दर्जन सडक निर्माणमा संघको सम्पूरक अनुदान

0
2078

दार्चुला, पुष ६ गते ।
स्थानीय तहहरुबाट निर्माण गरिने एक दर्जन सडकहरुमा संघीय सरकारले सम्पूरक अनुदान उपलब्ध गराएको छ । बुधवार सार्वजनिक विवरणअनुसार शैल्यशिखर र महाकाली नगरपालिका तथा मालिकार्जुन, नौगाड, मार्मा र लेकम गाउँपालिकाका सडक योजनाहरुमा सम्पूरक अनुदान दिइएको छ ।
राष्ट्रिय योजना आयोगले चालु आर्थिक वर्षमा दार्चुला जिल्लाभरीका स्थानीय तहहरुमा ९ करोड ३ लाख रुपैयाँ सम्पूरक अनुदान विनियोजन गरेको प्रतिनिधिसभा सदस्य गणेशसिह ठगुन्नाका स्वकीय सचिव दौलतसिह ठगुन्नाले बताउनुभयो ।
शैल्यशिखर नगरपालिकाका ३ वटा सडकमा अनुदान प्राप्त भएको छ । देथला–रानीशिखर सडकमा ८० लाख, देथला–थोकथला–बारिल सडकमा १३ लाख र कोटाखोल–अम्तोली–पपडथाला–देवथली सडकमा ४० लाख रुपैयाँ बजेट प्राप्त भएको छ । सम्पूरक अनुदान सम्बन्धि कार्यविधिअनुसार केन्द्र सरकारबाट प्राप्त अनुदान बराबर रकम स्थानीय तहले पनि सडक योजनामा खर्च गर्नुपर्ने हुन्छ ।
मार्मा गाउँपालिकाको लटिनाथ–सार्सी–बजानी–दूनी हुँदै बैतडी जोड्ने सडकमा १ करोड ९७ लाख रुपैयाँ नेपाल सरकारको सम्पूरक अनुदान छ । नौगाड गाउँपालिकाको सुकाखोला–पनढुंगा सडकमा ३३ लाख र धामीडेरा–सुण्डमुण्ड सडकमा १४ लाख अनुदान दिइएको छ । लेकम गाउँपालिकाको गोकुलेश्वर–सडक निर्माणमा ३९ लाख र मालिकार्जुन गाउँपालिकाको शंकरपुर–गोठ्युडी–चन्दनपुर–डाडाकोट सडकमा १५ लाख सम्पूरक अनुदान छ ।
महाकाली नगरपालिकाअन्तर्गत सडक निर्माण योजनामा ७७ लाख रुपैयाँ सम्पूरक अनुदान दिइएको छ । चालु वर्षमा सडक निर्माणका लागि नगरपालिकाले ३ करोड बजेट माग गरेको नगर प्रमुख हंसराज भट्टले बताउनुभयो । ‘तर धेरै कम बजेट पाइएको छ, यो बजेट कुन कुन सडकमा खर्च गर्ने भन्ने अन्यौलता छ’ उहाँले भन्नुभयो ।