जनरल स्टोर कञ्चनपुरका लवदेव पाण्डे सम्मानित भएका हुन् ।
चारैजनालाई सम्मानपत्र प्रदान गरिएको छ । प्रमुख कर अधिकृत लेखनाथ शर्मा, कञ्चनपुर भन्सारका प्रमुख भन्सार अधिकृत भीमप्रसाद अधिकारी र कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जंगवहादुर मल्लले खादा र प्रसंसापत्र प्रदान गरेका छन् ।
आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरका अनुसार कञ्चनपुरका पाण्डेले १५ लाख १ हजार ७ सय १५ रुपैयाँ कर तिरेका छन् । बैतडीका चन्दले सर्वाधिक २२ लाख ६० हजार ८ सय ३५ रुपैयाँ नेपाल सरकारलाई कर बुझाएका छन् । दार्चुलाका ठगुन्नाले १० लाख ६८ हजार ५ सय २० रुपैयाँ कर तिरेका छन् । डडेल्धुराका पाण्डेयले ४ लाख ९८ हजार ३ सय ४७ रुपैयाँ कर बुझाएका छन् ।